दुबईबाट भागेकी राजकुमारी हया, जसको बिछोडमा यस्ता कविता लेखिरहेका छन् दुबईका शासक

 

असार २१, काठमाडौं ।   ‘अब मेरो साथ रहने तिमीलाई कुनै हक छैन, मलाई फरक पर्दैन तिमी जिउ या मर’                              ‘अब भन्नुपर्ने केही बाँकी छैन । तिम्रो यो घातक मौनताले मलाई चिन्तित गरिदियो’ 

उक्त पंक्तिहरु कुनै कविले लेखेका होइनन् । उक्त पंक्ति दुबईका शासक शेख मोहम्मद अल मकतूमले लेखेका हुन्, जसको पत्नी राजकुमारी हया विन्त अल हुसैन दुबई छोडेर लण्डन गएकी छिन् । 

null

संयुक्त अरब इमिरेट्सको शाही परिवारमा यस्तो हुनु आफैँमा एकदमै अजीब छ । भनिन्छ, राजकुमारी हाल सेन्ट्रल लण्डनको कुनै टाउनहाउसमा छिन् । राजकुमारी हया अक्सर घोडदौडमा हिस्सा लिने गर्थिन् । तर उनले यस साल भएको रोयल एस्कान्टमा उपस्थित भइनन् । 

केही स्रोतले बीबीसीलाई दिएको जानकारी अनुसार राजकुमारी हया आफ्नो ज्यानको खतरा महसुस गरिरहेकी थिइन् किनभने उनी आफ्ना श्रीमानविरुद्ध कानुनी लडाईं लड्ने तयारी गरिरहेकी थिइन् । 

राजकुमारी हयाको जन्म सन् १९७४ मे महिनामा भएको हो । उनका पिता जोर्डनका राजा हुसैन थिए र आमाको नाम आलिया अल–हुसैन थियो । 

जब राजकुमारी हया तीन वर्षकी थिइन् तब उनकी आमाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भयो । 

राजकुमारी हयाले आफ्नो बाल्यकाल ब्रिटेनमा बिताइन् । उनले दुई नीजि विद्यालयमा पढिन् जसमध्ये एक ब्रिस्टलको ब्याडमिन्टन स्कूल हो भने अर्को डोरसेटको ब्रायनस्टन स्कूल हो । 

त्यसपछि उनले अक्सफोर्ड युनिभर्सिटीबाट राजनीति, दर्शन र अर्थशास्त्रको पढाई गरिन् । 

आफ्ना केही पुरानो अन्तरवार्तामा उनले फेलकोनरी (बाजलाई पाल्ने), निशानाबाजी र ठूलो मेसिनको शौख भएको बताएकी थिइन् । यसबाहेक उनले आफू जोर्डनमा ठूलो ट्रक चलाउने लाइसेन्स पाउने एकमात्र महिला भएको दाबी पनि गरेकी थिइन् । 

राजकुमारी हयालाई घोडसवारीको पनि ठूलो शौख छ । जब उनी २० वर्षकी थिइन् तब उनले घोडसवारीलाई आफ्नो करियरको रुपमा छानेकी थिइन् । 

घोडसवारीमा राजकुमारी हयाले सन् २००० को ओलम्पिक खेलमा जोर्डनको प्रतिनिधित्व पनि गरेकी थिइन् । उनी उक्त ओलम्पिक खेलमा आफ्नो देशको ध्वाजावाहक पनि थिइन् । 

 

सन् २००४ को अप्रिल १० मा राजकुमारी हयाले दुबईका शासक र संयुक्त अबर इमिरेट्सका उपराष्ट्रपति एवं प्रधानमन्त्री शेख मोहम्मदसँग विवाह गरिन् । त्यतिबेला राजकुमारी ३० वर्षकी थिइन् भने शेख मोहम्मद ५३ वर्षका थिए । 

राजकुमारी हया उनकी छैटौं श्रीमती थिइन् । शेख मोहम्मदका विभिन्न श्रीमतीबाट जम्मा २३ सन्तान भएको बताइन्छ । 

राजकुमारीलाई झैं शेख मोहम्मदलाई पनि घोडाको निकै शौख थियो । उनी गो–डोल्फिन नामको घोडाको तबेलाका मालिक पनि थिए । यी दुईको विवाह अम्मानमा भएको थियो । 

विवाहपछि राजकुमारी हयाले थुप्रै पटक शेख मोहम्मदसँगको आफ्नो सम्बन्धबारे जानकारी दिँदै आफू अत्यधिक खुसी भएको बताएकी थिइन् । दुबैले आफ्नो रमाइलो जीवन दार्साउने पेन्टिङ पनि बनाए । 

इमिरेट्स वुमेन म्यागजिनको २०१६ को अंकमा राजकुमारी हयाले शेख मोहम्मदबारे भनेकी थिइन्, ‘उनले जे गर्छन् त्यो अद्भूत हुन्छ । म हरेक दिन भगवानलाई धन्यवाद दिन्छु किनभने म उनको यति नजिक छु ।’ 

यसै म्यागजिनमा राजकुमारी हया र शेख मोहम्मदलाई एक उत्कृष्ट जोडीको रुपमा पेश गर्दै आर्टिकल पनि प्रकाशित गरिएको थियो । 

 

गत वर्ष जब शेख मोहम्मदकी जेठी छोरी शेखा लतिफाले देशबाट भाग्ने कोसिस गरिन् तब राजकुमारी हया र शेख मोहम्मदबीचको सम्बन्धमा पनि फाटो आएको थियो । 

संसारभरी फैलिएको एउटा भिडियोमा ३३ वर्षकी राजकुमारी शेखा लतिफाले उनको परिवारमा कसैलाई पनि स्वतन्त्रतापूर्वक आफूलाई मनपर्ने कुरा गर्ने अधिकार नभएको दाबी गरेकी थिइन् । 

मिडिया रिपोर्टमा शेखा लतिफा समुद्रको बाटो हुँदौ संयुक्त अरब इमिरेट्सबाट भाग्न सफल भएको बताइयो । यसमा उनलाई फ्रान्सका एक व्यक्तिले सहयोग गरेको बताइयो । तर भारतको समुद्री सीमा नजिकैको सेनाले उनलाई रोके र पुनः दुबई पठाए । 

डिसेम्बरमा उनका केही तस्बिर जारी भए जसमा उनी इमिरेट्समा आयरल्याण्डका पूर्व राष्ट्रपति मेरी रोबिनसनसँग बसिरहेको देखिएकी थिइन् । 

त्यतिबेला दुबईको प्रशासनले घर छोडेर भागेकी शेखा लतिफ अन्य देशमा उत्पीडनको शिकार हुनसक्ने बताउँदै अब उनी दुबईमा सुरक्षित भएको बताएको थियो । 

यो घटनापछि राजकुमारी हयालाई यसबारे विभिन्न जानकारी प्राप्त भएको र उनका श्रीमानले उनीमाथि दबाब दिन सुरु गरेको बताइन्छ । 

राजकुमारी हयाका नजिकका स्रोतले बीबीसीलाई दिएको जानकारी अनुसार उक्त पूरा घटनाक्रमपछि शेख लतिफामाथि पनि दबाब पर्न थालेको थियो । राजकुमारी हया ब्रिटेन पुग्नुअघि जर्मनी पनि गएकी थिइन् । 

शेख मोहम्मदले अहिलेसम्म राजकुमारी हयाले दुबई छोडेको कुनै आधिकारिक बयान दिएका छैनन् । उनले १० जूनमा इन्स्टाग्राममा एउटा पोष्ट राखेका थिए जसमा उनले धोका सम्बन्धि कविता लेखेका थिए । 

यतिमात्रे होइन शेख मोहम्मदको आफ्नो नामकोएउटा वेबसाइटनै छ जसमा उनी धेरैजसो कविता लेखिरहन्छन् । 

टाइम्स अफ लण्डनको एक रिपोर्टअनुसार राजकुमारी हयासँग उनका ११ र सात वर्षका दुई सन्तान पनि भागेका छन् । यी बच्चाहरुको नाम शेख जायद र शेखा अल जलिला बताइएको छ । 

यो रिपोर्ट अनुसार राजकुमारी हया आफ्ना दुई सन्तानसँग केनसिंगटन प्यालेसको नजिकै कुनै बंगलामा बसिरहेकी छिन् जसको मूल्य करिब १०७ मिलियन डलर हो । 

शाही परिवारको एक नजिकको स्रोतले दिएको जानकारी अनुसार राजकुमारी हया ब्रिटेनमा राजनीतिक शरण लिने कोसिस गरिरहेकी छिन् । साथै उनी शेख मोहम्मदसँग सम्बन्धविच्छेद लिने तयारीमा पनि छिन् । 

यद्यपि, युएईको शाही परिवारमा महिलाले सम्बन्धविच्छेद पाउनु सजिलो छैन किनभने कुनै पनि विवाहसँग दुई देशको राजनीतिक र कुटनीतिक सम्बन्ध पनि जोडिएको हुन्छ । राजकुमारी हया जोर्डनका राजा अबदुल्लाह द्वितीयका सौतेनी बहिनी हुन् । 

राजकुमारी हयाले शेख मोहम्मदबाट सम्बन्धविच्छेद पाउँछिन् वा उनी पनि फर्किएर दुबई जानेछिन् त्यो समयले नै बताउनेछ । तर अहिले शेख मोहम्मद लगातार कविता लेखिरहेका छन् । 

‘मलाई एउटा पीडा भएको छ जो कुनै औषधीले कम हुन सक्दैन, 

‘कोहीसँग पनि यसको उपचार छैन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *