बलात्कार र हिंसापछि पनि तड्पिनुपर्छ पीडित

 

जेठ ५, इलाम ।  सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । 

बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पुर्‍याएर बलात्कार गरे । सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि ‘मारिदिने’ धम्की दिए । धम्कीपछि युवतीको इच्छाविरुद्ध नै सुमनले जबर्जस्ती गरे । घर गएर भने ‘बाँच्न दिन्न’ समेत भन्न भ्याए । 

null

त्यसपछि युवती घर फर्किन् र तत्काल प्रहरी कार्यालयमा फोन गरिन् । अहिले सुमन इलाम कारागारमा कैद जीवन जिइरहेका छन् । तर, कहिलेकाहीँ फोन गरेर युवतीलाई ‘जेलबाट निस्किएको भोलिपल्टै मारिदिन्छु’ भन्ने गरेका छन् । ‘म त जेल परें परें । म निस्किए भने त पनि बाँच्दिनस् भनेर धम्क्याउँछ, सार्‍है पीर परेको छ,’ युवतीले भनिन् – ‘कति समय जेल बस्छ पनि थाहा छैन । यदि निस्किहाल्यो भने त मार्छ होला ।’ 

युवती यहीँ विषयलाई लिएर पटक–पटक प्रहरी कार्यालय समेत धाउने गरेकी छिन् । पीडकको जेल जीवन धेरै समय रहेकाले डराउनु नपर्ने सन्देश पाएपछि घर फर्किएर जान्छिन् । युवती भन्छिन्– ‘अहिले पनि धम्की आइरहन्छ । के गर्ने भन्ने नै अन्योलमा छौं ।’ यहीँ विषयलाई लिएर युवती चिन्तित हुने गरेको युवतीकी आमाले समेत बताइन् । युवतीकी आमाले भनिन्– ‘त्यो दिन त्यस्तो घटना घट्यो तर, जेल परेपछि समाधान हुन्छ भन्ने सोचेकी थिएँ । आपत् हटेको छैन ।’ 

यस्तै, सन्दकपुर गाउँपालिकाकै सुलुबुङकी एक बालिकालाई ५० वर्षीय भीमप्रसाद पाठकले दुर्व्यवहार गरे । बेलुकाको समयमा बालिका विद्यालयबाट फर्किएपछि घर बाहिर पेटीमा बसिरहेका बेला ‘मलाई चिन्छेस् छोरी, म ठूलो बुवा हुँ’ भन्दै बालिकाको संवेदनशील अङ्गमा समाएको बालिकाकी आमाले बताइन् । 

‘म घरभित्र थिएँ, उनी (भीमप्रसाद पाठक) घरमा आए र बाख्रा छ भने र बाख्रा पछि लैजाउँला भन्दै बाहिरिए,’ १२ वर्षीया बालिकाकी आमाले भनिन्– ‘म त घरभित्र थिएँ । बाहिर छोरी आत्तिदै कराएको सुनें । बाहिर निस्केर हेर्दा त छोरीको गर्धन र छातीमा समाइराखेको देखें ।’ 

बालिकाकी आमाले तत्काल प्रहरीलाई फोन गरिन् । अहिले पाठक ५० हजार रुपैयाँ धरौटीमा तारेखमा रिहा भएका छन् । तर, यता पीडित बालिकालाई भने घरबाट टाढा पुर्‍याइएको छ । पाठकको दुर्व्यवहारपछि समाजले हेर्ने दृष्टि नै फरक भएपछि बालिकालाई घरमा नराखिएको हो । 

‘स्कूल जान समेत मान्दिनन्, सबैले हेरे जस्तो लाग्छ, कुरा गरेजस्तो लाग्छ भन्छे । त्यही भएर घरमा नराखेको,’ बालिकाकी आमाले भनिन् – ‘पीडकका बारेमा त केही थाहा छैन । रिहा भएको खबर आएको छ तर, हामीलाई बोलाएको छैन ।’ 

यी युवती र बालिका मात्र होइन । अहिले पनि समाजमा पीडित महिलालाई हेर्ने दृष्टिकोण फरक छ । घटना घटेपछि पनि पीडित बारम्बार तड्पिने गरेका छन् । पीडक र समाजकै डरले कतिपय महिला घर छाड्न बाध्य छन् भने कतिपय ‘डिप्रेसन’बाट ग्रस्त हुने गरेका छन् । घटना एकचोटि घटे पनि कतिपय घटनाले बालमनोविज्ञानमा सधैं असर गर्ने गरेको मानव अधिकार मञ्च नेपाल इलामका मनोसामाजिक विमर्शकर्ता रुद्र थेवेले बताए । 

‘कतिपय बालबालिकाले त यहीँ कारण भविष्यमा दिमागी सन्तुलन समेत गुमाउन सक्छन्,’ थेवेले भने– ‘बालबालिकामा यस्तो समस्याले गर्दा सामान्य जीवन जीउन समेत समस्या हुन सक्छ । विद्यालयमा वा घरमै पनि यस्ता कुरा आए भने आफूलाई भने जस्तो अनुभव गर्न पुग्छन् र उनीहरू बढी सोचमग्न हुन थाल्छन् । 

मनोविमर्शकर्ता थेवेका अनुसार पीडितलाई मात्र नभई पीडितको परिवारलाई समेत यस्ता घटनाले असर गर्ने गरेको छ । ‘इलाममै पनि यस्तै घटनाका कारण एक जनालाई डिप्रेसन भएको छ, बालिकालाई दुर्व्यवहार भएको खबर आयो, आफन्तबाट बढी दबाब आएपछि बालिकाका बाबु अहिले डिप्रेशनमा छन्,’ थेवेले भने । 

थेवेका अनुसार जिल्लामा आत्महत्याका घटना बढ्नुका कारण पनि बलात्कार र दुर्व्यवहार हुन सक्छ । ‘कतिपयले त सुसाइड पनि गर्छन् तर, हामीकहाँ के कारणले सुसाइड गरेको हो भन्ने पत्ता लगाउने कोशिश गरिँदैन,’ थेवेले भने । यस्ता घटना हुनै नदिन पीडकलाई कारबाहीको दायरा ल्याउनुपर्ने उनी ठान्छन् । 

कतिपय पीडकले आफू सजाय भोगिरहेको समयमा पनि पटकपटक पीडितलाई धम्क्याइरहेका हुन्छन् । उनीहरूले पीडितलाई धम्क्याउनाका कारण भने आफ्नो कमजोरी समाजले जान्नु हो । भोलिका दिनमा पनि समाजमा जिउन सक्ने सम्भावना नहुने ब्झुेपनि पीडकले समस्यामा पार्ने गरेका छन् । यसका लागि भने सरोकारवाला निकाय र पीडित पक्ष दुवै सतर्क हुनुपर्ने कानूनविद्हरूको भनाइ छ । 

कैदीको नियत नबलिएसम्म विभिन्न अवसरमा कैद छूट नहुने तर, कैद भुक्तान गरिरहेका बेला अन्य अभियोग दर्ता गर्न नमिल्ने कानूनी प्रावधान छ । ‘पीडकले यसरी धम्क्याए पनि उसलाई अन्य अभियोगमा मुद्दा हाल्न भने मिल्दैन तर, उ बाहिर निस्केपछि भने उसको व्यवहार नसुध्रिए फेरि कानूनी प्रक्रिया अपनाउन सकिन्छ,’ अधिवक्ता वीरबहादुर खड्काले भने– ‘त्यसमा पनि धम्क्याउने क्रममा पीडकको सम्पर्कमा पीडित आउँदैन । मोबाइल फोन परिवर्तन गर्नाले पनि समस्या कम हुन्छ ।’ उनका अनुसार बलात्कार तथा हिंसाका घटनामा बढी पीडकले पीडितलाई प्रताडित गर्ने गरेका छन् । 

यता, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख माधवप्रसाद श्रेष्ठले भने पीडकको नियत नसुध्रिए कैद भुक्तान भए पनि ऊ प्रहरीको निगरानीमै रहने बताए । ‘हामी पीडित र पीडक दुबैलाई बुझ्छौं, पीडकले अनावश्यक रूपमा पीडितलाई असर पार्ने गरेको छ भने त्यसलाई कारागारमै पनि त्यही किसिमको कारबाही हुन्छ,’ उनले भने– ‘हामीले त्यस्ता पीडकलाई पनि धेरै कारबाहीमा ल्याइसक्यौं । त्यस किसिमको अनावश्यक यातना दिने पीडकलाई थुनामुक्त भएपछि पनि निगरानीमा राख्छौँ ।’ 

श्रेष्ठले आफूहरू पीडितलाई थप समस्यामा पार्ने गतिविधि रोक्न पीडकलाई सकेसम्म आफ्नो सम्पर्कमा रहिरहने वातावरण बनाउने गरेको बताए । जिल्लामा यस वर्ष बाल यौन दुर्व्यवहार र जबर्जस्ती करणीका घटनामा पनि वृद्धि आएको छ । 

गत वर्ष १९ वटा जबर्जस्ती करणीका घटना घटेकामा यस वर्ष २८ घटेका छन् । बाल यौन दुर्व्यवहारको घटना गत वर्ष नघटेको देखिएकामा यस वर्ष पाँच वटा घटेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यस वर्ष जबर्जस्ती करणी उद्योग १०, बहुविवाह १३, मानव बेचबिखन छ, हाड नाता करणी एउटा घटेको देखिएको छ । गत वर्ष जबर्जस्ती करणी उद्योग १०, बहुविवाह सात र मानव बेचबिखनका दुइटा घटना घटेका थिए । 

सङ्ख्यात्मक रूपमा घटना बढेको देखिए पनि वास्तवमा घटना घटाइ समान रहेको जिप्रका प्रमुख श्रेष्ठले बताए । उनका अनुसार कतिपय पुराना घटनाको पनि दर्ता गर्ने गरिएको छ । किरण पौड्याल–रासस 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *