चेपाङको पीडा : खाजा कटौतीपछि विद्यालय जानै छाडे  

 

फागुन, २७ चितवन । सरकारले सीमान्तकृत समुदायका विद्यार्थीहरुका लागि लक्षित गरि विद्यालयमा व्यवस्था गरेको दिवा खाजाको सुविधा यस आर्थिक वर्ष देखि कटौती गरेपछि पश्चिम् चितवनको माडी नगरपालिकामा रहेका चेपाङ्ग बालबालिकाहरु केही महिनादेखि  विद्यालय जानै छाडेका छन् । 

शिशु कक्षामा १५ र कक्षा १ देखि ३ सम्म ३५ जना विद्यार्थी गरी कुल ५० जना चेपाङ विद्यार्थी रहेको जनजागृती आधारभूत माध्यमिक विद्यालयमा रहेका ५० जना विद्यार्थीहरु विद्यालय जान छाडेका हुन् । विद्यालयका प्रधानाध्यापक दण्डपाणि पण्डितका अनुसार दशैंपछि चेपाङ समुदायका विद्यार्थी विद्यालय आउँन छाडेका हुन् । 

null

पण्डित भन्छन् : यसअघि दुई वर्षसम्म विद्यालयले विद्यार्थीको उपस्थिति अनुसार खाजा बापत नगद उपलब्ध गराउदै आएको थियो । पहिलो वर्ष सबै विद्यार्थीलाई १२ रुपैयाँका दरले तथा दोस्रो वर्ष चेपाङ विद्यार्थीलाई मात्र १५ रुपैयाँका दरले खाजाबापतको रकम उपलब्ध गराएपनि विद्यार्थीहरु दैनिकजसो विद्यालय आउने गर्थ्यो । तर, सरकारले खाजा कटौती गरेपछि उनीहरु अहिले बिद्यालय आउन भने, छाडेका छन् । 

त्यस्तै, शिशुदेखि कक्षा ३ सम्म पढाइ हुने श्री दमार आधारभूत स्कुलको अवस्था पनि उस्तै छ । १४४ विद्यार्थी रहेको सो, बिद्यालयमा ८८ जना मात्रै चेपाङ समुदायका बालबालिकाहरु रहेका छन् । विद्यालयकी शिक्षिका ममता महतोका अनुसार खाजा कटौती भएपछि चेपाङ विद्यार्थी नियमित विद्यालय आउँन छाडेका हुन् । 

विद्यार्थी स्कुल आएअनुसार खाजा बापतको नगद अभिभावकलाई दिने गरिए पनि पछि सरकारले त्यसलाई खारेजी गरे संँगै विद्यार्थीको संख्या घटेको उनलेे बताइन् । उनका अनुसार विपन्न परिवारका बालबालिका भएकाले खाजाको लोभले पनि नियमित विद्यालय आउँथे । तर, अहिले यो सुविधा बन्द भएपछि स्कुल आउने चेपाङ विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । 

सरकारको सहयोगमा सञ्चालित दिवा खाजा कार्यक्रम चितवनमा निरन्तर चल्दै आएकोमा गएको आर्थिक वर्षबाट सरकारले खारेजी गरेसँगै विद्यार्थीको चाप घटेको हो । जिल्लाका १ सय ६० विद्यालयमा सीमान्तकृत समुदायका विद्यार्थीलाई खाजाको सुविधा प्रदान गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत हेमराज पौडेलले जानकारी दिए । उक्त कार्यक्रम हटेपछि विद्यार्थीलाई विद्यालयमा राख्न नसकिएको गुनासो विद्यालयबाटै आइरहेको उनले बताए । 

प्रति विद्यार्थी १५ रुपैयाँका दरले १ करोड ८० लाख ५ हजार ८०६ रुपैयाँ दिवा खाजा कार्यक्रमअन्तर्गत विद्यालयहरूलाई वितरण गरिएको शाखा अधिकृत पौडेलले जानकारी दिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *