‘मेरो क्षेत्रका जनतालाई दुःख दिने कुनै पनि क्रियाकलाप सह्य हुँदैन’

  

माघ २५, काठमाडौँ । झापा ३ बाट निर्वाचित राप्रपा सांसद लिङदेनले झापा जिल्लामा नयाँ कार्यक्रमका लागि केन्द्रिय तहबाट एक रुपैयाँ पनि नगएको भन्दै गुनासो पोखेका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद लिङदेनले झापा जिल्लामा देशको धेरै बजेट गयो भन्ने प्रचार झुटो भएको दाबी गर्दै भने, ‘म त्यो निर्वाचन क्षेत्रको प्रतिनिधि हुँ, जहाँ केन्द्रिय तहबाट नयाँ कार्यक्रमका लागि एक रुपैयाँ पनि गएको छैन । त्यति मात्रै होइन, विगतका सरकारले सुरु गरेका बहुवर्षीय योजनाहरु समेत रोक्ने काम भएको छ ।’ 

null

त्यस्तै उनले झापाको कचनकवल, गापा लगायतका क्षेत्रमा सञ्चालित बहुवर्षीय योजनाहरु लथालिङ्ग छोडिँदा अहिले सामान्य आवगमनमा समेत असुविधा पुगेको भन्दै यसलाई गम्भीरतापूर्वक लिन सरकारको ध्यानाकर्षण गराए । 

उनले प्रधानमन्त्रीले तराई मधेसमा विकास र समृद्धिका ठूला ठूला कामहरु चलाइरहेको दाबी गरेतापनि वास्तवमा त्यो कार्यान्वयन नभएको बताए । साथै सांसद लिङदेनले प्रधानमन्त्रीले तय गरेको कार्यक्रम मध्ये एउटा कार्यक्रममा १० लाख माग्दा एक करोड १० लाख किन पठाइयो भन्दै प्रश्न गरे । ‘मेरो निर्वाचन क्षेत्रको कचनकवल गाउँपालिकामा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सिलिङ पठायो, कार्यक्रम माग्यो । गाउँपरिषदले योजनाहरु कार्यक्रमहरु छनौट गरेर पठायो । मन्त्रालयले प्राथमिकताको अन्तिम सूचीमा रहेको कार्यक्रम जहाँ १० लाख माग गरिएको थियो । तर एक करोड १० लाख पठायो’, उनले भने । 

उनले मन्त्रीज्यूलाई यसबारे प्रश्न पनि गरेको उल्लेख गर्दै उनले भने, ‘हामीले मन्त्रीज्यूलाई यस विषयमा ध्यानाकर्षण पनि गरायौँ । मन्त्रीज्यूले हेर्छु भन्नुभयो । अहिलेसम्म हेर्नुभएन । किन हेर्नुभएन छ भनेर बुझ्दा कार्यकर्ताको सिफारिसको आधारमा योजना छनौट भएको रहेछ ।’ 

सांसद लिङदेनले उक्त रकम खर्च गर्ने ठाउँ नै नभएको हो भन्दै प्रश्न गरे । उनले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई दुःख दिने खालका कुनै क्रियाकलाप आफूलाई सह्य नहुने भन्दै त्यस क्षेत्रका जनतालाई न्याय दिलाउने काममा आफू अग्रसर हुने दाबी गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =