११ बुँदे घोषणपत्र जारी गर्दै उद्यमशीलता सम्मेलन सम्पन्न

साउन २९, काठमाडौं । देशको अर्थतन्त्र बलियो बनाउन सरकारले युवा उद्यमशीलतामा लगानी बढाउनुपर्ने निकर्षसहित दुई दिने नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९ सम्पन्न भएको छ ।
४३ जिल्लाका ५०० युवा प्रतिनिधिहरुले उठाएका मागहरुलाई समेटेर ११ बुँदे घोषण पत्र जारी गरिएको हो ।
null
उद्यम गर्न चाहने युवालाई सरकारले पहिचान गरी निशर्त लगानी गर्नुपर्ने, आइडिया बैंक स्थापना गर्नुपर्ने, बिनोधितो लोन र ब्याज अनुदानको झन्झटीलो प्रक्रिया अन्त्य गर्नुपर्ने, सरकारले युवा उद्यमशीलताको विकासका लागि सञ्चालन गरेका कार्यक्रमहरु एकद्धार प्रणालीबाट हुनुपर्ने र सेवा, सुविधा र अनुदानको कार्यक्रम पारदर्शी हुनुपर्नेमा सम्मेलनले निष्कर्ष निकालेको छ ।
प्रदेश ३ सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय र विशाल मिडिया ग्रुपको आयोजना तथा आईएमई फाउण्डेसनको सह आयोजना रहेको सम्मेलनबाट प्राप्त उपलब्धिबारे समापन सत्रमा बोल्दै सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले उद्यम गर्न चाहने युवाहरुको बिजनेश प्लानमाथी सरकार र नीजि क्षेत्र लगानी गर्न तयार हुनुले युवाहरुमा उत्साह थपेको र आगामी दिनमा नयाँ स्टाटप कम्पनी खोल्न यसले सहयोग पुर्याउने बताए ।
समापन सत्रमा संघीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल बलदेवले विगतका कमिकमजोरी र गलत प्रवृतिका कारण युवाहरुले विदेश पलायन हुनुपरेको चर्चा गर्दै दुई तिहाई प्राप्त तत्कालीन सरकारले व्यवस्थित योजनाका साथ युवाहरुको सोचमाथी लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समापन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आईएमई गु्रपका अध्यक्ष चन्द्र ढकालले नयाँ युवाहरुको सोचमाथि लगानी बढाउने र सरकारले उद्यम गर्न चाहने युवालाई सहजीकरण गर्नुपर्नेमा जोड दिए । उनले उद्यमी बन्न त्यति सहज नभएको उल्लेख गर्दै ठुला भन्दा ठुला चुनौतीको सामना गर्न सक्ने युवा मात्र सफल उधमी बन्ने बताए ।
सम्मेलनमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, अर्थमन्त्री डा. युवराज खतिवडा, सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेँल, पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, शंकरप्रसाद कोइराला, प्रदेश ३ उधोगमन्त्री अरुण नेपाल, पुर्व उद्योगमन्त्री महेश बस्नेत, उद्योग सचिव यमकुमारी खतिवडा, बरिष्ठ उद्यमी हरीभक्त सर्मा, चन्द्र ढकाल, युवा उद्यमी हेमराज ढकाल, लक्ष्मण के.सी, दिलिप अग्रवाल, बैंकर अनिलकेशरी शाह, अनुपमा खुन्जेली, प्रविन बस्नेतलगायत ४० भन्दा बढी स्पीकरले आफनो प्रस्तुती दिएका थिए ।
सम्मेलनमा उद्यम गर्न चाहने युवाहरुलाई लक्षित गरी विशाल फाउन्डेशनले प्रकाशन गरेको युवा उद्यमशीलता पुस्तकको विमोचन समेत गरेको थियो ।








