चौधरीको खुट्टामा नेल लगाउनेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति चासो दिएका छन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस घटनामा चासो दिएका हुन् ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिएका छन् । टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद सजाय भोगिरहेका राजपाका निर्वाचित सांसद चौधरीलाई मेरुदण्डमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको थियो ।
null
अस्पतालको बेडमा उनको खुट्टामा १४ किलोको फलामको नेलले बाँधेर राखिएको थियो । चौधरीमाथि राज्यले गरेको अमानवीय व्यवहारप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । समाजवादी पार्टी र राजपाका नेताहरुले पनि यो घटनाबारे आपत्ति जनाएका थिए ।
समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चौधरीलाई अस्पतालमै गएर भेटेका थिए । उनले सरकारको व्यवहारको आलोचना गर्दै नेल तत्काल खोल्न माग गरेका थिए ।
