‘दोबाटाको चुच्चे ढुङ्गालाई साक्षी राखी गर्दिनँ भनेको काम नगर्ने इमान भएको नेपालीले भ्रष्टाचार गर्नै सक्दैन’

 

वैशाख १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, विकास र समृद्धिको नीतिगत, कानुनी र संरचनागत जगमा उभिएर विकास र समृद्धिको यात्रा तीव्र गतिका साथ अघि बढाउने दाबी गरेका छन् । 

नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले सम्पूर्ण स्रोतहरु समृद्धिमै खर्चेको बताए । 

null

अबको नेपाली समाजको मूल प्रवृत्ति शान्ति, एकता र विकास भएको बताउँदै प्रम ओलीले भने, ‘विकासको लागि सरकार के गर्दैछ त ? म ठान्दछु, आज नखोजिए, भोलि, भोलि नखोजिए पर्सी– यी प्रश्नहरु आफैं उत्तर बनेर जनताको जीवनमा आउँनेछन् । हाम्रा कामहरुले आफ्नो जीवनमा ल्याएको परिवर्तन जनताले स्वतः महसुस गर्नेछन् । प्रश्न सोध्नेका लागि सरकार, तथ्य र तथ्याङ्क सहित जवाफ दिन तयार छ ।’ 

यस्तै उनले सरकारले थालेका रोजगारी र लगानीका विभिन्न कार्यक्रमहरु समृद्धिका हिस्सा भएको स्पष्ट पारे । भ्रष्टाचारको गन्ध पनि नसहने दाबी गर्दै आएका प्रधानमन्त्रीले भ्रष्ट र अनैतिक मान्छे नेपाली हुनै नसक्ने बताए । ‘सुशासनको शत्रु भ्रष्टाचार हो । ‘भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा ‘मुखमा पानी हालेर नबोल्ने– भ्रष्टाचारीलाई कारवाही गर्दा त्यसको मुख नहेर्ने’ मेरो दृढ सार्वजनिक घोषणा हो । भ्रष्टाचार र अनैतिकता हाम्रो संस्कार हैन । परम्परा हैन । हामी नेपाली मिहेनत र पसिनाको कमाइमा विश्वास गर्छौं । तामो–तुलसी छोएर वा कण्ठी समाउँदै धर्म भाकेर, बर–पिपल वा दोबाटाको चुच्चे ढुङ्गालाई साक्षी राखी गर्दिनँ भनेको काम/कुरा नगर्ने इमान भएको जाति नेपाली हो । तसर्थ, भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली होइन, हुनै सक्दैन ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको लागि आफू निरन्तर क्रियाशील रहेको पनि सम्बोधनमा उल्लेख गरेका छन् । उनले आफू दैनिक १८ घण्टा सक्रिय रहेको बताए। 

प्रधानमन्त्रीले जनतासँगको सम्बादका लागि आफू एक वर्षमा ७७ मध्ये २९ जिल्लाको भ्रमण गरेको यस अवधिमा ३१४ वटा औपचारिक कार्यक्रममा सहभागी भएको पनि उनले जानकारी गराएका थिए । 

यस्तै उनले आफ्नो नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिँदै गरेको दाबी गर्दै घरजग्गा कारोवार, संगठित तस्करी, हुण्डी कारोबार तथा विदेशी विनिमय अपचलन, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अवाञ्छितरअनुचित कामको छानबिन जारी राखेको र दोषीलाई कारवाहीको दायरामा ल्याउने बाचा गरे । 

उनले भने, ‘जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरू धमाधम फिर्ता गरिँदै छन्, गरिँदै जाने छन् । राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट दिने छैन । ती कार्यको परिणामबाट परेको सकारात्मक असर सार्वजनिक नै छ । हामीलाई थाहा छ, भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण छ र यसले लामै समय लिन्छ । तर जुनसुकै मूल्य चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरी छाड्ने अभियानमा म प्रतिवद्ध छु ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *