भारतीय निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रहः नेपालमा लगानी गर्नुस्
जेठ २, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानीको वातावरण उपयुक्त बन्दै गएको भन्दै भारतीय निजी क्षेत्रलाई लगानी गर्न आह्वान गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत लगानी प्रर्दशनी तथा सम्मेलन’ को दोस्रो दिनको कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले भारतीय निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।
null
मुलुकको समृद्धिका लागि सरकारले वैदेशिक लगानी र प्रविधि भित्र्याउन जोड दिएको स्पष्ट पार्दै उनले नेपालको आर्थिक विकासमा भारतीय युवा उद्यमीहरुको अनुभव उपयोगी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले दुई मुलुकबीचको व्यापार क्षेत्रको विस्तारका लागि सो सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे।
उनले भारतको ब्रान्डेड वस्तुहरुको अनुभव लिएर नेपालले पनि ब्रान्डेड वस्तुहरु उत्पादनमा जोड दिन सक्ने पनि स्मरण गराए।
नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दुतावास र इन्डियन फ्रेन्जाइज कम्पनीको संयुक्त आयोजनामा आयोजना गरिएको सो सम्मेलनमा ६० वटाभन्दा बढी ब्रान्डेड कम्पनीका उद्यमीहरु सहभागी भएका छन्।