घरको भगवानलाई रूवाएर मन्दिरमा राखिएको पत्थरको भगवान पुज्नुको के अर्थ ?

 

युद्ध शब्द आफैँमा भयानक लाग्छ । साह्रै अप्रिय र कर्णकटु लाग्छ । बिडम्बना, मानव सभ्यताको अधिकांश इतिहास युद्धले भरिएको छ । नेपालको इतिहास पनि त्यसको अपवाद छैन । पृथ्वीनारायण शाहको नेतृत्वमा भएको नेपाल एकीकरणको युद्ध भनौं वा राणा शासन बिरूद्ध नेपाली काँग्रेसले गरेको लडाइँ वा पन्चायत बिरूद्ध अहिलेका एमाले नेताहरूले गरेको संघर्ष वा पछिल्लो माओवादीको नेतृत्वमा भएको जनयुद्ध । 

यी सबै युद्ध र आन्दोलनहरूमा गरेर हजारौं हजार मानिसहरूको ज्यान गएको छ । लाखौं लाखको अंङ्ग भंङ्ग भएको छ । नानीहरू टुहुरा भएका छन्,आमाहरूको काख रित्तिएको छ, चेलीहरूको सिन्दुर पुछिएको छ । घरबार बिहीन भई बिस्थापित हुनेहरूको त कुरै नगरौं । तर, पनि समयसँगै सबैले आफूलाई सम्हाल्दै आएका छन् । किनकि, यी सबै देशको लागि थियोस परिबर्तनका लागि थियो । 

null

तर, अचेल मान्छेमा नैतिकता स्खलित भइरहेको छ । मानवता मरिरहेको छ । आशा निराशामा रूपान्तर भइरहेको छ । सरकार सुतिरहेको छ । हामी नागरिक तमासे बनिरहेका छौं । अझ यसो भनौं, हामी सबै आ-आफ्नो स्वार्थमा ब्यस्त छौं । आ-आफ्नै खुसीमा मस्त छौं । आजकल आफूजस्तै अरू मान्छेको दुःखले हाम्रो मुटु दुख्दैन । पीडा र वेदनाले हाम्रो मन रूदैन । मानौं हामी मान्छे होइनौं, चौरास्ताको शालिक हौं । 

व्यक्ति-व्यक्तिमा विश्वासको संकट, घर-घरमा विग्रह, समाजमा मूल्य, मान्यताको विघटन आजको नेपाली समाजको विशेषता बन्न पुगेको छ । देशको शैक्षिक तथ्यांक हेर्दा वर्षैपिच्छे साक्षर, शिक्षित र उच्च शिक्षा हाँसिल गर्नेहरूको संख्या बढेकै छ । तर, समाजमा विकृति विसंगतिको ग्राफ दिनानुदिन बढिरहेको छ । 

मागेजति दाइजो पाइँन भनेर श्रीमतीलाई जिउँदै आगो लगाउने, सम्पत्ति कमाउने र अंश खाने छोरो जन्माइन भनेर श्रीमतीलाई यातना दिने, दाजुभाइमा अंशको लोभमा काटमार गर्ने, सम्पत्तिको लोभमा आफैँलाई जन्मदिने आमा-बाबुलाई बृद्धाश्रममा लगेर बिचल्ली पार्ने, जतिसुकै अनैतिक तबरले वा हत्याहिंसा गरेर भए पनि सम्पत्ति कमाउने जस्ता कामहरू पनि समाजमा भइरहेको छ । त्यस्तै सानाले ठुलाको सम्मान नगर्ने, ठुलाले सानोलाई मायाँ नगर्ने, आपतमा एकले अर्कालाई सहयोग नगर्ने, समाज र देशको भन्दा आफ्नो मात्र हित हेर्ने जस्ता अराजक र स्वार्थीहरू पाइलैपिच्छे भेटिन थालेको छ । 

अवसर र जिम्मेवारीको नाममा बाबु-आमा र पुरानो पुस्तालाई बेवारिस बनाउनु चाहिँ नैतिकता र मानवीय मूल्य गुमाउनु हो । जब मान्छेमा नैतिकता र मानवीयता बाँकी रहन्न तब मान्छे, मान्छे नभएर पशु बन्दछ । आमा-बाबु भनेका जिउँदो भगवान हुन् भने पुरानो पुस्ता भनेको जिउँदो इतिहास । घरको भगवानलाई सधैं रूवाएर मन्दिरमा राखिएको पत्थरको भगवान पुज्नुको के अर्थ ? जिउँदो इतिहासको मानमर्दन गरेर इतिहासको पोथा कण्ठ पार्नुको के अर्थ ? 

आखिर किन यस्तो भइरहेको छ ? यसको जिम्मेवार को हो ? अनि समाधान के हुन सक्दछ ? 

पहिलो कुरा भौतिक परिवेश हो । गरिबी र बेरोजगारी हाम्रो देशको मुख्य समस्या हो । बर्षेनी ५ लाख युवाहरू श्रम बजारमा आउने गर्छन् । त्यसमध्ये बढीमा एक लाखले मात्र रोजगारी पाउँछन् । बाँकी चार लाख युवाहरू बेरोजगार हुन्छन् । त्यसको मुख्य कारण भनेको जीवनोपयोगी प्राविधिक शिक्षा नहुनु हो । 

हाम्रो शिक्षा नीति र शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेको छ । तसर्थ, सबभन्दा पहिला हाम्रो शिक्षा नीति परिवर्तन गर्न जरूरी छ । त्यस्तै, देशभित्रै सरकारले रोजगारी सिर्जना गरी बिदेश जाने युवाहरू र देशभित्रै कुलत, दुर्व्यसन र विकृति, विसंगतिमा लागेका युवाहरूलाई काममा लगाउनु पर्दछ । 

दोश्रो कुरा, हामीमा श्रम-संस्कृति हराउँदै गइरहेको छ । काम गरेर खाने सानो र ठगेर, ढाँटेर, भ्रष्टाचार गरेर खाने ठूलो मान्छे हुन्छ भन्ने संस्कृति मैलाइरहेको छ । यसमा हाम्रो घरपरिवार, समाज, शिक्षा र सरकार सबैको दोष देखिन्छ । श्रमविना प्राप्त सम्पत्ति भ्रष्टाचार हो, भ्रष्टाचार अपराध हो भन्ने सन्देश कतैबाट पनि नयाँ पुस्तालाई दिन सकिएको छैन । 

चिहान खोतलेर अपराधी करार गर्दै जाने होभने बिस्तारै खाटा बस्दै गरेको घाउ उकुच नपल्टेला भनेर कसरी भन्ने ? बदलाभावले परिवार,समाज,देश कहिँ पनि शान्ति ल्याउँदैन । बदलाभावको अनिबार्य परिणती हत्या, हिंसा र द्वन्द नै हो । के हामी फेरि अर्को द्वन्द चाहन्छौं ? पक्कै चाहँदैनौं । हामी चाहन्छौं-एकता, शान्ति र समृद्धि । 

मान्छे, क्षमाशील प्राणी हो । त्यही भएर ठुलठुला युद्धपछि पनि मान्छेले मिलेर सुन्दर सभ्यताहरूको सिर्जना गरेका छन् । मलाई लाग्छ, बुद्धभूमिका हामी नेपालीहरू झनै बढी क्षमाशील छौं । मेरो अनुरोध छ, हामी अझै क्षमाशील बनौं । एकता, शान्ति र समृद्धिको लागि सबै मिलेर अघि बढौं । समाजमा असल संस्कृति निर्माण गर्दै अघि बढौं र सभ्य सुसंस्कृत समाजको निर्माण गरौं । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *