बम आतंकः विप्लवको क्रान्ति कि भ्रान्ति ?
हिजो अपराह्देखि राजधानी अशान्त भयो । सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव समुहले ठाउँठाउँमा बम विस्फोट गराउँदा फेरी एक पटक राजधानीको सुरक्षा ब्यवस्थामा खलल पुगेको छ । साथै राजधानीबासीलाई त्रसित पनि बनायो ।
विप्लव माओवादीले आज जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको थियो । त्यसैको पूर्वसन्ध्यामा राजधानीको मुटु अनामनगर घट्टेकुलो, सुकेधारा, ग्वार्को र नागढुंगामा भएका छुट्टाछुट्टै विस्फोटमा ४ जनाको ज्यान गएको छ । विस्फोटमा परी ज्यान जानेहरु मध्ये दुई जना आफ्नै कार्यकर्ता भएको प्रहरीको भनाई छ । मृतक दुई जनाको भने सनाखत हुन सकेको छैन ।
null
नागढुंगामा कुकर बम बोकेर ल्याउँदै गर्दा विस्फोट भएको छ । राजधानीमा मात्रै हिजो सात जना घाइते भए । आजको बन्द सफल गराउनका लागि गरिएको योजनाबद्ध विस्फोटमा विप्लवका आफ्नै कार्यकर्ता परे । हिजो अपरान्हका घटनाले राजधानी बासीको मनमा पुनः त्रास पैदा गरिदिएको छ । आज राजधानी अन्य दिनका बन्द भन्दा बढि बन्द भएको छ । अरुबेलाका बन्दमा खुलेआम चल्ने सार्वजनिक बस थन्किएका छन् । मुख्य सडक खुल्ला छन् । गल्लीमा हिजोको बम र बारुदकै चर्चा छ । गृहिणीहरु अब पुनः नाकाबन्दीमा जस्तो राशनपानी नै पो बन्द हुन्छ कि ! भन्दै चुले गफ गर्न थालिसके । एक हिसाबले हिजोको घटनाले राजधानीबासीलाई पुनः द्वन्द्व सुरु हुने होकि भन्ने शंका थपिदियो ।
एकै दिन राजधानीका संवेदनशील क्षेत्र तथा घना मानववस्ती क्षेत्रमा भएका श्रृंखलाबद्ध बम विस्फोटले विप्लव माओवादीको निशाना अब ग्रामिण इलाका हैन की देशकै राजधानी उपत्यका बन्दैछ । सरकारले देश नै खण्डित गर्ने अभियानका सिके राउतलाई वार्तामा बोलाएर विप्लवलाई प्रतिबन्ध लगाउँदा विप्लव समुह आक्रोशित थियो । त्यही आक्रोशको रुप आजको विस्फोट हो वा अझ त्यो भन्दा ठूलो त्राहिमामको शंकेत हो अहिल्लै नजरअन्दाज गर्न सकिने अवस्था त छैन । तथापि, एकै दिन राजधानीका विभिन्न स्थानमा भएका विस्फोट, कार्यकर्ताहरुको चहलपहलले विप्लवले अब राजधानी केन्द्रित गतिविधि गर्दैछ भन्ने शंकेत देखिएको छ ।
विस्तृत शान्ति सम्झौतापछि शान्त रहेको राजधानी १३ वर्षपछि अशान्त भयो । विप्लव समुहका कार्यकर्ता नै बम विस्फोटमा पर्नु र विस्फोट स्थलमा भोली आब्हान गरिएको बन्दका पर्चा भेटिनु संयोग हैन । ३ महिना अघि नख्खु विस्फोटबाट सुरु भएको विप्लवको हिंसाको राजनीतिले हिजोसम्ममा ५ जनाको ज्यान लिइसकेको छ ।
सुदुरपश्चिमका रुकुम, रोल्पा, दार्चुला, कर्णाली जस्ता भौगोलिक विकट क्षेत्रमा आधारशीला बनाएको विप्लव माओवादी मुलुककै ठूलो सुरक्षा ब्यवस्था भएको राजधानी केन्द्रित हुनु राज्यका लागि ठिक हैन । हिजोको विस्फोटले विप्लव समुह अब राजधानीलाई नै अशान्त बनाएर राज्यका सबै निकायलाई चुनौति दिन खोज्दैछ भन्ने संकेत आएको छ । यसले मुलुकलाई पुनः १३ वर्ष अघिको अवस्थामा धकेल्दैछ ।
विप्लवका गतिविधिलाई सुक्ष्म ढंगले केलाएको नेपालको सुरक्षा निकायले विप्लवबाट मुलुकलाई कुनैपनि बेला खतरा हुन्छ भन्ने जनाउ नदिएको हैन । तर, राज्य चलाउने अथवा सरकारमा रहने नेकपाले यस कुरालाई नजर अन्दाज गरेन । अझ नेकपाका अध्यक्ष मध्येका प्रचण्डले विप्लवलाई भुसुना सम्झिए ।
त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत ज्ञानेन्द्र शैलीमा वार्तामा नआए सिध्धिने भाषण गर्दै वर्षौदेखि स्वतन्त्र मधेशको माग गर्दै आएका सिके राउतसँग वार्ता गरे । राउतलाई अंकमाल गर्दै फुलमाला लगाई दिएर विप्लवलाई आतंककारीको विल्ला भिडाइदिए । यसैले विप्लवलाई पुनः हिंसाको बाटो रोज्न बाध्य पार्यो कि ! सरकारले विप्लव समुहलाई बारम्बार बार्ताको टेवलमा बोलाएको बताएपनि विप्लव समुहले अहिलेसम्म नबोलाएको बताइरहेको छ ।
३ महिना अघि नै विप्लवलाई प्रतिबन्ध लगाएको सरकारले त्यसपछि वार्ताका लागि औपचारिक आग्रह, पत्राचार गरेको सुनिएको पनि छैन । सरकार विप्लवलाई पेलेरै लाने नियतमा छ । नत्र भने, स–साना समुहसँग पनि सहमति गर्दै आएको सरकारले विप्लवलाई चैं किन बुझ्न सकिरहेको छैन । यसमा कतै गृहमन्त्री र नेकपा अध्यक्ष प्रचण्डकै निर्देशन त छैन । विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउँदा आफुहरुलाई नै खतरा हुने होकी भन्ने त्रास बादल र प्रचण्डमा त छैन ?
एउटा शास्वत सत्य, हिँसाको विकल्प हिँसा हैन । यदी त्यसो हुन्थ्यो भने, संसारका बडेबेडे तानाशाहहरु शान्तिका अगाडी घूँडा टेक्दैनथे । दुई दुई वटा विश्वयुद्ध भए, करोडौं मान्छे मरे । तर, कुनै तानाशाही बलियो भएनन् । कुनै हिटलर, मुसोलिनी अमर भएनन् ।
हामीसँग १० वर्षको शशष्त्र द्वन्द्व अझै ताजै छ नी । १० वर्षमा १७ हजार मान्छे मारेर पनि अन्ततः शान्तिको बाटो नै अपनाएको हैन र ? भारतमा विश्वसाम्राज्य खडा गर्न हिँडेको ब्रिटिसलाई एक जना महात्मा गान्धिको अहिंसाको आन्दोलनले धुलिसात पारेको हैन ? एशियाका ज्योति गौतम बुद्धले कहिल्लै हिँसाले विश्व जित्न सकिन्छ भने र ?
हिँसा क्षणभरका लागि जनजिवनमा त्रास पैदा गर्ने माध्यम मात्र हो । यसले कसैलाई दिर्घकालिन लाभ दिँदैन । विप्लव आफैं १० वर्षको शशष्त्रद्वन्द्व हुँदै शान्तिपुर्ण मार्गमा आएको पार्टी (तत्कालिन नेकपा माओवादी) का एक जिम्मेवार राजनीतिज्ञ थिए । आस्था र विचारका आधारमा पार्टीले शान्तिपुर्ण बाटो अवमुल्यन गर्दा उनलाई चित्त बुझेन । ठिक छ, लोकतन्त्रमा कुनै विचार र सिद्धान्तसँग बैचारिक असहमति राख्न सकिएला तर, कसैको विचार र सिद्धान्तलाई नामेट गर्ने नाममा निहत्था जनतामा त्रास पैदा गरेर, उनीहरुको रगतसँग राजनीति गर्नु कत्तिको न्यायोचित हो ?
विप्लवको द्वन्द्व राज्यसँग हुन सक्छ, दैनिक गुजारा गरेर खाने सर्वसाधारण जनतासँग हैन । विप्लवको मतभेद कुनै विचारधारासँग होला, तर, बाटोमा मकै पोलेर गुजारा गर्नेसँग हैन । यहाँ त विप्लवले राज्यसत्तालाई चुनौति दिने नाममा सर्वसाधारणलाई ढाल बनाइरहेका छन् । बाटोबाटोमा डाइनामाइट विछ्याइरहेका छन् । जुन सरासर गलत हो ।
कमरेड विप्लव, यदी जनताका लागि तिमीले संघर्ष गरेका हौ, जनताको मुक्तिका लागि हतियार उठाएका हौ भने बाटबाटोमा बम राखेर निर्दोष जनताको रगतको होली नखेल । यसले तिम्रो राजनीति उद्देश्य पुरा हुँदैन । अरु, जनतामा तिमीप्रति घृणा र आक्रोष बढ्छ । निर्दोष जनताको रगत बगाएर क्रान्ति हुँदैन । तिमीले चलाएको हतियारले समाजमा क्रान्ति हैन भ्रान्ति छर्दैछ । भोली हतियारको भ्रान्ति तिमीतिरै नसोझिएला के बेर ?
माओवादी जनयुद्धमा पनि कतिपय ठाउँमा जनताले तिमीहरुलाई प्रतिक्रार गरेका हैनन् र ?