अनुवाद र अनुकूलनको अन्तरसम्बन्धबारे प्रज्ञामा विमर्श

 

चैत्र ९, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभागको आयोजनामा ‘अनुवाद र अनुकूलनको अन्तरसम्बन्ध’ बारे विमर्श भएको छ । हिजो शुक्रबार आयोजित विमर्श कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली साहित्यलाई विश्वसाहित्य बजारमा पु¥याउनका लागि अनुवादको विकल्प नभएको बताए । 

‘विश्वसाहित्य बजारमा नेपाली साहित्यको प्रवद्र्धन गर्ने हो भने अनुवाद अपरिहार्य छ । तर, अनुवाद भने सम्प्रेषणीय हुनैपर्छ ।’ जोशीले अनुवाद कार्यलाई सामान्य रुपमा लिनु नहुने प्रस्ट पार्दै अनुवाद निर्देशिकाको आवश्यकतामाथि जोड दिए । 

null

प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले अनुवाद आजको समयको अत्यावश्यक कुरा भएको धारणा राखे । उनले राष्ट्र र राष्ट्रियताका सम्बन्धमा सबै नागरिक सचेत रहनु पर्ने विचार व्यक्त गरे ।  

कार्यक्रमकी संयोजक तथा अनुवाद विभागकी प्रमुख प्राज्ञ प्रा.डा.उषा ठाकुरले स्रष्टाहरूले राष्ट्रको निर्माण गरे पनि अनुवादकहरूले वैश्विक राष्ट्रको निर्माण गर्नसक्ने जिकिर गरिन् । बिना अनुवाद कुनै पनि राष्ट्रको साहित्य विश्व जगत्मा पुग्न नसक्ने हुनाले अनुवादको महत्व रहेको उनको भनाइ थियो । 

कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराईले ‘अनुवाद र अनुकूलनको अन्तर सम्बन्ध’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उत्कृष्ट अनुवादका लागि अनुकूलनको महत्वबारे प्रकाश पारेका थिए । उनले अनुवादकमा अनुवादका लागि भाषिक–चेतनासँग सँगै सांस्कृतिक–चेतना हुनुपर्नेमा जोड दिए । भट्टराईको कार्यपत्रमाथि प्रा.डा. कृष्णचन्द्र शर्माले टिप्पणी गरेका थिए । 

भारतको दार्जिलिङबाट आएकी साहित्यकार डा.वीणा हाङ्खिमले कार्यक्रममा अनुवादकमा इमान्दारिता, सिर्जनशीलता, भाषिक प्रबलता, शब्द भण्डार र प्रस्तुतिमा कौशलताको आवश्यकता पर्ने विचार प्रकट गरिन् । प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले अनुवाद र अनुकूलनको अन्तर सम्बन्धबारेको विमर्श कार्यक्रम उपलब्धिमूलक रहेको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *