राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार माथि हातपात, उपकुलपतिको राजीनामा माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

भाद्र १२, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार माथि दुर्ब्यहार भएको छ । पछिल्लो समय पदाधिकारी विचको आन्तरिक द्वन्द्वमा प्रतिष्ठानको सेवाहरु नै बन्द हुने अवस्थामा रहेको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि कार्यकक्षमै दुर्ब्यहार भएको हो ।   

रजिष्ट्रार प्याकुरेललाई प्रतिष्ठान बचाउ अभियानका प्रतिनिधिहरुले दुर्व्यवहार गरेको बताइएको छ । उनीहरुले प्याकुरेललाई कार्यकक्षमै दुर्व्यवहार गरेको जिकिर गरीएको छ । सार्वजनिक भिडियोमा प्याकुरेललाई कार्यकक्षबाट गलहत्याएर निकालिएको छ । प्रतिष्ठानले पदाधिकारीलाई दुर्व्यवहार गरेको भन्दै जिल्ला स्थित सीडीओ कार्यालय र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दिएको छ । 

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले रजिष्ट्रार माथि  दुर्व्यवहार भएको उजुरी आएको बताउँदै जानकारी लिने बताए । प्रतिष्ठानले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानका संयोजक विकीरण गौतम, नेकपा दाङका कार्यकर्ता विवेक श्रेष्ठ, र नेपाल पत्रकार महासंघ दाङका सभापति सविन प्रियासनविरुद्ध किटानी जाहेरी दिएको छ । 

उनीहरुलाई रजिष्ट्रार माथि कार्यकक्षमै हातपात गरी दुर्ब्यहार गरेको आरोप छ । प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीले पनि आफु तुलसीपुर आएका बेला केही व्यक्तिहरु आएर कार्यालयमा तोडफोड गर्दै रजिष्ट्रारलाई दुर्व्यवहार गरेको बताइन् । उनले सिसिटिभी फुटेज हेर्दा पनीे रजिष्ट्रार प्याकुरेललाई विवेक श्रेष्ठले घोक्राएर भुइँमा लडाएको देखिएको बताउँदै कार्यकक्षमा तोडफोड गरेर वितण्डा मच्चाइएको जनाइन् । घटनामा प्याकुरेलको हातमा सामान्य चोट लागेको छ । उनी  सामान्य उपचारपछि आराम गरिरहेका छन् । 

उपकुलपति भण्डारीको हुकुमी शासनले प्रतिष्ठान धरासायी भएको, भ्रष्टाचार बढेको, काम गर्ने वातावरण नभएको भन्दै प्रतिष्ठानका अधिकांश डाक्टरले राजीनामा दिएका छन् । सोहि विरुद्ध स्थानीयबासीले प्रतिष्ठान बचाउ अभियानमार्फत् उपकुलपति हटाउ अभियान नै सुरु गरेका छन् । उनीहरुले बुधबार प्रतिष्ठानमा तालाबन्दीसमेत गरेका छन् ।   

प्रतिष्ठान बचाउ अभियानका सदस्य सचिब सविन प्रियासनले प्रतिष्ठान सुधार्न पदाधिकारीलाई बारम्बार ध्यानाकर्षण गराइएपनि सुधारका कुनै काम नभएको तथा प्रतिष्ठानबाट प्राप्त स्वास्थ्य सेवा समेत प्रभावित भएपछि पदाधिकारीका विरुद्ध संघर्ष सुरु गरीएको बताउँदै त्यहि संघर्षका कार्यक्रम अन्र्तगत तालाबन्दी गर्न जाँदा रजिष्ट्रारलाई बाहिर निस्कन आग्रह गर्दा ठेलमठेल भएको बताए ।   

हेर्नुहाेस भिडियाे 

https://m.facebook.com/story.php?story_fbid=1715809031887453&id=867585466709818 

उनले आफु उक्त दिन त्यहाँ नभएपनि संयोजक र अन्य सदस्यहरुको भनाई अनुसार रजिष्ट्रारलाई कार्यकक्ष बाहिर गएदिन बारम्बार आग्रह गरीएको थियो । तर, रजिष्ट्रार प्याकुरेलले अटेर गरी उल्टै तथानाम गाली गलौज गर्न थालेपछी उनलाई जवरजस्ती बाहिर निकालिएको हो । ‘म आफैं उपस्थित थिइन, अभियानका साथीहरुको भनाई अनुसार उहाँलाई कार्यकक्षबाट बाहिर गएर सहयोग गर्न आग्रह गर्दा उहाँले अटेर गर्नुभएछ । त्यहि क्रममा भनाभन हुँदा ठेलमठेल मात्र भएको रहेछ ।’ सविन प्रियासनले मकालु खबरसँग भने ।   

दुई वर्ष अघि राप्ती उपक्षेत्रिय अस्पताललाई समेटेर स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरीएको थियो । प्रतिष्ठानको उपकुलपति भएकी डा. संगीता भण्डारीले प्रतिष्ठानको निर्माण र शिक्षा, स्वास्थ्य सेवा थप्नुको सट्टा मेडिकल माफिया ब्यापारीहरुसँगको मिलेमतोमा कमाउ धन्धा चलाईरहेको आरोप छ । उपकुलपतिको कार्यशैलीकै कारण यसअघि शिक्षाध्यक्ष डा. रतिन्द्र श्रेष्ठ, डीन समेत राजीनामा दिएर हिँडेका थिए । त्यसपछि प्रतिष्ठानमा भए गरेका काम कारवाही छानविन गर्न दुईदुई वटा छानविन समिति गठन गरीएको थियो ।   

दुई वटै समितिले उपकुलपतिका कारण प्रतिष्ठान धरासायी हुँदै गएको भन्दै कारवाहीको सिफारिस गरेपनि डा.भण्डारी राजनीतिक र आर्थिक रुपमा माथिल्लो तहसम्म पहुँच राख्न सक्ने क्षमता भएकाले कारवाही हुन सकिरहेको छैन ।   

पत्रकारलाई गाली गलौज 

प्रतिष्ठानका पदाधिकारीले प्रतिष्ठानमा भइरहेका विक्रिति विसंगतीका विरुद्ध लेख्ने पत्रकारलाई समेत गालीगलौज गर्ने काम गरेका छन् । पत्रकार महासंघका दाङका अध्यक्ष सविन प्रियासनीका अनुसार पदाधिकारीका गलत कार्यशैलीका विरुद्ध निरन्तर कलम चलाएका स्थानीय पत्रकार नविन अभिलाषीलाई रजिष्ट्रार प्याकुरेलले गालीगलौज गर्दै दुब्र्यहार समेत गरेको बताए ।   

उनका अनुसार प्रतिष्ठानका विरुद्ध बोल्ने र कलम चलाउनेलाई पदाधिकारीले बाहिरका मान्छे समेत प्रयोग गर्ने गरेका छन् । रजिष्ट्रारसँग यस विषयमा सोधपुछ गर्दा माथिको आदेशले गरेको जस्ता गैरजिम्मेवारपूर्ण जवाफ दिने गरेका छन् । ‘हामीले पत्रकार माथि किन दुर्ब्यहार भन्दा माथिको आदेश (उपकुलपति) भन्ने गरेका छन् ।’ पत्रकार महासंघ अध्यक्ष प्रियासनले भने ।   

प्रतिष्ठानका पदाधिकारी खासगरी उपकुलपति संगिता भण्डारी, रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु नगरेको, दुई वर्षसम्म प्रतिष्ठानको स्रोतसाधन ब्यवस्थित गर्न नसकेको, भएका स्रोत साधन समेत दुरुपयोग गरेको आरोप छ । यसैगरी प्रतिष्ठानले कर्मचारी, चिकित्सकलाई दिँदै आएको सुविधा कटौती गर्दै उनीहरुलाई निरुत्साहित गरेको, सुत्केरी भत्ता कटौती गरेको, प्रतिष्ठानले खरिद गर्ने उपकरण १५ वर्ष पुराना मोडलका खरिद गरी लूट मच्चाएको आरोप छ ।   

अभियानले प्रतिष्ठानका उपकुलपतिले राजीनामा दिनुको विकल्प नभएको बताउँदै सौहार्दपूर्ण वातावरणमा राजीनामा दिएर निकास दिनुपर्ने बताएको छ । अभियानले पदाधिकारीको राजीनामाको माग गर्दै प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति समक्ष ज्ञापनपत्र समेत पठाएको छ ।   

आजैमात्र प्रतिष्ठान बनाउँ अभियानको अगुवाईमा दाङका करिब चार हजार विद्यार्थीहरुले विरोध प्रर्दशन गरेको अभियानका सदस्य सचिबले बताए । उनले भोली दाङका महिला दिदिबहिनीहरुले समेत प्रर्दशन गर्ने जनाए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *