भरतपुर महानगरपालिकाकी मेयरलाई राजीनामा गर्न चेतावनी

चैत्र २, चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई पदबाट राजिनामा दिन चेतावनी दिइएको छ । नेकपाको जिल्ला जनपरिषद् (जनसत्ता) चितवनले मेयर दाहाललाई पत्र पठाएर राजीनामा गर्न भनेको हो । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी समेत हुन् । 

जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेल आफैले पत्रमा हस्ताक्षर गरेर शुक्रबार मेयर दाहाललाई पठाएका हुन् । राजीनामा नदिए वर्गसंघर्षको निशाना पर्ने नेकपाको चेतावनी छ । 

‘सरकारले लोकतन्त्रको नाममा फाँसिवाद अभ्यास, आस्थाको भरमा गिरफ्तारी, गरिबी, व्यापार घाटा, मानव बेचबिखन, भ्रष्टाचार, कर छली, महिला बेचबिखन,महिला हिंसा, सामाजिक दलालीकरणहरूको तीव्रता बढिरहेकोप्रति असन्तुष्टि जनाउँदै मेयर दाहाललाई राजीनामा दिई वैकल्पिक सत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्वाणमा सहयोग गर्न भनिएको छ  । 

null

 

नेकपाले देशैभरिका जनप्रतिनिधिहरूलाई पत्र पठाएर राजीनामा माग गर्दै आएको छ ।  

उता नेपाल कम्युनिष्ट पार्टीको आधार इलाका मानिएको कालिकोटबाट जनप्रतिनिधिको राजीनामा सुरु भएको छ । गाउँपालिका अध्यक्षले मनपरी गरेको भन्दै कालिकोटमा दुई वडा अध्यक्षले पदबाट राजीनामा दिएका छन् । 

जिल्लाको नरहरीनाथ गाउँपालिका ६ का वडा अध्यक्ष तुलाराज विक र वडा नम्बर–७ का अध्यक्ष दलबहादुर विकले राजीनामा दिएका हुन् । उनीहरु दुवै २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका थिए । 

गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले गाउँपालिकाका ब्रम्हलुट गरेकाले आफूहरुले पद छाडेको दाबी गरेका छन् । नेकपाको जनअदालतमा मुद्दा दर्ता गराएर ब्रम्हलुट मच्चाउने गाउँपालिका अध्यक्षलाई कारवाही गर्ने उनीहरुको तयारी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *