चैत्र २९ गते राष्ट्रिय नाचघरमा ‘युगल साँझ’ को आयोजना गर्ने

 

चैत्र २२,  काठमाडौं । चर्चित लोक गायक एवम् वरिष्ठ बाद्यवादक खर्क बहादुर बुढा मगर र उनकी धर्मपत्नी लिलावती बुढा मगरले यही चैत्र २९ गते काठमाडौंको जमल स्थित  राष्ट्रिय नाचघरमा ‘युगल साँझ’ को आयोजना गर्ने भएका छन् ।  

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा सल्यान सरोकार समाजले उक्त ‘युगल साँझ’बारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गायक बुढामगरले उक्त साँझको सम्पूर्ण तयारी भैसकेको स्पष्ट पारे । उनका अनुसार युगल साँझ दिउँसो २ बजेदेखि सुरु हुनेछ । उक्त साँझ उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा भव्य र सभ्य रुपमा सम्पन्न हुने गायक दम्पत्तिले विश्वास दिलाए । 

null

सगरमाथा टेलिभिजनबाट ३ घण्टा ३० मिनेट प्रत्यक्ष प्रशारण हुने उक्त कार्यक्रममा कम्तिमा १२ वटा गीत प्रस्तुत गर्ने पनि गायक बुढामगरले जानकारी दिए । उनले भने,‘विशेषगरि सल्यानमा नाचिने पैंसेरुँ, सोरठी र टप्पा नाँच पनि हामी प्रस्तुत गर्छौं । यी पौराणिक, मौलिक नाचको प्रस्तुतीका लागि सल्यानबाटै स्थानीय कलाकारहरु आउनेछन् । यसबाट सल्यानकोमात्र नभई सम्पूर्ण कर्णालीको संस्कृतिको एउटा पाटोलाई झल्काउने छ ।’ 

आफ्नो सांगितिक यात्राको दौरानमा करिब २०० वटा लोकगीतहरु यो जोडिले रेकर्ड गरिसकेको छ । उनीहरुका व्यवसायिक भन्दा मौलिक र स्थानीय लोकगीतहरु रहेका छन् । खर्क बहादुर बुढा मगर गायकमात्र नभएर नेपालकै अब्बल बाद्यवादक हुन् । उनको ३१ वर्षे सांगितिक यात्रामा करिब २५००० (पच्चिस हजार) भन्दा बढी नेपाली लोकगीत तथा संगीतमा मादलका तालहरु रेकर्ड गराएका छन् । उक्त युगल साँझको दिन मादलको मात्रै एउटा सोलो प्रदर्शन उनी लगायतको समुहले गर्नेछ । 

मादल वादकको इतिहास हेर्ने हो भने खर्क बहादुर बुढालाई “मादल सम्राट” को उपाधिले विभुषित गर्दा उनको यसप्रतिको साधना र लगावको सम्मान हुने सल्यान सरोकार समाजको भनाई छ । 

समाजले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘जसको लागि यस समाजले उक्त उपाधि दिलाउनका लागि अभियानकै नेतृत्व गर्ने जानकारी पनि यहाँ गराउँदछौं । तर यो अभियानमा तपाईं पत्रकार ज्यूहरुको सहयोग विना कल्पना पनि गर्न सकिंदैन । यो कार्यक्रमको मुख्य उद्देश्य सल्यान र कर्णाली प्रदेशको लोक संस्कृतिको संरक्षण, प्रचार–प्रसार र अन्तराष्ट्रिय स्तरको नेपाली प्रतिभा उत्पादन गर्नु रहेको छ ।’ 

उक्त ‘युगल साँझ’ कार्यक्रमलाई सम्पन्न गर्नको लागि सल्यानका १० वटै स्थानिय सरकार, कर्णाली प्रदेशको पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, बैंकहरुको विशेष आर्थिक सहयोग रहेको पनि समाजले स्पष्ट पारेको छ । त्यस्तै, अन्य गैर–सरकारी संघ–संस्था र थुप्रै शुभचिन्तकहरुले साथ सहयोगको आश्वासन दिएको पनि समाजले जनाएको छ । 

विज्ञप्तीमा थप भनिएको छ,‘टिकट काटेर सहयोग गर्नेहरु पनि थुप्रै हुनुहुन्छ । सम्पूर्ण तह र तप्काबाट आएको साथ सहयोग र आश्वसनले हामी उत्साहित भएका छौं । उक्त दिन टिकट काटेर आउने सबैलाई खाजाको रुपमा मःमः को पनि व्यवस्था गरेका छौं । साथमा यस समाजको नयाँ वर्ष २०७६ को आकर्षक भित्तेपात्रो पनि वितरण गर्ने छौं ।’ 

कार्यक्रमबाट बचत भएको रकम संस्थाको अक्षयकोष निर्माणको लागि जम्मा हुने सल्यान सरोकार समाज परिवार अध्यक्ष संघर्ष सदिक्षा घर्तीले जानकारी दिईन् । उक्त कोषबाट आउने वार्षिक ब्याजले सल्यानबाट आउने विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई विगतमाझैं आउने दिनमा पनि सक्दो आर्थिक सहयोग गरिने उनले बताईन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *