राष्ट्रपतिद्वारा कविता महोत्सवका विजेताहरू पुरस्कृत

 

असार ४, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा गत वर्ष आयोजित राष्ट्रिय कविता महोत्सवका विजेता कविहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गरेकी छिन् । 

महोत्सवमा प्रथम हुनुभएका काभ्रेका कवि फूलमान वललाई राष्ट्रपति भण्डारीले स्वर्ण पदकसहित ३० हजार रुपैयाँ, दोस्रो हुने धादिङकी सुनिता खनाललाई कास्य पदकसहित २५ हजार रुपैयाँ र तृतीय हुने मोरङकी मेनुका चापागाईं र तेह्रथुमकी एलिना दुलाललाई जनही २० हजार रुपैयाँ र रजत पदक हस्तान्तरण गरिन् । 

null

तेस्रो हुने रामेछापका कवि जीवन खत्री देशबाहिर भएका कारण उपस्थित थिएनन् । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित पुरस्कार प्रदान समारोहमा २०७२ को महोत्सवमा पुरस्कार दिन बाँकी प्रथम कवि सिन्धुलीका प्रोल्लास सिन्धुलीय र द्वितीय पाँचथरकी सरस्वती दुमी राईलाई पनि राष्ट्रपति भण्डारीले पुरस्कार हस्तान्तरण गरिन् । 

 

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गर्दै मुलुकको सामाजिक रुपान्तरणमा विशिष्ट योगदान दिँदै आएको बताइन् । उनले पुरस्कृत कविका कविताहरूबाट सिङ्गो राष्ट्र नै लाभान्वित भएको विचार व्यक्त गर्दै राष्ट्रको पर्यटन प्रवद्र्धनमा स्रष्टाका सिर्जनाहरूको महत्वपूर्ण भूमिका रहने हुँदा यसतर्फ स्रष्टाहरूले कलम चलाउनु पर्नेमा जोड दिए । 

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नयाँ पुस्ताका कवि प्रतिभाहरूलाई सिर्जनाकर्ममा उत्प्रेरित गर्ने उद्देश्यले वि।सं २०२२ देखि नै कविता महोत्सव गरिँदै आएको बताए । 

 

सो अवसरमा कुलपतिले नेपालको समग्र सांस्कृतिक पहिचान झल्काउने महाग्रन्थ ‘नेपाल दर्पण’ प्रकाशन गर्ने अभियानमा प्रज्ञा–प्रतिष्ठान लागेको जानकारी पनि गराए । उनले भने, ‘यो नेपालकै गौरवमय कार्य हुनेछ ।’ उपकुलपति डा. जगमान गुरुङले पुस्ता र दक्षताको हस्तान्तरण गर्दै लैजानु नै कविता महोत्सवको उद्देश्य भएको बताए । सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले आगामी दिनमा कविता महोत्सवलाई अझ प्रभावकारी बनाउँदै लगिने बताए । 

कविता महोत्सवका संयोजक एवम् काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले कवि प्रतिभाको विकास र कविता विधाको उन्नयनमा कविता महोत्सवले विशेष भूमिका खेल्दै आएको उल्लेख गर्दै यस वर्षदेखि कविता वाचन कलालाई पनि मूल्याङ्कनको आधार बनाइने बताए । 

कार्यक्रममा पुरस्कृत कविहरूले आ–आफ्ना कविता सुनाउनुभएको थियो । कार्यक्रम सन्ध्या पहाडीले सञ्चालन गरेकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *