शाही युवा शक्ति भन्छ ‘केपी ओली गणतन्त्रका अन्तिम प्रधानमन्त्री’

काठमाडौं, १४ चैत । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गणतान्त्रिक व्यवस्थाका अन्तिम प्रधानमन्त्री हुने शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले बताएका छन् । आज रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले उक्त कुरा बताएका हुन् । 

शाही युवा शक्ति, नेपालले यही चैत्र २१ गते गणतन्त्रको विरुद्धमा काठमाडौंमा बृहत्त शक्ति प्रदर्शन गर्ने घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले ओलीको कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको समेत ठोकूवा गरेका छन् । 

 

null

‘अब केपी ओली गणतन्त्रका अन्तिम प्रधानमन्त्री हुन् । उनको कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको छ । त्यसैले राजा नआई देशको अस्तित्व जोगिँदैन् ।’ खड्काले भने–‘शाही युवा शक्ति एक दशकदेखि राजतन्त्रको माग गर्दै संघर्षमा छ । हामीलाई अहिले लाखौं जनताको साथ र सहयोग छ ।’ 

खड्काले हत्या, हिंसा र युद्वको माध्यमबाट राजनीतिमा स्थापित भएकाहरुले नै मुलुकलाई एकतावद्ध बनाउने धरोहर र राष्ट्रनायकका शालिक ढालेर सुख–सयल गरेको आरोप समेत लगाए । ‘तर, शाही युवा शक्तिले ढालिएका शालिकहरु उठाएर देखाएको छ । हामी निरन्तर राजतन्त्र पुनर्स्थापनाको आन्दोलनमा जुटेका छौं ।’ उनले भने । 

आफ्नो स्थापनाको ७ औं वार्षिकोत्सवको अवसर पारेर गणतान्त्रिक व्यवस्थाको विरुद्धमा र राजतन्त्रको पुनर्स्थापनाको माग गर्दै काठमाडौंको प्रदर्शनीमार्गमा बृहत्त प्रदर्शन गर्न लागिएको अध्यक्ष पशुपति खड्काले जानकारी दिए । उनले चैत २१ गतेको बृहत्त शक्ति प्रदर्शनको पूर्व सन्ध्यामा काठमाडौंका विभिन्न ठाउँमा कोणसभा तथा भेला आयोजना गरिएको जानकारी दिए । 

कार्यक्रममा शाही युवा शक्ति, नेपालका केन्द्रिय प्रवक्ता गोविन्द ढुंगाना, केन्द्रिय सदस्यहरु प्रदीप सिंह थापा र राजकुमार महर्जन, र ललितपुर जिल्ला सल्लाहकार मुस्कान कार्कीलगायतले राजतन्त्र पुनर्स्थापनाको बारेमा आफ्नो धारणा राखेका थिए । उनीहरुले चैत २१ गते आयोजना गरिने बृहद् शक्ति प्रदर्शनको लागि आजैबाट घरदैलौ कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी गराएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *