नेपाल र जापानबीच सोमबार श्रम सम्झौता हुँदै

 

चैत १०, काठमाडौँ । नेपाल र जापानबीच सोमबार श्रम सम्झौताका लागि हस्ताक्षर हुने भएको छ। आगामी अप्रिलबाट कार्यन्वयन हुने गरी ५ वर्षका लागि दुई देशबीच सम्झौता हुने भएको हो । 

नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव र नेपालस्थित जापानी राजदूतले सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् । 

null

कामदार आपूर्तिका धेरै विषय दुई देशको संयुक्त कार्यदलले टुंग्याउने गरी श्रम मन्त्रालय श्रोतले जानकारी दिएको छ। सोमबार श्रम सम्झौता भएतापनि अहिले नै नेपाली कामदार जापान जाने सबै प्रक्रिया प्रष्ट भएको छैन । 

जापान सरकारी संयन्त्रबाटै कामदार पठाउने सहमती भइसकेको छ। तर वार्षिक कति कामदार पठाउने, जापानिज भाषाको पाठ्यक्रम कस्तो हुने र सीप परीक्षणको मापदण्ड कस्तो हुने भन्ने टुंगो लागिसकेको छैन। यी सबै विषय संयुक्त प्राविधिक समितिले टुंगो लगाउने छ। रोजगारीका लागि नेपाली श्रमिक जापान पठाउन सरकारले वैदेशिक रोजगार विभाग अन्तर्गत रहने गरी छुट्टै संयन्त्र निर्माण गर्न लागेको हो । यो संयन्त्र दक्षिण कोरियाको ईपीएस जस्तै हुने मन्त्रालयले जनाएको छ । 

जापानमा नेपाली श्रमिकले त्यहाँका स्थानीयले पाउने सरहको सुविधा पाउने छन् । जापानको कानुन अनुसार स्थानीय र प्रवासी श्रमिकको बिचमा भेद्भाव गर्न पाइने छैन। जापानले त्यहाँका निजी क्षेत्रसँग समन्वय गरेपछि मात्रै कति नेपाली श्रमिक लैजाने भन्ने टुंगो लाग्ने जनाएको छ। श्रमिक आपूर्ति गर्न जापानका चारवटा मन्त्रालयको संलग्नता रहने छ । 

जापानले नेपाली श्रमिकका लागि कोटा निर्धारण गरेपछि त्यहाँ स्थित नेपाली दूतावासमा माग पत्र बुझाउने छ। दूतावासले माग प्रमाणिकरण गरेर वैदेशिक रोजगार विभागको सफ्टवेयरमा अपलोड गरेपछि मात्रै जापान लागि रोजगारीको आवेदन खुल्नेछ। 

तर जापानले दक्ष कामदार मात्रै लिने भएकाले भाषा पास गर्दैमा जापान जाने निश्चित हुँदैन । श्रमिकको सीप पनि परीक्षण गरिने छ । माग अनुसारको सीप परीक्षण गर्दा उत्तिर्ण भएमा मात्रै जापान जान पाइने छ । 

जापानमा कहिलेबाट श्रमिक जाने भन्ने समय निश्चित छैन। तर तत्कालै जाने सम्भावना नरहेको मन्त्रालय श्रोतले बतायो। जापान जाँदा श्रमिकले बुझाउनु पर्ने लागत, नीतिगत कुरा पनि संयुक्त कार्यदलले नै टुंगो लगाउने छ। 

जापान कार्यस्थल, स्वास्थ्य, सुरक्षा र सेवा सुविधाका हिसाबले राम्रो रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक अधिकारीले भने, ‘जापानले दक्ष कामदार मात्रै लिने भएकाले हामीसँग अवसर मात्रै छैनन्, धेरै चुनौती पनि छन्। अन्य देशमा जस्तो होइन उनीहरुले खोजेजस्तो जनशक्ति दिन सक्छौं कि सक्दैनौं त्यो हाम्रो चुनौती हो।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twelve =