२०७६ सालमा पनि भूकम्प जान सक्छ ? राजनैतिक अवस्था कस्तो रहला ? २०७६ सालका केही भविष्यफलहरु

 

चैत २४, काठमाडौं । यो वर्ष को राजा पदमा शनि र मन्त्री पदमा सूर्य नियुक्त छन् भने परिधावी नामको संवत्सर रहेको छ । सूर्य ग्रह र शनि बिच शत्रुता एवम् वैरभाव उत्पन्न हुने गर्छ । फलस्वरूप राष्ट्रमा अराजकता र राजनैतिक दृष्टिकोणले अत्यन्तै दुर्भाग्यपूर्ण परिस्थिति सिर्जना गर्न सक्छ । यो वर्षको जगत् लग्न कुण्डली गणना गर्दा कन्या राशिमा प्रवेश गरेको छ । 

यो वर्षको मौसम 

null

यो वर्ष जलवायु परिवर्तनले छुट्टै रुप लिनेछ भने विश्व समुदायमा योसँग सम्बन्धित छुट्टै ध्यानाकर्षण रहनेछ । चतुर्थ स्थान पुरै पाप प्रभावित रहेकोले खेतीयोग्य जमिनमा संकट आउन सक्ने, समयमा पानी पर्न नसक्ने, उत्पादनमा कमि आउने, किसानहरु समस्यामा पर्ने आदि हुनसक्छ । तर चन्द्रमाको अवस्था स्वराशिमा आय भावमा भएकोले पशुपालन वा दूध उत्पादनमा भने राम्रै वृद्धि हुन सक्ने देखिन्छ । 

राजनैतिक अवस्था 

राजनैतिक अवस्थामा यो वर्ष बिगतमा भन्दा अझ बढी खलबल मच्चिनेछ । सत्ता परिवर्तन, रुहेरफेर, मत्रीमण्डल विस्तार, मध्यावधि चुनाव, सडक आन्दोलन आदि जस्ता प्रभावहरु फाल्गुन सम्ममा हुने प्रबल सम्भावनाहरु देखिन्छ भने यो वर्ष पनि विगतको वर्ष जस्तै शनि र सुर्यको जुधाईले गर्दा ठुला दुर्घटना, राष्ट्रका विशिष्ट व्यक्तिको हानी, कानुनमा समस्या आदि देखा पर्न सक्छ । 

२०७५ सालमा पनि राजा सुर्य र मन्त्री शनि रहेका थिए । यो वर्ष राजतन्त्रको माग अत्यन्तै प्रबल रुपले बढ्ने देखिनुका साथै राजतन्त्र पुनस्र्थापनाको सम्भावना वा संकेत पनि कार्तिकको महिनापछि मिल्नेछ । मन्त्री पदको सूर्यको अवस्था अस्टम स्थानमा हुनुले पनि संसदिय अवस्थामा एकता मिल्न नसक्नु वा पार्टी भित्रको बिखण्डनलाई पनि संकेत गरेको हुन्छ । यसले यहाँ सल्लाहकार वा मार्गनिदेशकको अभाव सिर्जना गर्नेछ । 

प्राकृतिक अवस्था 

देशको मध्ये क्षेत्रमा प्राकृतिक विपत्ति झेल्नुपर्ने हुन्छ । भुकम्प, भुक्षय, बाढी पहिरो लगायत भूमिसँग सम्बन्धित समस्या पर्नुका साथै चट्याङ, आगलागी, बिस्फोट वा विद्युतीय दुर्घटना निम्तिन सक्छ । विशेषत असारको, साउनको, कार्तिकको र पौसको महिना प्राकृतिक अवस्थाको लागी राम्रो देखिँदैन । अतिवृष्टी अनि अनावृष्टी दुवै अवस्था झेल्नुपर्ने हुन्छ। बनजङ्गल मासिने वा तस्करी हुने, लग्नेश बुध निच भएकाले हरित प्रभाव कम भइ वातावरणमा असर गर्ने देखिन्छ । 

स्वास्थ्य स्थिति 

मुटुका, पेटका र क्यान्सर लगाएत संक्रमणका बिरामीहरु बढ्नेछन् भने चिकित्सा क्षेत्रमा पनि खलबल मच्चिनेछ । विश्वको कुनै भागमा अनौठो रोग वा भाइरस भेटिनेछ । केमद्रुमको चन्द्रमा र जगलग्नको निच बुधले सुसाइडका घटना बड्ने वा मानसिक बिरामीहरु पनि बढ्ने हुन सक्छन्। यो वर्ष सकारात्मक पक्षलाई विचार गर्नुपर्दा आयुर्वेदको को क्षेत्र फस्टाउनेछ भने नयाँ स्वस्थ्य केन्द्र वा हस्पिटलहरु पनि निर्माण हुनेछ। स्वस्थ्य क्षेत्रमा सरकारले पनि राम्रै नीति वा सुबिधा उपलब्ध गराउनेछ । 

फिल्मी तथा सञ्चार 

सञ्चारको ग्रह बुधको अवस्था निच हुनु र फिल्म इन्डिस्ट्रीको ग्रह शुक्रको अवस्था राम्रो नहुनुले चलचित्र क्षेत्रमा त्यति ठूलो प्रगती गर्न नसक्ने नै देखिन्छ । यो वर्ष  internet का server हरुमा बेलाबेलामा ठुलै समस्या आउने, hacking/cracking ले गर्दा अनलाइन अर्थतन्त्रमा समेत ठूलो नोक्सान ब्योहर्नुपर्ने हुनसक्छ । digital प्रविधि मा समस्या वा अवरोध आउनु, satellite हरुले पनि आवश्यक signal दिन नसक्नु, traffic बढ्नु जस्ता नकारात्मक प्रभावहरु देखिन सक्छन्। अर्को कुरा के भने पत्रकारीतामा पनि दुस्प्रभाव पार्न खोज्ने, पत्रकारहरुलाई अप्ठ्यारो परिस्थिति सिर्जना हुने, दबाब बढ्ने आदि हुन सक्छ । टेलिकममा कुनै गढबढ वा असहजता उत्पन्न हुन सक्छ । नयाँ प्रविधिको विकास भने अवश्य हुनेछ। 

अपराधिक घटना 

यो वर्ष मंगललाई भने केही शुभ नै मान्न सकिन्छ । यद्यपि अकस्मात घटना घटाउनुमा राहु शनि आदि ग्रहले पनि प्रमुख भूमिका निर्वाह गर्छन्। राजा पदको शनि प्राकृतिक न्यायकारक पनि भएकाले र बृहस्पतिसँगको युति भएकाले पनि अपराधमा संलग्न अपराधीहरु पत्ता लगाउन, दोषीलाई कारबाही गर्न, चोर तथा डाकाहरुलाई तह लगाउन सजिलो हुने देखिन्छ। सैन्य क्षेत्र बलवान् हुनुका साथै ठुलै उपलब्धता पनि हासिल गर्नेछ । 

देशको आर्थिक अवस्था 

आयस्थानमा चन्द्रमा स्वगृही भएकाले देशको आय भने राम्रै हुनेछ । पश्चिमी शक्तिहरुले देशलाई निकै कब्जामा राख्नेछन् भने आर्थिक सहयोग पनि अन्तर्राष्ट्रिय समुदायबाट मिल्नेछ । ढुङ्गा गिट्टी, बालुवा, कच्चापदार्थ, तरल पदार्थ, मदिरा आदिबाट देशले फाईदा उठाउनेछ भने यसमा करवृद्धी एवं मुल्यवृद्धी पनि हुने देखिन्छ । 

धनेश शुक्र शत्रुस्थानमा भएकाले देशको आम्दानी जति नै भए तापनि बचत हुन नसक्ने र अनावश्यक खर्च ज्यादा हुने देखिन्छ । भ्रष्टाचारको अवस्था चरम अवस्थाबाट नै गुज्रिनेछ। जथमचय उयधभच वा जलिय विषयहरु बाट देशले सुदृढ गर्नुका साथै लाभ पनि प्राप्त गर्नेछ । जलविद्युतमा ठुला आयोजनाहरुको सम्झौता हुनुको साथै विद्युत उत्पादन पनि बढाउनेछ र बिक्री पनि गर्नेछ। 

परराष्ट्र मामिला 

देशको परराष्ट्र मामिला भने त्यति संतुष्टजनक देखिँदैन। पश्चिमी शक्ति र दक्षिणी शक्ति दुवैको दवाबबाट देश गुज्रिनेछ। अझ बढी गुप्त रूपमा दक्षिण पन्थीय सक्रिय रहनेछन् भने देशको स्वाधीनतालाई हानी पुग्ने गरि सम्झौताहरु पनि हुन सक्छन्। 

देशको सार्वभौमसत्ता 

सिमा विवाद अझ धेरै बढ्न सक्छ भने सिमानामा सुरक्षा कमजोर हुने, दबाब बढ्ने आदि पनि हुने सम्भाव्यता रहेको छ । कुनै भागमा आन्दोलन, आवश्यक सामाग्रीमा ढिलाई, पेट्रोलियम पदर्थमा संकट अथवा नाकामा अवरोध जस्ता समस्या सिर्जना हुन सक्छन्। प्रदेशहरुबीच आपसी कलह, प्रतिस्पर्धा वा नयाँ नियम आदिले पनि सर्वसाधारणलाई असहज परिस्थिति निर्माण गर्न सक्छ। 

हवाई प्रणाली एवं यातायात 

शनि र सूर्यको सत्तामा सामान्यतया दुर्घटनाहरु बढ्ने, विष्फोट हुने आदि हुनेगर्छन्। यो वर्ष पनि कुनै न कुनै रूपमा हवाई प्रणालीमा समस्या निम्तने, विवाद उत्पन्न हुने आदि हुन सक्छ भने विमानस्थलका विषयलाई जोड्नुपर्दा विकासको दृष्टिकोणले केही उपलब्धि हासिल गरे तापनि कानूनी अवस्थाले भने विवाद कायम नै राख्नेछ। 

यातायातको विषयलाई हेर्दा नयाँ नियमहरु बन्ने देखिन्छ तर पनि शुक्र र चतुर्थ भावको अवस्था त्यति शुभ नदेखिएकोले उस्तै झमेला, अनियमितता एवं असहजता नै सिर्जना हुन सक्छ। सकारात्मक विषयलाई हेर्नुपर्दा नयाँ रुट बन्ने, ट्राफिक जामको न्यूनीकरणको लागि विशेष पहलहरु अपनाउने, नयाँ मोडलका सवारी साधनहरु भित्रिने, विद्युतिय साधनहरुमा जोड बढ्ने आदि हुनेछन्। 

विकासका कार्य 

ठुला–ठुला विकास निर्माणका कार्यहरूको योजना अगाडी बढ्नेछ । जलविद्युतमा ठुलै लगानी देखि आम्दानी, बाटोघाटोहरुको विस्तार आदि हुनेछ। अर्को महत्त्वपूर्ण सकारात्मक विषय के भने, नेपालको पुरातात्त्विक एवं ऐतिहासिक सम्पदा आदिको संरक्षण, पुनस्थापना गर्नमा विशेष ध्यान पुग्नेछ। यो वर्ष भग्नावशेष रहेका सम्पदाहरु पुनर्निर्माण हुनुका साथै यो विषयमा प्रचार प्रसार पनि बढ्नेछ। विकासका नाममा गरिएको विनाशले गर्दा सर्वसाधारणहरु रुष्ट हुनेछन्। प्राकृतिक स्रोतको खोज, संरक्षण तथा पेट्रोलियम, आणविक खानीको खोज तथा औपचारिक संचालन हुनेछ। 

रोजगार एवं कार्यक्षेत्र 

वैदेशिक रोजगारमा जानेको संख्या बढ्नेछ । यसैगरी कृषकहरू माछापालन, पशुपालन आदिमा प्रभावित हुनेछन्। जग्गा जमिनका कारोबारहरु निकै फस्टाउनेछन्। ठेकेदारी, व्यापार, उद्योग, होटेल व्यवसाय आदिले पनि विशेष रुप लिनेछ । आर्थिक दृष्टिकोणले जनताहरुमा केही सुधारको अनुभुती नै हुनेछ । 

पर्यटकिय अवस्था 

यो वर्ष पर्यटकहरु बढ्नेछन्। पर्यटकिय क्षेत्रमा केही सुधार एवं राहतको अनुभूति गरे तापनि उनीहरुलाई आवश्यक पर्ने सुविधा उपलब्ध गराउन सक्ने छैन । धार्मिक तथा स्थायी पर्यटनहरुको अझ वृद्धि हुने देखिन्छ । 

धर्म तथा राजतन्त्र 

यो वर्ष धर्ममाथी हानी पुर्याउन निक्कै प्रयास गर्नेछन्। अझ अझ वर्षको प्रारम्भदेखि राष्ट्रिय जनावर गाईको विषयमा प्रहार गर्ने, धर्मगुरु, धार्मिक संस्था आदिलाई बन्देज गराउने वा हानी पुर्याउने कदम अघि बढ्ने आदि हुन सक्छ । 

अन्य धर्म वा मिसिनरी हरु सलबलाए तापनि धार्मिक तथा परम्परागत हिसाबले जनताहरु जागरुक हुने, चेतना अभिवृद्धि हुने, हिम्मत बढाउने आदि देखिन्छ । सनातन धर्मको लागि सरकारले कुनै ध्यान नदिए पनि स्थानीय तहरबाट, धार्मिक सम्प्रदायबाट जागरणको अभियान, हिन्दुराष्ट्रको माग आदिको लागि विशेष सक्रिय हुनेछन्। बृहस्पति बक्रको समयमा अर्थात् वैशाखको मध्य दिनहरुदेखी लगभग भदौ सम्मका दिनहरूमा राजा वा राजपरिवारभित्र संकट निम्तिन पनि सक्छ । यद्यपि राजतन्त्रको मागहरु यो वर्ष निकै बढ्ने देखिन्छ। राजतन्त्र स्थापनाको सम्भावना कार्तिक भन्दा पछि प्रवल त देखिन्छ प्रन्तु समय सापेक्ष र संवैधानिक एंव राजनैतिक अवस्थाको कारण पुनस्र्थापनाको लागि अवरोध भने अवश्य नै हुनेछ। गुरुचाण्डालले ज्योतिषको विधामा दाग लाग्ने वा अपमान गर्न खोज्नेहरु पनि आउनेछन् यद्यपि वैदिक धर्म तथा ज्योतिषको सुधार अत्यन्तै हुनेछ। 

शिक्षा क्षेत्र 

शिक्षा क्षेत्रमा भने खलबल मच्चिन सक्छ । बृहस्पति शनि र केतुको नकारात्मक उर्जामा परेकोले शिक्षाको क्षेत्रमा बदनाम हुनसक्ने, अनैतिक व्यापार, अनियमितता आदि हुन सक्ने देखिन्छ । अर्को सुदृढ पक्ष भनेको अन्तर्राष्ट्रिय स्तरमा नेपालबाट प्रतिनिधि गर्ने विद्यार्थीले राम्रो स्थान हासिल गर्ने, प्रतिस्पर्धाहरु बाट इनाम, अवार्डहरु भित्र्याउने देखिन्छ । शिक्षा क्षेत्रको आन्तरिक मामिलामा भने सजगता अपनाउनु पर्ने नै हुन्छ। 

खेलकुद 

खेलकुदमा देशले प्रगति गर्नेछ। अन्तर्राष्ट्रिय म्याचहरुमा पनि राम्रै स्थान हासिल गर्नुको साथै गर्व गर्ने ठाउँ बन्नेछ । रंगशाला लगाएत स्थानीय खेलकुद मैदान निर्माण तथा प्रोत्साहनका लागि राम्रै गतिविधि हुने देखिन्छ। 

-ज्योतिषी राजकुमार आचार्य 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =