सांसदलाई दिने भनिएको रकमबारे योगेशः भारतले पनि ८ करोड संसदबाटै खर्च गर्छ

 

जेठ १९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले वित्तिय र सिद्धान्तको हिसाबले बजेट उपयुक्त भएको दाबी गरेका छन् । 

आइतबार प्रतिनिधि सभाको आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले यस्तो दाबी गरेका हुन् । 

null

बैठकमा उनले अर्थमन्त्री युवराज खतिवडाले दिगो विकासको लक्ष्य, नेकपाको निर्वाचन घोषणा पत्र, नेपालको संविधान, त्यसमा उल्लेखित मौलिक हक, राज्यका निर्देशित सिद्धान्त, त्यसप्रति सरकार तथा राज्यको जवाफदेहितामा आधारित भएर बजेट तयार पारेको पनि बताए । ‘यो बजेटले नेपालको सन्दर्भमा मात्रै होइन, विश्वव्यापी हिसाबले राज्य र नागरिकबीचका सम्बन्धहरुलाई नयाँ ढंगले परिभाषित गरेको छ । तत्कालीन मनमोहन अधिकारी नेतृत्वको २०५१ सालको सरकारले एउटा गेम चेन्जर नै भन्नुपर्छ, जसले सम्बन्धहरुको परिषित गरेको थियो । यो पनि त्यस्तै छ । अहिले अर्थमन्त्रीज्यूले ०५१ को उक्त परिकल्पनाको निरन्तरता दिँदै बजेट ल्याउनुभएको छ। यो बजेटमा नयाँ सन्दर्भमा आफ्नो गाउँ आफै बनाउको व्यवस्था गरेको छ’, सांसद भट्टराईले भने । 

यस्तै उनले अघिल्लो वर्ष संघीयताको जग मानिएको उल्लेख गर्दै आगामी वर्ष द्रुत आर्थिक विकासको वर्ष मानिएको बताए । उनले भने, ‘यस वर्षको बजेटले द्रुत गतिको विकासलाई पछ्याएको छ । हुलाकी राजमार्गले दक्षिण सीमाको आर्थिक र सामाजिक स्थरलाई माथि उठाउनेछ। अर्थमन्त्रीज्यूले यसलाई प्राथमिकता दिनुभएको छ । मध्यपहाडी लोकमार्गले पहाडी भेगको जनातको आर्थिक क्षमता बढाउनेछ। यसमा बजेट वृद्धि भएको छ।’ 

संसदमा उनले सांसदलाई दिने भनिएको रकमबारे अनावश्यक टिप्पणी नगर्न समेत आग्रह गरे । उनले भने, ‘सांसद्लाई दिएको रकम कसैले व्यक्तिगत रुपमा चलाउँदैन । यो योजना छनोटको अधिकार मात्र हो। किन गलत टिप्पणी भइरहेको छ। अहिले पनि भारतले आठ करोड रुपैयाँ सांसद्बाट खर्च गर्छ। हामी यसको विपक्षमा हो भने साहसका साथ सबैले भनौँ। बहस गरौँ। हैन भने अनावश्यक टिप्पणी नगरौँ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *