‘जनगणनाजस्तै पशुगणनापनि हुनुपर्छ’

काठमाडौं, ९ जेठ । नेपालमा पशु कल्याणको सवलीकरणका लागि सञ्चारमाध्यमको भूमिका नामक अन्तरक्रिया सम्पन्न भएको छ । बिहीबार स्नेहाज केयरको आयोजनामा सम्पन्न भएको अन्तरक्रियामा सरोकारवालाहरुले पशु कल्याण स्थापनाको लागि कानूनको अभाव औंल्याउँदै भएका कानूनहरुको पनि प्रभावकारी कार्यान्वयनमा समस्या रहेको टिप्पणी गरेका छन् । 

कार्यक्रममा बोल्दै पशु सेवा विभागका महानिर्देशक डा. वंशि शर्माले पशुको कल्याण नै विभागको मूल मन्त्र रहेको सुनाए । ‘हामीले अहिले पशु कल्याणको लागि काम गरिरहेका छौं । पशु कल्याण निर्देशिका पनि जारी गरिसकेका छौं ।’ उनले भने । शर्माले छाडा पशुहरुलाई हेर्ने जिम्मेवारी आफूहरुको नभएर स्थानीय निकायको भएको पनि जिकिर गरे ।  

 

null

पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव डा. कृष्णचन्द्र पौडेलले पशु कल्याणको आगामी कार्यदिशाको बारेमा प्रकाश पारेका थिए । उनले पशु कल्याण प्रवद्र्धनका लागि मिडियाको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे । 

पशुलाई पनि मानवलाईजस्तै पीडा हुने भएकोले पशुलाई मानवीय व्यवहार गर्नुपर्ने उनको धारणा थियो । उनले सबैले पशुपन्छीहरुको हितमा काम गर्नुपर्ने सुझाए । उनले जनगणनाजस्तै पशुगणनापनि हुनुपर्ने बताए । 

वातावरण कानूनका ज्ञाता अधिवक्ता पदम बहादुर श्रेष्ठले पशुहरुको अधिकारको लागि सम्बन्धित निकायलाई निरन्तर घचघचाउँदापनि कुनै सुनुवाई नभएकोमा गुनासो पोखे । श्रेष्ठले पशुहरुको अव्यवस्थित ढुवानीलाई व्यवस्थित गर्नको लागि पनि सरकारसमक्ष आग्रह गरे । 

ओआई फोकल प्वाईन्टका प्रतिनिधि डा. किरण पाण्डेले पनि आफुहरु विगत लामो समयदेखि पशु कल्याणसम्बन्धी काम गर्दै आएको सुनाए । ‘छाडा पशु व्यवस्थापनका लागि गौशाला निर्माण सहयोग जुटाएर गर्छौं ।’ उनले भने । 

कार्यक्रममा स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले विगत ५ वर्षदेखि पशु कल्याणसम्बन्धी काम गर्दै आएको सुनाईन् । उनले पशु कल्याणलाई प्रभावकारी बनाउनको लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको सुनाउँदै आगामी दिनमा पनि यसको भूमिका अझै सशक्त हुनुपर्नेमा जोड दिईन् । 

नेपालमा पशुकल्याण ज्यादै कम बहसको विषयवस्तुको रुपमा रहेको अवस्थामा स्नेहाज केयरले यस विषयलाइ जनमानसमा ल्याउन र पशुकल्याणलाई समाजमा स्विकार्य बनाउनका लागि सहजिकरण गर्ने कार्यमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *