नागरिकता विद्येयक राष्ट्रघाती छ, खारेज गर्नुपर्छ : चित्रबहादुर केसी

  

चैत्र २२ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा पर्ने स्पष्ट पारेका छन् ।  

शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले सदनमा प्रस्तुत उक्त विद्येयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने खतरा औंल्याएका हुन् । ‘नागरिकता विद्येयक सदनमा छलफलकै क्रममा छ, तर मन्त्रिपरिषदको बैठकले देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई अंगीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सर्कुलर जारी गरेको छ । यो अत्यन्तै गम्भिर र गलत कुरा हो ।’ उनले भने । 

null

संसदबाट विद्येयक पारित हुन बाँकी रहेको अवस्थामा सरकारले यसरी ‘सर्कुलर’ जारी गर्नु अत्यन्तै गम्भिर रहेको बताउँदै उनले यसमा आफ्नो पार्टीको आपत्ति रहेको सुनाए । उक्त विद्येयकले नेपालमा जन्मिएका बास्तविक नागरिकहरुलाई नागरिकता दिनबाट बञ्चित गराईने र विदेशबाट आएकाहरुलाई नागरिकता दिने बाटो खोलिदिएको उनको भनाई छ । 

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै तराईमा पुगेर नागरिकता विद्येयकबारे गलत टिप्पणी गरेको भन्दै उनले आपत्ति जनाए । उनले भने,‘यस्तो खालको विद्येयक पारित भयो भने हामी मूल नेपालीहरु अल्पमतमा पर्छौं, र विदेशबाट आएका आगन्तुकहरु बहुमतमा पर्ने निश्चित छ ।’ नेपालमा कांग्रेस, एमाले, माओवादी र राप्रपा जसको नेतृत्वमा सरकार बनेपनि सबैले विदेशीहरुलाई नागरिकता दिने बाटो खोलिदिएको पनि केसीले आरोप लगाए । 

संसदमा प्रस्तुत भएअनुसार विद्येयक पारित भए विदेशीहरु वा आगन्तुकहरु नेपालको राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सेना प्रमुख, प्रधानन्यायाधीशलगायत महत्वपूर्ण पदमा पुग्ने बाटो खुल्नेपनि उनले टिप्पणी गरे । उनले भने,‘त्यसैले यो विद्येयक कुनैपनि हालतमा पारित गर्नुहुँदैन ।’ 

आफ्नो पार्टीले उक्त विद्येयकविरुद्ध देशव्यापी रुपमा प्रदर्शन गर्ने पनि अध्यक्ष केसीले जानकारी दिए । ‘विद्येयकको विरोधमा हामीले हस्ताक्षर अभियान सुरु गरिसकेका छौं ।’ अहिलेपनि नेपालको संघीय संसदमा दर्जनौं अंगीकृत नागरिकको प्रतिनिधित्व रहेको उनको भनाई छ । 

उनले उक्त विद्येयकको विरुद्धमा आफ्नो पार्टीलगायतले चैत्र २४ गते काठमाडौंमा बृहत्त जुलुश निकाल्ने तयारी गरिसकेको पनि जानकारी दिए । ‘देश डुब्ने स्थिति छ, त्यसैले हामी सबै सचेत नागरिक, बुद्धिजीवीहरु एक भएर विद्येयकको विरोध गर्नुपर्छ ।’ केसीले गैरआवासीय नेपालीहरुलाई पनि दोहोरो नागरिकता दिन नहुने स्पष्ट पारे । 

उनले मुख्य दलहरुको असफलता र अकर्मण्यताका कारण राजा फर्किने खतरा रहेको पनि टिप्पणी गरे । उनले भने,‘देशमा राजा फर्काउने खेल भैरहेको छ । सयौं राजा पाल्नुभन्दा एउटै राजा भए हुन्थ्यो भन्ने जनतामा परिसकेको छ ।’ 

कांग्रेस महामन्त्री शशांक कोइरालाले हिन्दूराष्ट्रको कुरा उठाउनु र महासमिति बैठकमा हिन्दूराष्ट्रको माग गर्नुले राजा आउने खतरा आफूले देखेको उनले स्पष्ट पारे । ‘हिन्दूराज्य भनेपछि यसको राज गर्ने त राजाले नै हो ।’ उनले भने । 

मुलुकको लागि संघीयता घाँडो भएको पनि केसीको टिप्पणी छ । उनले भने, ‘संघीयता खारेज गरिएन भने यसले मुलुकलाई खारेजी गर्छ ।’ नेपालका ठूला दलहरुले संघीयता आँफै नबोकेको बरु विदेशीहरुले बोकाएको भारी बोकिरहेको उनको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *