नेपालमै आएर नेपालीमाथि एसएसबीको अत्याचार
काठमाडौं, १७ साउन । भारतीय सुरक्षा बल एसएसबीले सूर्योदय नगरपालिका–२ मानेभञ्जयाङका वाङदेन भोटेले बनाउँदै गरेको घर केही दिनअघि बनाउन रोक्यो । एसएसबीले सूर्योदय नगरपालिकाको पशुपतिनगरबाट चारमाइल हुँदै भारतीय बजार जाने बाटोमा समेत साउन ५ गते नेपालीलाई हिँड्न रोक लगायो ।
एसएसबीले इलामको पर्यटकीय सन्दकपुरमा निर्माणधीन भ्यूटावरसहितको काम दशगजामा भएको भन्दै निर्माण गर्न दिएन । नेपाल–भारत सीमा नजिक आफ्नै देशभित्र समेत नेपालीका गतिविधिमा एसएसबीले रोकेको यी प्रतिनिधि घटनामात्र हुन् ।एसएसबीले पछिल्लो समयमा दशगजा आसपास सक्रियाता तीव्र पार्दै नेपालीलाई नेपालभित्र आएर दुःख दिन थालेको छ । एसएसबीको आदेशमा नेपालतर्फ बन्दै गरेको घरको निर्माण रोकेका भोटेले भने,‘ एसएसबीले काम रोक्नु भन्यो अहिले घर बनाएको छैन ।’ यो समाचार अन्नपूर्ण दैनिकमा तोयनाथ भट्टराईले लेखेका छन् ।