पत्नीको समाधिस्थलमा कृति विमोचन

 

जेठ १०, धरान । भनिन्छ, प्रेम अमर हुन्छ । नेपाली लोक संस्कृतिमा अमर प्रेमका अनेकौं कथाहरु पाइन्छन् । विवाह अघि र पछि प्रेमी–प्रमीका, पति–पत्नीबीचको सम्बन्धलाई परिभाषा गर्दै दार्शनिकहरुले प्रेमलाई अमर तत्वको रुपमा अर्थ दिएका हुन् । 

पछिल्लो समय आधुनिक जीवनशैली र मानविय मूल्य मान्यता, नैतिकतामा आएको ह्रासका कारण माया–प्रेम क्षणिक भइरहेका बेला धरानका एक साहित्यकार भने उही पुरानो प्रेमशैलीमा प्रस्तुत भएका छन् । 

null

अचेल साहित्यकार जोसुकैले पनि तडकभडक देखाउँदै ठुलठुला तारे होटल तथा मलहरुमा आफ्ना कृतिहरु विमोचन गरिरहेका हुन्छन् । तर धरानका साहित्यका तथा प्राध्यापक शरणकुमार राईले त्यसो गरेनन् । उनले आफ्नो पछिल्लो कृति विमोचन दिवंगत पत्नी लक्ष्मी राईको समाधि स्थलमा गरे । 

लामो समय महेन्द्र बहुमुखी क्याम्पसमा वाणिज्य शास्त्रको प्राध्यापनमा रही अवकाश ग्रहण गरेका शरणकुमार राई धरानको साहित्यिक जगतमा पाँच दशक अघिदेखि नै परिचित नाम हो । 

पाँच महिना अघि पत्नी लक्ष्मीको देहावसान भएपछि हालै ‘नौरङगी’ नामक लघुकथा संग्रह उनले प्रकाशित गरेका छन् । दिवंगत पत्नी लक्ष्मि राईको सम्झनामा उनले प्रकाशित ‘नौरङगी’ लघुकथा संग्रह पुस्तक धरान–८ हरियाली सामुदायिक वन चारकोशे जंगलस्थित उनैको समाधिस्थलमा विमोचन गरेका हुन् । 

समाधिस्थलमा दिवंगत पत्नीप्रति समर्पित गर्दै पुस्तकाको विमोचन गरिएको सम्भवत् नेपालमा यो पहिलो घट्ना हो । 

साहित्यकार राई सहित कवि, लेखक तथा उनका परिवारका सदस्यहरु आमा शिवमाया राई, छोराहरु शैलेस राई, सायन राई, सृजन राईद्धारा समाधिस्थल तर्फ फर्किएर पुस्तकको विमोचन गरिएको थियो । 

विमोचनपछि धरान–१९ धनकुटे रोडस्थित लेखकको निवासमा विमोचित पुस्तक सहित उनका अन्य कृतिहरु बिक्री कार्यक्रम राखिएको थियो । 

साहित्यकार राईका हालसम्म प्रकाशित कृतिहरुमा ‘केही कथा केहि कविता’ सहलेखन, ‘साथी’ निबन्ध संग्रह, ‘मानव संसार’ उपन्यास, ‘अन्तिम स्वीकारोक्ति’ कथा संग्रह, ‘ओईलिने फुल’ कविता संग्रह, ‘डान युवा मनको’ उपन्यास, ‘अन्तिम आयाम’ कथा संग्रह लगायत छन् । ‘नौरङगी’ लघु कथा संग्रहका उनको आठौं कृति हो । 

नौरङगी लघुकथा संग्रहबारे साहित्यकार, राजनितिज्ञ, समाजसेवीहरुले टिप्पणी गर्दै लघु कथाहरु प्रेरणादायी रहेको उल्लेख गरेका छन् । मदन पुरस्कार विजेता राधा पौडेलले लघुकथाले सिंगो देश र सिंगो पृथ्वीलाई थामेको बताए । यसले यहाँका जीवजन्तु र मानव समवेदनालाई सुझाएको उनले उल्लेख गरेका छन् । ‘नौरङगी’ नविन प्रविधिको समसामायिक विषयवस्तुमा लेखिएको कथा संग्रह भएको उनको भनाइ छ । 

कार्यक्रममा प्रा.डा भोलानाथ पोख्रेलले साहित्यकार राईले मान्छे शोकमा परेर गरेको रङ्गविहिन अनुभवलाई आठौ रङ्ग मान्दै वियोगको असहाय परिस्थितिमा पनि बाँच्न चाहने जिजीविषाको अद्भुद रहस्यमयी अदृश्य रङ्ग नवौ रङ्ग हो भन्दै नविन विषयवस्तुको स्थापना गरेको उल्लेख गरेका छन् । 

समालोचक प्राडा गोपाल भण्डारीले ‘सरण राईका प्रस्तुत लघुकथाहरु अत्यन्तै सुस्वादु छन् । धेरै कथाहरुमा चित्तबुझ्दा घटनाक्रम, पात्र, परिवेश, उक्तिप्रयुक्ति र तारतम्य मिलाइएका छन् । त्यसैले कथामा एक किसिमको चुम्बकीय आकर्षण शक्ति छ, जसबाट कथा पढ्न थालेपछि छाड्नै मन लाग्दैन’ भने । 

२०२२ सालदेखि साहित्य सिर्जनमा लागेका साहित्यकार शरण राई भन्छन्, ‘क्रान्ति गर्न कुनै हात हतियार, बन्दुकको आवश्यक छैन । क्रान्ति त एउटा कलमले पनि गर्छ । एउटा कलमको मसीले सारा जगतलाई परिवर्तन गर्न सक्छ । त्यस्तै मेरो पनि हतियार भनेकै कलम हो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *