नदी उत्खनन गर्न तीन महिना सम्म रोक

 

जेठ २९, मेलम्ची ।  जिल्ला अनुगमन तथा समन्वय समिति सिन्धुपाल्चोकले तीन महिनाका लागि नदी उत्खननमा रोक लगाएको छ । 

जिल्ला समन्वय समितिको निर्णयानुसार आउँदो असार १ गतेदेखि नदी उत्खनन् गरी बालुवा, ढुङ्गा, ग्राभेल जस्ता नदीजन्य सामग्री निकाल्न पाइने छैन । 

null

सुनकोशी, इन्द्रावतीजस्ता ठूला नदीका साथै मेलम्ची, ब्रह्मायणी नदीमा अत्यधिक उत्खनन भई सङ्कटको अवस्था आइसकेका कारण यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए । 

उनले असोजपछि पनि वातावरणीय प्रभाव मूल्याङ्कनले उचित ठह¥याए मात्र उत्खनन खुला गरिने र अन्यथा बन्देज कायम राख्ने बताए । भूकम्पपश्चात घर निर्माणका कार्य तीव्र भई गिट्टी, बालुवाको व्यापार ह्वात्तै बढ्दा व्यवसायीहरू क्रसर उद्योगमा आकर्षित भएका थिए । 

शक्तिको चलखेलमा मापदण्डभित्र नपर्दा पनि अत्यधिक क्रसर उद्योग खुलेका छन् । यसबाट बाहुनीपाटी, सिपाघाटको मोटर पुल पनि जोखिममा परेका स्थानीयले बताएका छन् । धेरै मात्रामा नदीजन्य पदार्थ उत्खनन हुँदा नदीले धार नै परिवर्तन गरेको छ । 

साथै यहाँका जलचरलाई पनि असर पारेको छ । माछा मारेर गुजारा गर्ने मेलम्चीका शम्भु माझी इन्द्रावतीमा पहिलेजस्तो माछा नपाइने हुँदा अहिले गुजारा चलाउन पनि मुस्किल परेको बताउँछन् । 

वातावरणीय विकराल अवस्थाकै कारण जिल्ला समन्वय समितिले नदीजन्य सामग्री उत्खनन गर्दा पुनः वातावरणीय परीक्षण गर्न स्थानीय तहलाई आग्रह गरेको छ । 

दर्ता गर्न चाहने क्रसर उद्योगले वातावरणीय परीक्षण गरेर जिल्ला समन्वय समितिबाट स्वीकृत गराएर मात्र दर्ता अनुमति दिन निर्देशन दिएको प्रमुख तामाङले जानकारी दिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *