हाई प्रोफाइल व्यक्तिलाई अदालत र अख्तियारको संरक्षण

काठमाडौं, २९ असार । आजका पत्रिकाहरु बाढी, पहिरो र डुबानकै समाचारमा केन्द्रित छन् । कान्तिपुर दैनिकले सप्तरी, रौतहट, पर्सा र बाँकेका रिपोर्ट समेटेर भारतीय बाँधले नेपाली बस्ती डुबानमा परेको समाचार लेखेको छ । कान्तिपुरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग बयान लिएको समाचार छ । ललिता निवास प्रकरण (बालुवाटारको जग्गा)मा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसँग अख्तियारले बयान लिएको हो । मन्त्रालयको तत्कालीन सचिवको रुपमा उनले क्षेत्राधिकार नै नभएको विषयमा तयार पारेको प्रस्तावका आधारमा नक्कली मोहीले जग्गा पाएका थिए ।
नेपाल साप्ताहिकमा भने हाई-प्रोफाइल व्यक्तिलाई अदालत र अख्तियारले संरक्षण गरिरहेको कभर स्टोरी छ । समाचारमा अकुत सम्पत्ति थुपारेको आरोप लागेका पूर्वमन्त्री एवम् कांग्रेस नेता गोविन्दराज जोशीलाई दुई दशकदेखि अख्तियार र अदालतले नै संरक्षण गरिरहेको उल्लेख छ ।
राजधानी दैनिकले काठमाडौं, भक्तपुर र ललितपुर बाढी पस्नुको कारण खोतलेको छ । नदी अतिक्रमण र अव्यवस्थित बसोबास यसको मुख्य कारण रहेको राजधानीको निष्कर्ष छ । राजधानी दैनिकमा बाढी पहिरोबाट ४३ को मृत्यु र २४ जना वेपत्ता भएको समाचार छ ।
null
नागरिक दैनिकले पनि बाढीपहिरोमा मृत्यु हुनेको संख्या ४३ पुगेको लेखेको छ । तर, अन्नपूर्ण पोष्टमा ‘सडक अवरुद्ध, जनजीवन ठप्प’ शीर्षकको मुख्य समाचार छ र त्यो समाचारमा ३९ को मृत्यु, ३३ वेपत्ता भएको उल्लेख छ ।
गोरखापत्र दैनिकले सरकारले बाढी पहिरो र डुबान पीडितको उद्धार तथा राहतका लागि एकद्वार प्रणालीमा काम गर्ने निर्णय गरेको समाचार छ । गोरखापत्रले पनि बाढी पहिरोबाट ४३ जनाकै मृत्यु भएको लेखेको छ । गोरखापत्रमै असल चालकको खडेरी भएको समाचार पनि छ । निजी तथा सार्वजनिक यातायातका चालकहरु दिउँसै मदिरामा मस्त हुने गरेको समाचारमा उल्लेख छ ।








