साढे दुई वर्षीय बालकको आधा घाँटी काटेको अवस्थामा शव फेला

धनुषा, २४ वैशाख । धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए । बालकको खोजतलास अबेर रातिसम्म गरिए पनि फेला परेको थिएन । 

उनै बेपत्ता आर्यनको शव मङ्गलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । आर्यनको शव घर नजिकैको बारीमा फेला परेको छ । शवको प्रकृति निकै दर्दनाक देखिन्छ । आधा घाँटी काटेको अवस्थामा शव फेला परको छ । “हामी अहिले मुचुल्का उठाउने काम गर्दैछौँ”, प्रहरी निरीक्षक राईले भने, “घटनाको पूरा अनुसन्धान गरेपछि मात्रै थप भन्न सकिने अवस्था रहन्छ ।” 

 

null

आर्यन सोमबार साँझ हरियो रङ्गको टिसर्ट लगाएर घरमै खेलिरहेका थिए । उनी खेल्न थालेपछि परिवारका सदस्यले बालकलाई घरमै छाडेर घर नजिकैको धारामा पानी लिन गएका थिए । त्यही बीचमै आर्यन बेपत्ता भएका थिए । बालक हराएपछि छिमेकी र गाउँले मिलेर खोजी शुरु गरेका थिए । पछि बालक हराएको जानकारी इलाका प्रहरी कार्यालय ढल्केवरलाई समेत दिइएको थियो । 

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राईसहित गाउँलेले बालकको खोजी सोमबार रातिबाटै गरेका थिए । तर, बालक फेला परेका थिएनन् । खेतबारीतिर जान सक्ने भन्दै त्यसतर्फ पनि खोजी गरिएको तर पत्ता नलागेको राईको भनाइ छ । यसैबीच मंगलबार बिहान राति नै खोजिएको ठाउँ घर नजिकैको खेतमा उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक राईले बताए । बालकको घाँटी रेटेर निर्ममतापूर्वक हत्या भएको पाइएपछि अपहरण गरेर हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =