राष्ट्रपति–प्रधानमन्त्रीको फोटो देखाउँदै सञ्चारमन्त्रीले सोधे– यही हो स्वतन्त्रता ?

 

असार ६, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक दुई महिना भइसक्दा पनि पारित नभएको भन्दै आक्रोश पोखेका छन् । 

शुक्रबार विकास तथा प्रविधि समितिमा भएको छलफलमा मन्त्री बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक पारित नभएकोमा आक्रोश पोख्दै तत्काल पारित गर्न संसदीय समितिलाई दबाब दिए । 

null

‘सहमतिको नाममा सो विधेयक छलफल गरिएको दुई महिना बित्दा पनि पारित हुन नसक्नु राम्रो कुरा होइन । त्यसमा विज्ञहरुसँग काफी छलफल गरिएको छ । विधयेक पारित गर्न ढिलाइ नहोस्’, उनले भने । 

समितिको बैठकमा प्रेस स्वतन्त्रतामाथि हनन हुने गरी सो विधेयक ल्याएको भन्दै सरकारको चर्को आलोचना हुँदै आइरहेका बेला सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरोकार नै नभएको सो विधेयकसँग पत्रकारहरुलाई समितिका सदस्यले जोड्ने गरेको भन्दै आपत्ति पनि जनाए । 

उक्त विधेयकको पत्रकारहरुसँग कुनै सरोकार नै नभएकाले त्यसलाई अनावश्यक रुपमा जोडेर हेर्न नहुने उनको भनाइ छ । 

विधेयकका बारेमा नबुझीकन हल्ला चलाएर बदनाम गर्न खोजिएको भन्दै छलफलमा उनले भने, ‘यो मेनस्ट्रिम मिडियासँग सम्बन्धित होइन। सामाजिक सञ्जाल भनेको व्यक्ति व्यक्तिबीचको सञ्चार हो। यो विषय व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको छ । तर होच्याउन, हैरानी गर्न, अपमानित गर्न छुट दिनुपर्छ भन्ने होइन।’ 

बैठकमा उनले सामाजिक सञ्जालमा पछिल्लो समय भइरहेका गलत गतिविधिबारे पनि ध्यानाकर्षण गराए । आफ्नो मोबाइल निकालेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर लेखिएको पोस्ट पनि सुनाए । 

सामाजिक सञ्जालमा रहेको उक्त फोटोमा ‘हजुरलाई केपी ओली र म भएर षड्यन्त्रपूर्वक हत्या गरेका हौं। त्यही भएर केपी ओली प्रधानमन्त्री र म राष्ट्रपति भएको छु। हजुरले चिन्ता गर्नु पर्दैन। हजुरको अभावको पूर्ति केपी ओलीले गर्नुभएको छ। हजुरको षड्यन्त्रपूर्वक हत्या गरेकोमा मलाई माफ गर्नुहोला’ भन्ने क्याप्सन लेखिएको थियो । 

क्याप्सन पढिसकेपछि सञ्चारमन्त्रीले आक्रोशित मुद्रमा भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडिएको यसरी लेख्नु नैतिकता र आचरण हो र ? ’ 

प्रतिनिधिसभामा हाल विचाराधीन सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने गरी कुनै कुरा लेखे ५ वर्ष जेल १५ लाख जरिवाना वा दुवै सजायको प्रावधान छ। 

उक्त प्रावधानबारे विपक्षी तथा सरोकारवालाहरुले विरोध गर्दै आइरहेका छन् । सत्तापक्षकै सांसदहरुले पनि उक्त प्रावधानमा चित्त बुझाउन सकेका छैनन् । उनीहरुले उक्त विधेयक संशोधन गर्नुपर्ने धारणा राख्दै आइरहेका छन् भने विपक्षी दलले दबाब दिइरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *