‘हामीलाई मुसा बनाउने काम भएको छ’

चैत्र ३०, काठमाडाैं । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारी चिकित्सकको सेवा÷सुविधाका बारेका सरकारले प्रतिवद्धता जनाए आन्दोलन फिर्ता हुने विश्वास दिलाएका छन् । शुक्रबार राजधानीमा आयोजित सात्क्षात्कारमा बोल्दै उनले चिकित्सकको मागका बारेमा सरकार गम्भीर नभएको आरोप लगाए । 

डा. श्रेष्ठले सरकारले चिकित्सा क्षेत्रको मर्म र भावना नबुझी हचुवाको भरमा समायोजन ऐन ल्याएको पनि गुनासो पोखे । ‘यसले भोलि नेपालको स्वास्थ्य क्षेत्रमा दिर्घकालिन असर पर्छ । अहिलेको समायोजनले एउटा तहबाट अर्को तहमा जानै नमिल्ने बाध्यतात्मक अवस्था सिर्जना गरेको छ । हामीलाई संघीयतासँग सरोकार छैन् ।’ उनले भने । 

उनले केही मन्त्रीहरुको बोली अभद्र रहेको पनि टिप्पणी गरे । उनले भने,‘गार्जियनजस्तो व्यक्तिले अभद्र बोली बोल्ने गर्नुभएको छ । चिकित्सक भनेका साधन हुन् । सही तरिकाले प्रयोग गर्नुपर्छ ।’ सरकारले समायोजनमा नजाने चिकित्सकलाई कारबाही गर्छु भनेर धम्की दिएको सुनाउँदै उनले भने,‘चिकित्सकहरुले त राजीनामा नै दिन्छु भन्नुभएको छ । योभन्दा ठूलो कारबाही के हुन्छ ?’ विज्ञहरुसँग सल्लाह नगरी समायोजन गर्ने काम भएको बताउँदै उनले सरकारको यो कदमले चिकित्सकहरुको मनोबल गिरेको गुनासो पोखे । 

null

 

‘सरकारी चिकित्सकहरुलाई समायोजनमा जान कुनै आपत्ति छैन । तर, त्यहाँ गएपछि निस्किने वातावरण छैन । हो, निस्किने वातावरण बनाउनुपर्छ भनेर हामीले भनेका छौं ।’ सरकारी चिकित्सकहरुको आन्दोलनमा नेपाल चिकित्सक संघले एक्येबद्धता जनाएको उल्लेख गर्दै उनले सरकारले कुनैपनि हालतमा नजरअन्दाज गर्न नहुने बताए । त्यस्तै, आन्दोलनरत सरकारी चिकित्सक संघ नेपाल, सघर्ष समितिका उप–संयोजक डा. सुशिलमोहन भट्टराईले स्वास्थ्य मन्त्रालयले आफुहरुमाथि षड्यन्त्र गरेको आरोप लगाए । उनले मन्त्रालयले आफुहरुको अभिभावकत्व निर्वाह गर्न नसकेको गुनासो पोखे । 

उनले सरकारी चिकित्सकहरुलाई सरकारले नै अपहेलित गरेको आरोप लगाए । उनले भने,‘हामी अति भएर छताछुल्ल भएका हौं । बाध्य भएर आन्दोलन गरेका हौं ।’ स्वास्थ्य मन्त्रालयले षड्यन्त्र गरेको र गिरोहको रुपमा काम गरेको पनि उनले गम्भिर आरोप लगाए । उनले सरकारले सरकारी चिकित्सकहरुलाई धराशयी बनाउने काम गरेको अर्को आरोप लगाए । संघीयताको मोडल परीक्षणको नाममा आफूहरुलाई बलीको बोको बनाउन खोजिएको उनको आशय थियो । 

उनले भने,‘एक्सपेरिमेन्टको रुपमा हामीलाई मुसा बनाउने काम भएको छ ।’ समायोजनको नतिजा आगामी दश वर्षपछि देखिनेपनि उनले सुनाए । सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउन नसकेको पनि उनले टिप्पणी गरे । उनले आफूहरुलाई समायोजनको नाममा एउटै तहमा थन्काएर जेलमा हाल्न नपाईने तर्क गरे । उनले भने,‘हामीलाई वैज्ञानिक तवरले समायोजनमा हाल्नुपर्छ ।’ आफूहरु संघीयताविरोधी नभएको पनि उनले स्पष्ट पारे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *