सिक्किममा धरानको प्रचार

भुटानी एक किशोरीले नेपाली गाना गाउने भइन् । हामी छक्क पर्यौं । किरा माथि केरा, टेगो र हातमा ढोप्चु (भुटानी जातीय पहिरन) लगाएकी किशोरीले आस्था राउतको गीत ‘चौबन्दीमा पटुकी बाँध्न जान्या छैन भन्दैमा’ गाउँदा हामीलाई थोरै खुसी र धेरै ग्लानी भयो । 

सिक्किमका पर्यटनमन्त्री कै सम्मुख भुटानी किशोरीले ‘मलाइ नेपालकी छोरी होइन भन्न कहाँ पाइन्छ ?’ भन्दा हामी नेपालबाट सहभागी ३० जना थपडी मार्न बाहेक केही गर्न सकेनौं । 

हामीबीच हिन्दी, भुटानी हैन नेपाली मिठो गाउने मान्छे नै कोही रहेनछ । सिक्किम पर्यटन तथा हवाइ नागरिक उड्ययन मन्त्री युगेन छिरिङ ग्यात्सोले आयोजना गर्नुभएको रात्रीभोजमा सहभागी हुँदा भुटानी युवतीको गाना सुन्ने अवसर जुट्यो । कार्निभलको अन्तिम दिन विदाइका लागि उक्त रात्रीभोजको आयोजना भएको थियो । 

null

 

सिक्किमको प्रदेश जनावर हो रेडपाण्डा । सन् २०१३ देखि सिक्किमले रेडपाण्डा कार्निभल मनाउँदै आएको छ । सिक्किम पर्यटन तथा हवाइ उड्ययन मन्त्रालयद्वारा आयोजना हुन्छ रेडपाण्डा कार्निभल । जहाँ पर्यटन, कला, संस्कृति, मौलिक वस्तुको प्रदर्शन गरिन्छ । देश–विदेशका पर्यटन व्यवसायीले एकैथलोमा बसेर आफ्ना सेवा व्यवसायिक रुपमा साटासाट गर्छन् । 

मोबाइलको घण्टी बज्यो । यसो हेरे । मदन सरको कल पो रहेछ । हतार–हतार उठाए । मदन प्रधान सिक्किम पर्यटन मन्त्रालयको डाइरेक्टर हुनुहुन्छ । मेडम ‘सिक्किम रेडपाण्डा विण्टर कार्निभल’मा निमन्त्रणा गर्न फोन गरेको’ सरले भन्नुभयो । इमेल गरेलगत्तै फोन गर्नुभएको रहेछ । 

अघिल्लो पटक पनि निमन्त्रणा गर्नुभएको थियो । दशैं–तिहारको रौनकले गर्दा सहभागी हुन सकेका थिएनौं । अफ्ठ्यारो लाग्यो । सल्लाह गरेर सहभागी हुने जानकारी गराए । इमेल खोलेर हेरे । कार्यक्रमको बारेमा जानकारी पाए । निमन्त्रणा–पत्र पनि रहेछ । 

सहकर्मी मित्र वासुदेव बराललाई ‘सेयर’ गरे । पुनः निमन्त्रणा गर्नु भएको छ । यसपटक जसरी पनि सहभागी हुनैपर्छ । निश्चय गरौं । यसअघि नेपाल पर्यटन बोर्डको कार्यक्रमअन्तर्गत बोर्डर सिटी ‘सेल्स मिसन’मा २ पटक सिक्किममा औपचारिक कार्यक्रम आयोजना गरेका थियौं । पटक–पटक अनौपचारिक छलफल पनि गरिरहेका हुन्छौंं । तर, सोचेजस्तो प्रतिफल पाउन सकेका छैनौं । यसैले यसपटक हामी व्यक्तिगत एवम् व्यवसायी मात्र होइन । नीति–निर्माणकर्तालाई पनि सहभागी गराउनुपर्छ । 

सिक्किमले छोटो अवधिमा गरेको विकासलाई अवलोकन एवम् सरकारी तवरबाट ‘लिंक’ गराउने हाम्रो चाहना थियो । सल्लाह भयो । 

महिना दिनअघि मात्र पश्चिम बंगालको कोलकत्ता सहरमा आयोजित सुन्तला उत्सवमा सहभागी जनाएका थियौं । यसै वर्ष हामीले खोकु छिन्ताङ र भोजपुरका सुन्तलालाई भारतीय बजारमा प्रदर्शन गर्न सफल भयौं । जसले भारतीय बजारमा राम्रो प्रचार पाएको छ । सो कार्यक्रममा धरान कृषि बजारलाई सामेल गराउन पहल गर्नुभएको थियो धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख एवम् पर्यटन समितिको संयोजक मन्जु भण्डारीले । यसपटक पनि साथ पाउने आशा थियो । कार्यालयमा भेटेर सिक्किमको कार्निभलबारे जानकारी गरायौं । सकारात्मक देखिनु भयो । 

धरान र गान्तोकबीचमा भगिनी सम्बन्ध स्थापित गर्ने र सिक्किममा व्यवस्थित सञ्चालन भइरहेको यातायातको अवस्था हेर्ने इच्छा जाहेर गर्नुभयो । भगिनी सम्बन्ध स्थापित गर्न वि.सं. २०७२ सालमा टीकादत्त राई धरानका कार्यकारी अधिकृत हुँदा नगरपालिकाको टोलीलाई लिएर सिक्किम गान्तोक नगरपालिकासँग बैठक गराएको जानकारी गराए । अझ उहाँलाई सहज भएछ । पुनः बैठकको चाँजो मिलाउन आग्रह गर्नुभयो । 

गान्तोक नगरपालिकाका मेयर शक्तिसिंह चौधरीलाई फोन गरे । विस्तृत जानकारी गराए । उहाँ पनि सकारात्मक हुनुभयो । समय तय गरियो । मदन सरलाई नगरपालिकाको प्रमुखको टोलीले कार्निभलमा सहभागिता जनाउने जानकारी गराउँदा उहाँ अत्यन्तै खुसी हुनुभयो । 

पहिलो पटक सिक्किमको सरकारीस्तरीय कार्यक्रममा धरानले सहभागिता जनाउन पाउँदा पुलकित थियौं । प्रत्येक वर्ष आयोजना हुने कार्यक्रम १ हप्ताभन्दा लामो चल्ने गरेको रहेछ । यस पटक भारतमा चुनाव नजिकिएकाले उत्सवको समय छोट्याएर तीन दिनको गरिएको थियो । 

धरानबाट कलाकारसहित करिब ४० जनाको टोली सिक्किम जाँदै थियौं । माघे संक्रान्ति मनाएको भोलिपल्ट नै हाम्रो यात्रा सुरु भयो । तीन दिने कार्निभलमा सहभागी हुन । सिक्किमबाट करिब ४० किलो मिटरको दुरीमा छ रम्फु । जहाँ देशबाहिरबाट आउने पर्यटकले ‘इण्ट्रि पास’ बनाएपछि मात्र सिक्किममा प्रवेश गर्न पाइने व्यवस्था छ । कति राम्रो ‘सिस्टम’ । आफू कहाँ आउने बाहिरी पर्यटकको संख्या यकिन गर्न सजह हुन्छ । रम्फुमा मदन सरको टोली प्रतिक्षा गरिरहनु भएको जानकारी पाए । ‘कहाँ आइपुग्नुभयो’ भनेर प्रत्येक घण्टा हामीलाई सम्पर्क गरिरहनु भएको थियो मन्त्रालयका साथीहरु । हामी रम्फु पुग्यौं । हामीलाई सडकमै पर्यटन डिपार्टमेण्टको अफिसर कुरेर बसिरहनु भएको रहेछ । हाम्रो गाडीलाई अफिसतर्फ मोड्नु लगाउनु भयो । खदा लिएर ढोकामा स्वागतका लागि बसिरहनु भएको रहेछ । 

डेढ घण्टाको यात्रा तय गरेर हाम्रो स्वागतको लागि मदन सर आउनु भएको थियो गान्तोकबाट । उहाँलाई देखेपछि मन हर्षित भयो । सायद यही व्यवहारले होला सिक्किममा प्रत्येक वर्ष ५ लाख पर्यटक बढ्ने गर्छ । 

कार्यक्रममा सहभागी हुन भुटानबाट आउनु भएका पाहुनाहरुसँग त्यही भेट भयो । रिफ्रेसमेण्टको व्यवस्था गरिएको थियो । चिया खाजा लिइ ‘रेष्ट’ गर्यौं । केहीबेरपछि पर्यटन डिपार्टमेण्ट रम्फुका अफिसर सुस्माजीसँग विदा लिइ हामी गान्तोकतर्फ अघि बढ्यौं । गान्तोक होटलमा पनि स्वागतको व्यवस्था गरिएको थियो । डिपार्टमेण्टका अफिसर विकास राई एवम् होटल एशोशिएसन अफ सिक्किमकी अध्यक्ष पेमा लेम्था हामीलाई स्वागत गर्न तम्तयार बसिरहनु भएको रहेछ । अहो ! सिक्किमेको आतिथ्यता । बडो गज्जबको छ । 

हाम्रा लागि बसोबासको व्यवस्था मन्त्रालयबाटै गरिएको थियो । कोठामा कार्यक्रमको समयतालिका राखिएका थिए । जनवरी १७ देखि १९ सम्म आयोजना हुने कार्निभलको उद्घाटन बिहान १० बजेदेखि तय गरिएको थियो । सो कार्निभलको उद्घाटन सिक्किमको पर्यटनमन्त्रीले गर्नुहुने कार्यक्रम थियो । 

बिहान ८ बजे ब्रेकफास्ट लिन रेष्टुरेण्टमा आउदा मदन सर र शान्ति मेडम हामीलाई कुरिरहनु भएको रहेछ । सिक्किमको जाडोमा बिहानै २५ किलोमिटर यात्रा तय गरेर हाम्रो आतिथ्यताका लागि मदन सर आउनु भएको थियो । उहाँको आतिथ्यता देखेर हामी कायल भयौं । सँगै बसेर ब्रेकफास्ट लियौं । 

काकडभिट्टा नाकामा गाडीको ‘इण्ट्री’ गराएर फर्किन्जेल हामीलाई बाटोमा कसैले सोधपुछ पनि गरेनन् । हाम्रो पर्यटन बजार भनेको भारत नै हो । तर, उनीहरु प्रति हाम्रो नजर परिवर्तन गर्न नसकेको प्रति दुःखित हुन्छु । 

कार्यक्रम सिक्किमको मुटु एमजी मार्गमा राखिएको थियो । जहाँ रात्री बजार लाग्छ । उक्त स्थान ‘नो भेहिकल जोन’ पनि हो । हामीले पूर्वमा पाइने स्थानीय उत्पादन सामग्री प्रदर्शनीका लागि लगेका थियौं । पर्यटनमा घुमघामका साथसाथै किनमेलको पनि उत्तिकै महत्व रहेको हुन्छ । हामी यात्रामा निस्किएर कतै जाँदा त्यस क्षेत्रको स्थानीय उत्पादन आफन्तलाई उपहारको रुपमा ल्याउन उत्साहि हुन्छौं । 

यसैले पर्यटकीय गन्तव्यको प्रचार साथै गन्तव्यमा उत्पादित वस्तुलाई परिचित गराउने ध्येय थियो । पर्यटनमा प्रत्यक्ष रुपमा संलग्न हुनेले मात्र नभएर । अप्रत्यक्ष रुपमा उत्पादनकर्ताले पनि फाइदा पाउछन् । 

प्रदेश नं. १ मा उत्पादित हुने वस्तुलाई सकेसम्म प्रदर्शनी गर्ने हाम्रो मनसाय थियो । पर्यटक आउँदा सहजै खरिद गर्न सकिने चिजको छनौट गरी कार्निभलमा प्रदर्शनी र बिक्री गरेको थियो सेछ ट्राभलिङले । 

 

उक्त प्रदर्शनीमा ढाकाका विभिन्न सामाग्री, काँसका भाडाकुडा, सुकुटी, किनिमालगायतका चिजहरु परिचित गरायौं । ‘स्टल भिजिट’ मा आउने पाहुनाले पनि नेपाली उत्पादन रुचाउनुभयो । तेस्रो दिन कार्निभलमा ‘नेपाल डे’ पनि मनाइयो । पूर्वीय कला–संस्कृतिको प्रस्तुतीका लागि धरानको गरिमा डान्स सेण्टरलाई आग्रह गरेका थियौं । नेपालको प्रस्तुती दोस्रो दिन मात्र थियो । अवलोकनकर्ताबीचमा नेपालको प्रस्तुतीले राज गर्यो । यसैले दोस्रो र तेस्रो दिन पनि प्रस्तुती गरियो । गरिमाको समूहले नेपालको शिर उचो बनाउन साथ दिए । 

कार्निभलको पहिलो दिन बेलुका ७ बजेदेखि पर्यटन सरोकारवालाबीच ‘बिटुबि’ मिटिङको प्रबन्ध गरिएको थियो । सो मिटिङमा सिक्किमले पर्यटनको क्षेत्रमा मारेको फड्कोको बारेमा जानकारी गराइएको थियो । 

भारतका टुर अपरेटरले नेपालमा गाडीको भाडादर निकै महंगो हुने र भारतीय सवारीसाधन नेपाल लिएर आउदा बाटोमा भोग्नुपर्ने समस्याका विषयमा खुलेर कुरो उठाएका थिए । सुन्दा साधारण लाग्ने यी कारणले पर्यटकको मस्तिष्कमा नकारात्मक असर पुर्याएको छ । 

हामीले नेपालबाटै गाडी लिएर गएका थियौं । काकडभिट्टा नाकामा गाडीको ‘इण्ट्री’ गराएर फर्किन्जेल हामीलाई बाटोमा कसैले सोधपुछ पनि गरेनन् । हाम्रो पर्यटन बजार भनेको भारत नै हो । तर, उनीहरु प्रति हाम्रो नजर परिवर्तन गर्न नसकेको प्रति दुःखित हुन्छु । 

दोस्रो दिन हाम्रो थप कार्यक्रम दुइ नगरबीच भगिनी सम्बन्ध स्थापित गर्न छलफल बैठक थियो । बैठकबाट यी दुई नगरपालिकाले भगिनी सम्बन्ध गाँस्ने निश्चित भएको छ । दुईदेशीय सम्बन्ध भएकाले आवश्यकीय प्रक्रिया पूरा गरी सिक्किमको चुनाव सकेलगत्तै हस्ताक्षर कार्यक्रम धरानमा आयोजना गरिने कावा मेयर मन्जु भण्डारीले वचन दिनुभएको छ । यसैगरी तेस्रो कार्यक्रम यातायातको सञ्चालन वस्तुस्थिति बुझ्नु थियो । सो कार्यका लागि हामीलाई ‘सिक्किम नेशनलाइज्ड ट्रान्सपोर्ट’मा मदन सरले मिटिङ तय गरिदिनु भयो । 

सिक्किमको यातायातको अवस्थाका विषयमा एसएनटीका डाइरेक्टले जानकारी गराउनुुभयो । बसहरुमा जिपिएस र सिटिटिभी जडान गरिएका रहेछन् । जुन कन्ट्रोल एसएनटी अफिसबाट गरिन्छ । जहाँ हाम्रो टीमलाई भिजिट गराउनु भयो । प्रत्येक यात्रुलाई पर्यटकको रुपमा हेरिन्छ । यात्रुलाई गर्नुपर्ने व्यवहारका विषयमा चालक र सहचालकलाई सचेत गराइदो रहेछ । 

 

इन्जिनियर मनिष प्रधानजीले सिलीगुढीमा निर्माण गर्न लागिएको नयाँ बसपार्कको डिपिआर र योजनाको विषयमा प्रेजेन्टेसन गर्नुभयो । यसले धरानमा निर्माणाधीन बसपार्कमा टेवा पुग्ने यातायातकर्मी सरोज श्रेष्ठले धारणा व्यक्त गर्नुभयो । 

सिक्किममा रहुन्जेलको बसाइ निकै सुखदपूर्ण रह्यो । सिक्किमको आतिथ्यतामा हामीले पनि सिक्नुपर्ने रहेछ । हामीले यस क्षेत्रमा आफ्नो मौलिकतालाई संरक्षण गरी आतिथ्यता गर्न सकेको खण्डमा नेपाल सरकारले भिजिट नेपाल वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सपना पूरा हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 4 =