प्रजातान्त्रिक योद्धाको जन्मजयन्तीमा दीप प्रज्ज्वलन

काठमाडौँ, १८ फागुन । वि सं २००७ सालका  प्रजातान्त्रिक योद्धा एवम् जननायक रामप्रसाद राईको ११० औँ जन्मजयन्तीका अवसरमा शुक्रबार माइतीघर, मण्डलामा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा संघीय सांसद विशाल भट्टराईले नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि उल्लेखनीय योगदान दिएका रामप्रसाद राईलाई सरकारद्वारा राष्ट्रिय विभूति घोषणा गरिएमात्रै उनको योगदानको उचित मूल्याङ्कन हुने बताए । नेकपा प्रदेश नं एकका अध्यक्ष देवराज घिमिरेले रामप्रसाद राईहरूकै कारण आज मुलुक नयाँ युगमा प्रवेश गरेको बताउँदै राईलाई राज्यले उचित कदर गर्नुपर्ने धारणा राखे । कार्यक्रममा प्रा डा गोविन्दमान सिंह कार्की र युवा संघ नेपालका केन्द्रीय अध्यक्ष रमेश पौडेलले जननायक राईको योगदानबारे प्रकाश पारेका थिए । 

स्मृति प्रतिष्ठानका कार्यबाहक अध्यक्ष देवीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखक, कवि, पेशाकर्मी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । वि सं १९६५ साल फागुन १८ गते भोजपुरको बासिखोरामा जन्मिएका राईको नेतृत्वमा २००७ साल मङ्सिर २४ गते बिनारक्तपात भोजपुरलाई जहाँनिया राणा शासनबाट मुक्त गरिएको थियो । ००७ सालको दिल्ली सम्झौताको विपक्षमा रहेका राई २००८ सालमा बेपत्ता पारिएका थिए । यसै गरी आज १८ गते काठमाडौँको रविभवनस्थित दिलशोभा श्रेष्ठको आमाघरमा आश्रित जेष्ठ नागरिकहरूलाई सम्मान गरी प्रजातान्त्रिक योद्धा राईको ११० औँ जन्मजयन्ती मनाइने कार्यक्रम रहेको स्मृति प्रतिष्ठानका सचिव शशी लुमुम्बूले जानकारी गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *