फरवार्ड माईक्रो फाइनान्सले गरिबी न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्याेः मन्त्री महासेठ

 

सुनसरी, जेठ ५ । भौतिक तथा यातायात ब्यवस्था मन्त्री रघुविर महासेठले फरवार्ड कम्यूनिटि माईक्रो फाइनान्स वित्तिय संस्थाले विपन्न समुदायका महिलाहरुलाई ऋण प्रवाह गरी उद्यमी तथा व्यवसायी बनाएर देशको गरिबी न्यूनीकरणमा महत्वपूर्ण भुमिका खेल्दै आएको बताए । 

आज फरवार्ड कम्यूनिटि माईक्रो फाइनान्स वित्तिय संस्था लिमिटेडको छैठौँ वार्षिक उत्सव उद्घाटन गर्दै मन्त्री महासेठले अन्य बैंक तथा वित्तिय संस्थाहरुले नेपालको बिकट क्षेत्रमा वित्तिय सेवा दिन नसकिरहेको अवस्थामा फरवार्ड लघुवित्तले त्यस क्षेत्रका जनताको वित्तिय पहुच बढाएको प्रति प्रशंशा ब्यक्त गरे । 

null

‘ग्रामिण महिलालाई आर्थिक शशक्तिकरण गर्न फरवार्ड माइक्रोफाइनान्सले खेलेको भूमिका महत्वपूर्ण छ । समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको योजनामा माइक्रोफाइनान्सहरुले महत्वपूर्ण भूमिका खेल्ने भएकोले राज्यले सोहि अनुसार नीति बनाउनु पर्छ ।’ मन्त्री महासेठले भने । उनले फरवार्डले महिलाहरुलाई ऋण लगानी मात्र नगरेर ऋणको उचित सदुपयोग गरि समुदायमा सक्षम बनाउ समेत सहयोग गर्ने गरेको बताउँदै आगामी दिनमा अझ शशक्त भएर काम गर्न सुभकामना दिए । 

 

कार्यक्रममा संस्थाकी अध्यक्ष तथा नेकपा नेतृ भगवती चौधरीले फरवार्ड माइक्रोफाइनान्सले ग्रामिण अर्थतन्त्रको विकास, सुदृढिकरण र महिलाको आर्थिक शशक्तिकरणको मुद्दालाई प्राथमिकता दिएर अघि बढेको बताइन् ।  

चौधरीले गैर सरकारी संस्थाको रुपमा २०५२ सालमा दर्ता भएको ग्रामीण महिला उत्सुकता विकास मञ्चले नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थताकर्ता अनुमति लिई सेवा सुरु गरेको र २०६९ सालबाट लघुवित्त कार्यक्रमलाई समेत सुरु गरेको जानकारी दिइन् । उनले लघुवित्त संस्थाले व्यावसायिक मर्यादाका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपन्न परिवारको जीवनस्तर माथि उकास्न क्रियाशील रहेको जानकारी गराइन् । लघुवित्त सेवा पहुँचका कारण नेपालीहरुको गरीवी दर समेत घट्दै गएको र साक्षरता दरमा बृद्धि भएको तथ्याङ्कहरुले देखाएको अध्यक्ष चौधरीको भनाई थियो । 

 

उनले लघुवित्त कार्यक्रम मार्फत मुलुकको विकास गर्न सकिने बताउँदै राज्यले माइक्रोफाइनान्सलाई सिमित घेरामा मात्र राख्न नहुने बताइन् । ‘समृद्ध मुलुक सुखी नेपालीको सपना साकार पार्न राज्यले लघुवित्त कार्यक्रमलाई फराकिलो बनाउन लगानीका क्षेत्र बढाउन पर्दछ ।’ उनले भनिन् ।  

साधारण सभाको उद्घाटन सत्रमा प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले वित्तीय संस्थाले २०७६ बैशाख मसान्तसम्म ३७ जिल्लाका १२१ शाखा कार्यालयमार्फत २ लाख ४३ हजार २ सय ३८ जना सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरेको जानकारी गराए । उनले १ लाख ४७ हजार २ सय ५० जना ऋणी सदस्यसँग रु. ९ अर्ब ९९ करोड लगानी रहेको तथा ४ अर्ब ४१ करोड बचत सङ्कलन गरेको जानकारी गराए । 

उनले वित्तिय सेवालाई अगामी दिनमा अझ प्रभावकारी बनाउन विभिन्न किसिमका वित्तिय सेवा सँगसँगै निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क स्वास्थ्य उपचार, विमा कार्यक्रम जस्ता सामाजिक कार्यक्रमहरुको डिजाइनीङ्ग गरी सेवा दिने लक्ष्य रहेको जानकारी दिए । 

समारोहमा वित्तिय संस्थाका सञ्चालक सदस्य जगतजंग जि.सी.ले जनताका घरदैलोमा वित्तिय सेवा पुर्याउन बैंक तथा वित्तिय संस्थाहरु नै जनता समक्ष जानु पर्ने अवस्था सृजना भए मात्र देशको आर्थिक उन्नती हुने बताए । सुनसरी बहुमुखी क्याम्पस इनरुवाका संस्थापक तथा पुर्व प्राचार्य तथा सफल कृषि व्यवसायी धिरेन्द्र बस्नेतले संस्थाले आर्थिक रुपले महिलाहरुलाई सशक्त बनाउने अभियानमा सफलता प्राप्त गरेको बताए । 

सामाजिक ब्यक्तित्व सम्मानीत 

कार्यक्रममा सामाजिक क्षेत्रमा उल्लेख्नीय योगदान पुर्याउने व्यत्तित्वहरुलाई सम्मानीत गरिएको थियो । सम्मानीत हुनेहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा लघुवित्त सेवाको प्रवद्र्धन गर्न योगदान दिने बेलघोरिया जनकल्याण समिति कोलकता, भारतका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बिश्वजित दास, नोवेल मेडिकल कलेज तथा टिचिङ्ग अस्पताल बिराटनगरका मेनेजिङ्ग डाइरेक्टर इन्दीरा शर्मा (बराल), सुनसरी बहुमुखी क्याम्पस इनरुवाका संस्थापक तथा पूर्व प्राचार्य धिरेन्द्र बस्नेत, सरस्वती उच्च मा.वि. औरावनीका पुर्व प्रधानाध्यापक बिरेन्द्र प्रसाद गुप्ता, सरस्वती उच्च मा.वि. औरावनीका पुर्व शिक्षक गोपाल रञ्जन शाह रहेका थिए ।  

३ शाखा कार्यालय २८ कर्मचारी पुरस्कृत 

कार्यक्रममा संस्थामा उत्कृष्ट काम गर्ने ३ वटा शाखा कार्यालयहरु गरुडा शाखा कार्यालय रौतहट, हात्तिमुडा शाखा कार्यालय मोरङ्ग र शाखा कार्यालय जोगबुढा डडेलधुरालाई पुरस्कृत गरिएको थियो ।  

कार्यक्रममा शाखाका कार्यालय प्रमुख ८ जना, फिल्ड कर्मचारी १७ जना, कार्यालय सहयोगी ३ जना गरी २८ जनालाई पुरस्कृत तथा प्रसंसापत्र प्रदान गरिएको थियो । भने, बचत तथा ऋण पहिचानमा उत्कृष्ट भएका २५ ग्राहक सदस्य र २७९ वटा केन्द्रहरुलाई बिभिन्न विद्यामा पुरस्कृत गरिएको थियो । 

कार्यक्रममा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, जिल्ला अध्यक्ष योगेन्द्र मण्डल (पप्पु), संजिवनी अस्पताल एण्ड आई. भि. एफ. सेन्टर बिराटनगरका सञ्चालक ओम प्रसाई र अञ्जनी पोखरेल, बिराट आँखा अस्पताल बिराटनगरका सञ्चालक रामकुमार मण्डल लगायतको विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।  

निःशुल्क आँखा तथा स्वास्थ्य शिविर 

 

साधारण सभाको अवसरमा यस वित्तिय संस्था र लायन्स क्लव अफ गुराँस र लायन्स क्लव अफ दुहवीको संयुक्त आयोजना तथा संजिवनी हस्पीटल एण्ड आई. भि. एफ. सेन्टर र बिराट आँखा अस्पताल बिरानगरको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थिए । शिविरमा जेनेरल फिजिसियन, स्त्रीरोग, आँखा रोग, बाल रोग जस्ता शिविर सञ्चालन गरिएको थियो । 

शिविरबाट ५०० भन्दा बढी विरामीहरुले स्वास्थ्य परिक्षण लाभ लिएका थिए । स्वस्थ्य परिक्षणबाट पहिचान गरि छनौट भएका बिरामीहरुलाई उपचारको क्रममा संजिवनी हस्पीटलले बिभिन्न शुल्कमा छुट तथा मिनाहा गर्ने व्यवस्था रहेको जानकारी गरेका थिए । साथै परिक्षणका क्रममा २४७ जना आखाँको बिरामी मध्ये ७ जनामा मोतिया बिन्दु देखा परेको र उक्त बिरामीहरुको शल्यक्रिया समेत निःशुल्क गरिने अस्पताल सञ्चालक राजकुमार मण्डलले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *