शाहको राजनीतिक फड्कोः नेकपा कर्णाली प्रदेशको प्रमुख सचेतकमा नियुक्त

फाल्गुण १८,सुर्खेत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको प्रमुख सचेतकमा गुलाव जंग शाह नियुक्त भएका छन् ।  कर्णाली प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा शाह नियुक्त भएका हुन् । 

सल्यान क्षेत्र नं.१ बाट प्रदेशसभा सांसदमा निर्वाचित शाह पार्टीको केन्द्रीय सदस्य समेत हुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिवार शाहलाई प्रमुख सचेतकमा नियुक्त गरिएको चिठी थमाएका हुन् । 

कर्णाली प्रदेश सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै शाह लामो समयदेखि असन्तुष्ट थिए । दुई–दुई पटक बजेट भाषण हुँदा पनि विकास बजेट खर्च शून्य भएपछि शाहले मुख्यमन्त्रीको समेत आलोचना गरेका थिए । 

null

गुलाब जंग शाह विक्रम सम्वत २०४० सालमा अनेरास्ववियु पाँचौमा आबद्ध हुँदै राजनीतिमा होमिएका थिए । तत्कालिन नेकपा एमाले सँगको विभाजन पछि बनेको नेकपा मालेमा शाह आबद्ध भएका थिए । मालेको तेस्रो अधिवेशनबाट विक्रम सम्वत २०५६ सालमा जिल्ला कमिटी सचिव बनेका थिए । 

२०५७ मा तत्कालिन राष्ट्रिय युवा सङ्घको केन्द्रीय सचिवालय सदस्य बनेका शाह २०६६ मा तत्कालीन नेकपा एमालेको अञ्चल कमिटी सदस्य भएका थिए । उनी एमालेको ९ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । 

तत्कालिन एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको प्रमुख सचेतक रहेका शाह तत्कालिन माओवादी केन्द्रसँग एकता भएपछि बनेको संयुक्त पार्टी नेपाल कम्युनिस्ट पार्टीको पनि प्रमुख सचेतक बन्न सफल भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *