अस्पतालमा हातमा कालो पट्टि बाँधेर धर्नाः आकस्मिक बाहेकका सेवा ठप्प

 

असार ४, काठमाडाैँ । वीर अस्पतालपछिको दोस्रो जेठो सरकारी अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ। 

अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टी बाँधेर ३५ कर्मचारीहरु अस्पतालको प्राङ्गणमा धर्ना दिएर बसेका छन्। सधैँ भीड लाग्ने अस्पताल आन्दोलनका कारण बिरामी नआएपछि सुनसान भएको छ। 

null

अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. सुधा देवकोटाले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको सबै सेवासुविधा कटौती गरेपछि ३५ कर्मचारी विगत एकसातादेखि आन्दोलनमा उत्रिएका हुन्। 

आन्दोलनमा उत्रिएका कर्मचारीले आफ्नो माग सम्बोधन नगरेको भन्दै मंगलबारदेखि आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प पारेपछि आजदेखि अस्पताल बिरामी नआउँदा सुनसान भएको हो। 

सरकारले अस्पताल विकास समिति खारेज गरेर मेसुलाई अधिकार दिएपछि मेसु डा. देवकोटाले २०७५ साउन ६ गते अधिकारको दुरुपयोग गरी नियम विपरीत यसअघिका विकास समितिले गरेको सम्पूर्ण निर्णयसमेत खारेज गरेको र समितिले नियुक्ती गरेको कर्मचारीको नियुक्तीसमेत खारेज गरेको सूचना टाँस गरेको आन्दोलनरत कर्मचारीहरूको सङ्गठनका अध्यक्ष मदन द्यौलाले बताए। 

मेसुले आफूहरूसँग छलफलै नगरी वर्षौँदेखि खाइपाइ आएको सञ्चयकोष, महँगी भत्ता, बिदा र ग्रेडसमेत काटिएकोले ती सेवा सुविधा पुनः सुचारु गर्न माग गर्दै आन्दोलनमा उत्रिएको उनले बताए। 

अस्पतालमा विगत २२ वर्षदेखि कार्यरत कर्मचारीहरुलाई निष्कासन गर्ने नियतले सेवा, सुविधा कटौती गर्दै गएको र ठेक्काबाट करारमा रहेका १३ कर्मचारीलाई साउनदेखि नियुक्ती नवीकरण नगर्ने भएकाले उनीहरुको पुनर्बहालीको समेत माग गरेको उनले बताए। 

मेसुले अस्पतालका कर्मचारीलाई मानवीय व्यवहार समेत नगरेको आन्दोलनरत कर्मचारीको आरोप छ। करारमा रहेका कर्मचारीलाई निष्कासन गर्ने तर आफ्ना आफन्त सात जनालाई नर्स र फार्मेसीमा नियुक्ती गर्नुका साथै मेसु देवकोटोले १७ हजार ५ रुपैयाँ तलबमा आफ्ना निजी भान्छे समेत नियुक्ती गरेको सङ्गठनका सचिव सुनिता श्रेष्ठले जानकारी दिए। उनले भने,‘हाम्रा सेवा सुविधा कटौती गर्ने अनि यसअघिका कुनै पनि मेसुले नराखेको भान्छे डा. सुधाले निजी रूपमा राख्नुभएको छ, उहाँले अस्पताल प्रशासनको दुरुपयोग गर्दै आउनुभएको छ।’ 

अस्पतालको ‘रिसेप्सन’मा रहेको टेलिफोन विगत सात महिनादेखि बन्द भएपनि नखुलाएको, अस्पतालको बस मर्मत नगरी थन्क्याएको तर आफ्नो गाडी र तेल खर्चको भने मेसुले व्यापक दुरुपयोग गरेको गुनासो कर्मचारीको छ। 

मेडिकल सुपरिटेण्डेण्ट डा. देवकोटाले प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयमा विकास समिति, करार, ठेक्काका कर्मचारीले अनधिकृतरूपमा सञ्चयकोष, महँगी भत्ता, बिदा र ग्रेड पाइरहेको भनी पत्राचार गरेपछि मन्त्रालयले त्यस्ता सुविधा रोक्न पत्राचार गरेको थियो। 

आन्दोलनका बारेमा विकास समितिका अध्यक्ष मिलन सुवालले वार्ता कमिटी बनाएको बताए। 

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. देवकोटाले आफूले आन्दाेलनरत कर्मचारीका माग पुरा गरिसकेकाे दाबी गरे। उनले भने, ‘मैले गर्नुपर्ने सबै माग पूरा गरिसकेँ, अब मन्त्रालयले पूरा गर्ने माग मात्रै बाँकी छ, मन्त्रालयमा सबै जानकारी गराइसक्यौँ, मन्त्रालयबाट टोली आउँदैछ भन्ने जानकारी पाएको छु, जे गर्छ टोलीले गर्छ।’ 

उनले अस्पतालको सेवा ठप्प नपार्न आन्दोलनरत कर्मचारीलाई आग्रह गरेको उल्लेख गर्दै काउण्टरको साँचो समेत नदिँदा टिकट काट्न समेत नपाएको बताए। रासस  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *