बर्खास्तीमा परेका वीपी प्रतिष्ठानका उपकुलपतिको कार्यालयमा तालाबन्दी

 

फागुन १७, काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारले भ्रष्टाचारको प्रमाण गायब गर्न सक्ने भन्दै कर्मचारी र चिकित्सकले उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन् । 

प्रतिष्ठानको ४२ औं सिनेटले उपकुलपतिले पदीय दुरुपयोग गर्दै चरम भ्रष्टाचार गरेको ठहर गर्दै आज बर्खास्त गरी कारवाही गर्ने निर्णय गरेपछि प्रतिष्ठानका कर्मचारी र चिकित्सकले उपकुलपति कार्यालयमा तालाबन्दी गरेका हुन् । 

null

प्रधानमन्त्री कार्यालयमा बसेको सिनेटले प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर शाहलाई पनि कारवाही सिफारिस गरेको छ । साथै प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा. गुरु खनाललाई दिइएको छ । 

प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको सिनेटले प्रतिष्ठानमा भए गरेका भवन निर्माण, उपकरण खरिद, कर्मचारी नियुक्ति लगायतमा उपकुलपतिले ठेकेदार, सप्लायर्ससँग मोटो कमिसन खाएको, प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठको अधिकार खोसी आफुमा निहित गरेको लगायतका आरोप लगाउँदै शुक्रबार पदमुक्त गरेको हो । 

प्रतिष्ठानका उपकुलपति डा. रौनियारलाई प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई उपकरण खरिदमा हस्पिटेक इन्टरप्राइजेजका मालिक विशाल पण्डितसँग मिलेर करोडौं कमिसन खान खोजेको आरोप छ । यसका साथै प्रतिष्ठानमा निर्माणाधिन मातृशिशु भवन निर्माण, अंकोलोजी, कार्डियोलोजी भवन लागत इष्टिमेटमा समेत करोडौं चलखेल गरेको आरोप छ । 

यसैगरी प्रतिष्ठानले केहि समय अघि लिएको एमडिएमएस परीक्षामा समेत चलखेल गरेको आरोप छ । त्यसका साथै प्रतिष्ठानमा खरीद हुने मेडिकल उपकरण, औषधी खरिदमा समेत चलखेल गर्दै आफ्ना मान्छेलाई पार्ने गरेको, कर्मचारी नियुक्तिमा चलखेल गरेको, प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई अधिकार विहिन बनाएर उनको सम्पूर्ण अधिकार आफुले लिइ काम गरेको आरोप छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 8 =