गिरिजालाई जस्तै गरी ओलीलाई सताउँदैछन् मातृका यादव

 

जेठ ३, काठमाडौं । कर्मचारी सरुवाको विषयलाई लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले फेरि अर्काे काण्ड मच्चाएका छन् । पटक–पटक काण्ड मच्चाउँदै आएका उनले पछिल्लो पटक कर्मचारी कुटेर काण्ड मच्चाएका हुन् । पहिलो पटक गिरिजाप्रसाद कोईरालाको अन्तरिम सरकारमा मन्त्री हुँदा मन्त्रीपरिषद बैठकमै हंगामा मच्चाएर विवादमा आउन सुरु गरेका यादवले अहिले केपी शर्मा ओलीको मन्त्रीपरिषदमा रहँदा पनि सोही चर्तिकलालाई निरन्तर दिईरहेका छन् । 

बुधबार मन्त्रालयमा कर्मचारी सरुवाको विषयमा कुरा गर्न गएका नेपाली काँग्रेस निकट निजामती कर्मचारी युनियनका नेताहरु र मन्त्री यादवबीच तनाव भएपछि धकेला धकेलको अवस्था सिर्जना भयो । सन्की स्वभावका मन्त्री मातृका यादव त्यतिमा मात्र रोकिएनन्, कर्मचारीलाई हालत छाडि हाले । मन्त्री यादवले हात हालेपछि कर्मचारीले पनि प्रतिवाद गर्दै उनीमाथि जाईलागे । मन्त्री मातृका यादव र सेवाग्राहीका रुपमा आएका कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच केही बेर कुटाकुट भयो । मन्त्री यादव तिनै हुन् जसले कुनै बेलामा स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेका थिए । 

null

मन्त्री यादव बनमन्त्री भएका बेला क्रसर उद्योगीसँग मिलेर पर्यावरण बिगारेको भन्दै ललितपुरका तत्कालिन एलडिओलाई मन्त्रालयमा बोलाएर शौचालयमा थुनिदिए । वातावरणमा असर परिरहेकोले कानुन अनुसार ढुंगाखानी बन्द गर्नलाई मन्त्री यादवले स्थानीय बिकास अधिकारीलाई निर्देशन दिएका थिए । निर्देशन नमानेपछि उट्पट्याङ्गे काम गर्नका लागि माहिर यादवले उनलाई शौचालयमा थुनेका थिए । मन्त्री यादव आफै यो कुरालाई स्वीकार्छन्, ‘थुनेकै हो भन्छन् ।’ उक्त प्रकरणमा चर्को विवादमा परेपछि यादव कसैसँग झुकेनन्, बरु मन्त्री पदबाटै राजीनामा गरे । हक्की स्वभावका मन्त्री यादवको यसपटक पनि प्रधानमन्त्री र कर्मचारीसँग ‘टसल’ पर्ने अनुमान पहिल्यै गरिएको थियो । 

यादव २०६४ को अन्तरिम व्यवस्थापिका–संसद्मा सांसद बनेका थिए । गिरिजाप्रसाद कोईराला नेतृत्वको अन्तरिम सरकारमा उनी बनबन्त्री बने । तत्कालीन प्रधानमन्त्री कोइरालासँग मन्त्रीपरिषद बैठकमै चर्काचर्की पर्याे । आफुले लगेको प्रस्ताव पास नगरेको भन्दै प्रधानमन्त्रीलाई मुख छाडेका थिए । विवादका कारण उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । 

पार्टी स्थायी समिति सदस्य रहेका उनले अध्यक्ष पुष्पपकमल दाहालसँग ठाक्क ठुक्क परिरहन्थ्यो । २०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद् थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाललगायतसँग विवाद भएपछि उनले सांसद पद समेत त्यागे । उनी पार्टीबाट अलग भई २०६५ माघ २९ गते माओवादी पुनःगठन गरे । उनले नेकपा (माओवादी) को संयोजक भएर आन्दोलनमा अघि बढे । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *