राष्ट्रियसभाबाट चार विधेयक व्यवस्थापन समितिमा पठाइयो

माघ २५, काठमाडौँ । राष्ट्रियसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गरे ।
यसैगरी अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘निवृत्तभरण कोष विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गरे ।
null
उनले नै ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गरे ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
यसैगरी सभाका सचिव राजेन्द्र फुँयालले सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ लाई प्रतिनिधिसभाबाट पारित भएको जानकारी गराएका थिए ।
सभाको अर्को बैठक माघ २९ गते बिहान ११ बजे बस्नेछ ।








