रत्ननगरको लौरीघोल संरक्षणमा निजी क्षेत्रका चासो, सरोकार समिति गठन

 

चैत्र १२, चितवन ।  रत्ननगरको एतिहासिक लौरीघोल संरक्षणको लागि यहाँको निजी क्षेत्रले चासो देखाएको छ । व्यवसायीहरुको प्रतिनिधिमुलक संस्था रत्ननगर उद्योग बाणिज्य संघले लौरीघोलको संरक्षण र विकासको लागि चासो देखाएको हो । 

लौरीघोलको संरक्षणको लागि प्रदेश सरकारले ५० लाख रुपैया विनियोजन गरेको छ । विनियोजित बजेटबाट आवश्यक पूर्वाधार निर्माण प्रक्रिया सुरु गराउन उद्योग बाणिज्य संघले स्थानीय सरकार र प्रदेश सरकारलाई झकझक्याउने काम गरेको हो । मंगलवार संघले प्रतिनिधि सभा सांसद,प्रदेश सभा सांसद, मेयर, वडा अध्यक्षहरुलाई एकै ठाउँमा भेला गराएर लौरीघोलको संरक्षण र विकासका लागि अग्रसर हुन आग्रह गरेको छ । 

null

लौरीघोलको संरक्षण र विकासको लागि पहल थाल्न रत्ननगरका पुराना व्यवसायी गोपालराज कर्मचार्य संयोजक रहेको सरोकार समिति वनाइएको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । सरोकार समितिले लौरीघोल संरक्षण र विकासको प्रक्रियामा आवश्यक पर्ने जग्गा व्यवस्थापन, स्थानीय स्तरमा गर्नुपर्ने आवश्यक पहल र अपुग बजेट सरकारसँग माग लगायतका काम गर्ने संघका अध्यक्ष रेग्मीले बताए । कार्यक्रममा लौरीघोल व्यस्थित गर्न रत्ननगर नगरपालिकाले तयार गरेको डिपीआर समेत प्रस्तुत गरिएको थियो । 

पर्यटकीय गन्तव्य बनाउने गरी १९ करोडको लगानी लाग्ने अनुमान सहितको डिपीआर नगरपालिकाले तयार गरेको मेयर नारायण वनले बताए । कार्यक्रममा नगरपालिकाका इन्जिनियर पंकज गिरीले डिपीआरको विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा साँसद सुरेन्द्र पाण्डेले लौरीघोल संरक्षणको काम सुरु गर्नुपूर्व जग्गा व्यवस्थापनको कामलाई अगाडि बढाउन नगरपालिकालाई आग्रह गरेका थिए । मेयर नारायण वनले एतिहासिक लौरीघोललाई पर्यटक आर्कषणको केन्द्रका रुपमा विकास गरी यसलाई सौराहाको पर्यटनसँग जोडने योजना रहेको बताए । 

कार्यक्रममा प्रदेश सभा साँसद कृष्णप्रसाद खनाल,कञ्चन खनाल,पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारी,वडा नं २ का वडा अध्यक्ष तिलकराज शर्मा पौडेल,रत्ननगर उद्योग बाणिज्य संघका पूर्व महासचिव देवेन्द्र कुमार श्रेष्ठ, समाजसेवी निजानन्द मल्ल, बद्रीप्रसाद घिमिरे, संघका महासचिव निराजन खनाल लगायतले मन्तव्य राखेका थिए । संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रघुनाथ भट्टले धन्यवाद मन्तव्य राखेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *