प्रधानमन्त्री रोजगार कार्यक्रमः राउटेले पनि पाए जागिर !

असार १९, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रममा गुराँस गाउँपालिका दैलेखमा बस्ने राउटेहरु पनि समेटिएका छन् ।
विपन्न एवम् बेरोजगार युवालाई लक्षित गरी ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध राउटेलाई वृक्षरोपण, बाटो खन्ने लगायतका कार्यहरुमा संलग्न गराइएको छ ।
null
जंगलका रुखहरु काटी भाँडाकुँडा बनाएर बेचेर जिविकोपार्जन गर्दै आएका राउटेहरुलाई जंगल मास्न हुँदैन भन्ने सन्देश दिनका लागि पनि वृक्षारोपण गर्न लगाईएको हो । राउटे युवाहरुले गाउँपालिकामा सुरुको दिन मात्रै ५० भन्दा बढी गुराँसका बेर्ना रोपेका थिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रम एक घर, एक रोजगार अन्तर्गत राउटे समुदायका घरपरिवारका ४६ जनालाई रोजगारी दिइएको गाउँपालिका रोजगार संयोजक मोहन प्रसाद पौडेलले जानकारी दिए ।
देशभित्रै रोजगारीको ग्यारेण्टीदेखि बेरोजगारलाई भत्ता दिने व्यवस्थासहितको प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ गतेदेखि लागु भएको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अनुसार बेरोजगार व्यक्तिले हरेक आर्थिक वर्षमा एक सय दिन बराबरको बेरोजगार भत्ता समेत पाउने छन्।
प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका–०७५ मा बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम १ सय दिन बराबरको रोजगारी दिने उल्लेख छ।








