इक्यान शैक्षिक मेलाः पहिलो दिन मै उत्साहजनक सहभागिता, १० हजारले गरे अवलोकन

 

असार २६, काठमाडौं । उच्च शिक्षाका लागि अध्ययन गर्न विदेश जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा १३ औं बृहत इक्यान शैक्षिक मेला राजधानीमा सुरु भएको छ । 

बिहीबार मेलाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीहरुलाई यस्ता मेला निकै उपयोगी हुने बताए । 

null

उनले भने, ‘अहिले उच्च शिक्षा आर्जन गर्न नेपाली विद्यार्थीहरु विदेश जाने संख्या बढेको छ, यस्तो अवस्थामा एकै थलोबाट सबैखाले जानकारी उपलब्ध हुँदा विद्यार्थीले चौतर्फी भौँतारिनु पर्दैन ।’ 

उनले मेला अवलोकन गर्न आएका विद्यार्थीहरुलाई लक्षित गर्दै उच्च शिक्षाका लागि जुनसुकै देशमा गए पनि शिक्षा आर्जन गरेपछि स्वदेशमा फर्केर त्यहाँ सिकेको सीप उपयोग गर्न आग्रह गरे । 

कार्यक्रममा बोल्दै ब्रिटिस काउन्सिलका डेप्युटी हेड अफ मिसन क्रिस्ष्टिन कार एलिवेले नेपाल र बेलायतको दैत्य सम्बन्धको चर्चा गर्दै इक्यान जस्ता मेलाले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् । 

 

त्यस्तै, ब्रिटिस काउन्सिल कन्ट्री डाइरेक्टर जिम ओनिलले मेलाको सफलताको शुभकामना दिँदै ब्रिटिस काउन्सिलले विगत ६० वर्षदेखि नेपालको सांस्कृतिक र शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएको बताए । 

त्यस्तै, मेलामा बोल्दै अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई सचेत भएर जान आग्रह गरे । उनले विदेश जानुपूर्व आवश्यक जानकारी लिनका लागि यस्ता मेलाहरु निकै फलदायी हुने बताए । 

उद्घाटन कार्यक्रममा बोल्दै इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले इक्यान मेलाले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको बताए । 

उनले भने, ‘एकै थलोमा १५० भन्दाबढी एजुकेशन कन्सलटेन्सीहरु जम्मा भएका छन्, विद्यार्थीका लागि जुनसुकै देश, त्यहाँको शिक्षा नीतिसँगै विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष साक्षात्कार गर्नका लागि अवसर पनि हो ।’ 

 

पाण्डेले विद्यार्थीका लागि विदेशी शिक्षाबारे सम्पूर्ण जानकारीसँगै करिअर काउन्सिलिङका समेत गरिने जानकारी दिए । 

उनले भने, ‘मेलामा सहभागी कन्सलटेन्सीका परामर्श दाताहरुले मेलामा आउने विद्यार्थीहरुको क्षमता पहिचान गरी उसलाई कुन देश, कस्तो विषय अध्ययन गर्नका लागि आवश्यक छ जस्ता कुरामा समेत करिअर काउन्सेलिङ गर्नेछन ।’ 

मेलाका संयोजक दीपकराज भुसालले मेलामा पहिलो दिन उत्साहजनक सहभागिता रहेको जानकारी दिए । उनका अनुसार पहिलो दिन १० हजार जना विद्यार्थी तथा अभिभावकले मेला अवलोकन गरी बैदेशिक शिक्षा सम्बन्धि जानकारी लिएका छन् । 

मेलामा ३०० भन्दा बढी स्टलबाट वैदेशिक शिक्षाका बारेमा जानकारी उपलब्ध गराइएको छ । असार २९ गते आइतबारसम्म चल्ने मेलामा चार वटै दिन रक्तदान तथा प्राथमिक उपचारको व्यवस्था समेत गरिएको छ । साथै मेलामा नेपाल फोटो पत्रकार महासंघले सुन्दर नेपाल शीर्षकको फोटो प्रदर्शनी गर्नेछ । 

मेला उद्घाटन इक्यानका महासचिव शेषराज भट्टराईले उद्घोषण गरेका थिए । भने मेलामा विभिन्न क्षेत्रका प्रतिनिधिहरु सहभागी थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 20 =