गौतमबुद्ध विमानस्थलको रोकिएको काम सुचारु गर्न प्राधिकरणले दियो १० करोड

 

जेठ १, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुचारु हुने भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक स्रोतबाट तत्कालका लागि १० करोड रुपैयाँ कम्पनीलाई उपलब्ध गराएसँगै विमानस्थलको काम सुचारु हुने भएको हो । 

null

समयमा नै रकम भुक्तानी नपाएको भन्दै विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टले आइतबारदेखि निर्माणको काम रोकेको थियो ।ठेकेदार कम्पनीले बिल अनुसार को रकम भुक्तानी नभएसम्म काम नगर्ने भन्दै निर्माण कार्य रोकेको हो । 

हाल गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको ७० प्रतिशत काम सम्पन्न भएको छ। विमानस्थल ३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। 

आयोजना कार्यालयका अनुसार १ हजार ९ सय मिटर लम्बाई र २३ मिटर चौडाइको ट्याक्सी वे निर्माण सम्पन्न भएको छ। त्यस्तैगरी अन्तर्राष्ट्रियतर्फ ४ वटा र अन्तरिक तर्फ २ वटा पार्किङ वे निर्माण सम्पन्न भएको छ। 

निर्माणाधिन गौतमबुद्ध विमानस्थलको सन् २०१५ जनवरी १५ मा शिलान्यास गरिएको थियो । विमानस्थल निर्माणको काम २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य लिइएको थियो। स्थानीय साझेदार र चिनियाँ ठेकेदारबीचको विवाद र भारतीय नाकाबन्दीका कारण ढिला भएको भन्दै ६ महिना म्याद थप गरेको थियो। 

विमानस्थल निर्माणमा विशेषज्ञता हासिल गरेको चिनयाँ ठेकेदार कम्पनी नर्थवेस्टले ठेक्का सम्झौता अनुसार ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २८ रुपैयाँमा काम गर्दै आएको छ। 

यसमध्ये ४०.५ प्रतिशत एशियाली विकास बैंकको ऋण र १८ प्रतिशत अनुदान लगानी छ। ओपेक कोषबाट ३० दशमलव ५ प्रतिशत ऋण र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत रकममा विमानस्थल निर्माण भइरहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *