अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ४ सवारी साधन प्रहरी नियन्त्रणमा

फागुन १६, चितवन । चितवनको भरतपुर महानगरपालिका र ईच्छाकामना गाउँपालिकाको सिमानामा पर्ने रिद्धी खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न चार सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार साँझ रिद्धी खोलामा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको ना१क ६७९६ नम्बरको जेसीभी सहित नदीजन्य पदार्थ ओसारपसारमा संलग्न रहेको ना६ख ७७१४, ना।६।ख। ४५६२ र ना६ख ४४२० नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
null
अस्थायी प्रहरी चौकी सिमलतालबाट प्रहरी सहायक निरीक्षक हरेन्द्र प्रसाद यादवको नेतृत्वमा गएको टोलीले चालकसहित सवारीसाधन लाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका चालक तथा सवारी चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनमा पठाउने यादवले जानकारी दिए । पक्राउ गरिएका जेसीभी र ट्रिपरहरु पीके निर्माण सेवा र ए एण्ड बी सप्लायर्सको भएको प्रहरीले जनाएको छ । मंगलबार मात्रै अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न नौ वटा टिपरलाई चितवन प्रहरीले जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो ।
चितवनमा नदीजन्य पदार्थहरुको अवैध रुपमा उत्खनन् बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय चितवनबाट विशेष टोली परिचालन गरिएको प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए ।
अवैध रुपमा नदी उत्खनन् हुँदा यसले पर्यावरणमा प्रत्यक्ष असर पार्दा विभिन्न विपत्तिहरुको सामना गर्नुपर्ने अवस्था आउने भएकाले यसको नियन्त्रणको लागि प्रहरीले विशेष टोली परिचालन गरेको राठौरको भनाइ छ ।








