वीपी प्रतिष्ठानमा ‘लूट्न कान्छा लूट’ कहिलेसम्म ?

 

पशुपति शर्माको ‘लूट्न कान्छा लूट’ भन्ने गीतको तरंङ्गले विस्तारै लूटतन्त्र मच्चिएका संस्थाहरुलाई पनि छुन थालेको छ । सरकार, राष्ट्रपतिदेखि ३३ किलो सुन काण्ड समेतलाई छुएको गीतले सरकारी ओहदामा रहेका सबैको निद हराम भएको छ । तत्कालिन माओवादी र कांग्रेसको संयुक्त सरकारको पालामा राजनीतिक भागवण्डामा कांग्रेसको कोटाबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति भएकालाई पनि छुएको छ । 

प्रसंग हो, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारको । आफ्ना एक मात्र दाजु गौरिशंकर रौनियार जो नेपाली कांग्रेसको रुखमुनी रहेर बामपन्थीको राजनीति गर्छन्, उनकै साहारामा नियुक्ति पाउन सफल भएका डा. रौनियारले वीपी प्रतिष्ठानमा मच्चाएको लूटतन्त्र छताछुल्ल हुने छाँटकाँट देखिएको छ । 

null

प्रतिष्ठानको ४२ औं सिनेट यहि फागुन १६ गते डाकिएको छ । प्रधानन्त्री केपी शर्मा ओलीको निर्देशनमा स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सहकुलपति उपेन्द्र यादवको अध्यक्षतामा बस्ने ४२ औं सिनेटले उपकुलपति डा. रौनियारले प्रतिष्ठानमा मच्चाएका ‘लूट’ को पर्दाफास गर्नेछ । 

सरकारको अधिनायकवाद र पशुपति शर्माको ‘लूट्न कान्छा लूट’ गीत माथि लगाइएको अघोषित प्रतिबन्धका विरुद्ध सडकदेखि सामाजिक सञ्जालमा उछितो काटेका कांग्रेसीहरु वीपी प्रतिष्ठानको उपकुलपतिको लूटमा भने अहिलेसम्म चुपचाप छन् । 

पशुपति शर्माको गीत गाएर कम्युनिष्ट सरकारको धज्जी उडाउने कांग्रेसीहरु वीपी प्रतिष्ठानमा आफ्नै पार्टीका उपकुलपतिले मच्चाएको लूटतन्त्रको चूँ सम्म नबोल्दा कांग्रेसका इमान्दार नेता र कार्यकर्ताहरुविच अन्योलता सृजना भएको छ । सरकारलाई भ्रष्टाचारी र अधिनायकवादी देखेका कांग्रेसीहरुले आफ्नै उपकुलपतिले दुई वर्षदेखि मच्चाएको लूट किन नदेखेका होलान् ? 

उपकुलपति रौनियारको २ वर्षे कार्यकालमा एक दिन पनि र एउटा पनि निर्णय निर्विवाद रहेन ।  

उपकुलपति रौनियारको २ वर्षे कार्यकालमा एक दिन पनि र एउटा पनि निर्णय निर्विवाद रहेन । विभिन्न शक्ति केन्द्रमा करोडौं नजराना बुझाएर नियुक्ति पत्र बुझेका र नियुक्त भएर आएको दिन देखि नै उठन्ती धन्दामा लागेको आरोप लागेका डा. रौनियारका क्रियाकलापहरुले उनी प्रतिष्ठानका लागि योग्य मान्छे  रहेनछन् भन्ने पुष्टि हुँदै गयो । 

प्रतिष्ठानमा निर्माणाधिन एमसिएच भवन, अंकोलोजी कार्डियोलोजी वा एमआरआई खरिद काण्ड, कर्मचारी भर्ना काण्ड मात्र हैन, आफ्नै पदाधिकारी नियुक्तिको सिफारिसमा पनि उनले चलखेल गरे । त्यत्ति मात्र हैन उपकुलपति भएर आएको ३ महिना नवित्तै प्रतिष्ठानमा हुने खरिद तथा टेण्डरमा आफैं सक्रिय भएर वार्गेनिङ गरे । 

प्रतिष्ठानमा औषधी उपकरण सप्लाई गर्ने सप्लायर्स तथा ठेकेदारलाई आफ्नै कार्यकक्षमा बोलाएर थर्काउँदै कमिसन माग्ने गरेको प्रतिष्ठानका कर्मचारीहरु नै सुनाउँदै हिँड्छन् । स्रोतका अनुसार डा. रौनियारले एक ठेकेदारलाई कमिसन नदिएर भुक्तानी रोकिदिने भन्दै गरेको कल रेकर्ड अख्तियारको टेवलमा पुगेको छ । 

उनलाई कमिसन दिन इन्कार गर्ने ठेकेदारको महिनौ सम्म भुक्तानी रोक्ने देखि कार्यकक्षमा बोलाएर हातपात गर्ने जस्ता समेत कुकृत्य कर्मचारीबाट लुकेको छैन । यहाँसम्मकी आफ्ना पक्षका कर्मचारीलाई काँधमा बोकेर विरोधीलाई सखाप पार्न उनले कर्मचारीहरुको दक्षता र क्षमता समेत नहेरी मनपरी ढंगले आन्तरिक सरुवा गरेका थिए । 

 

प्रतिष्ठानमा निर्माणाधिन २ अर्ब १८ करोडको मातृशिशु अस्पताल भवनको ठेकेदार रसुवा कन्स्ट्रक्सनले कमिसन दिन इन्कार गरे पछि आफैले उक्त योजनामा अनियमितता भएको भनि तत्कालिन स्वास्थ्यमन्त्री दीपक बोहरालाई उजुरी हालेर रोकाए । यसैविच उनले रसुवा कन्ट्रक्सनसँग कमिसनमा डिल गरि सहमति गरे । र, रसुवा कन्स्ट्रक्सनलाई ३३ करोड भुक्तानी समेत दिए । 

तत्कालिन प्रधानमन्त्री स्व. शुशिल कोइरालाले शिलान्यास गरेर हाल आधा मात्र बनेर रोकिएको उक्त भवनलाई आम धरानवासी र धरानका कांग्रेसीहरुले टुलुटुलु हेरेर बसेका छन् । त्यसैगरी करिब साँढे ४ अर्बको क्यान्सर तथा मुटु रोग भवन योजनाको परामर्शदाता नियुक्तिमै उपकुलपतिले करिब साँढे ४ करोड भ्रष्टाचार गरेको मुद्दा समेत छानविनमा गएकोले उक्त योजना समेत तुहिएको छ । प्रतिष्ठानले किन्न लागेको यम आर आइ मेसिनमा त उपकुलपति रौनियारले २.५ करोड भ्रष्टाचार गरेको अख्तियारकै विशेष टोलीले निष्कर्ष निकालेको स्रोतको दावि छ । 

उपकुलपति रौनियारको निर्देशनमा भएका अनियमित टुक्रे खरिदको लूटतन्त्रको त लेखाजोखा नै छैन । विगत २ वर्षमा एउटै व्यक्तिका दर्जनौं कम्पनी खडा गरेर सार्वजनिक खरिद नियमावली विपरित करोडौंको टुक्रे खरिद भएको खरिद शाखाकै एक पूर्व अधिकृतको भनाई छ । 

दीपक बोहराले डा. रौनियारको लूटतन्त्र देखेर सिनेट बाटै छानविन समिति बनाउँदै पदमुक्त गर्न तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष सिफारिस समेत गरेका थिए ।  

तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले समेत ‘बेकामे’ भन्न थालेका उपकुलपति रौनियारले थापा पछिका मन्त्री गिरिराजमणी पोखरेल बाट पनि कुनै फाइदा लिन सकेनन । पोखरेल पछि स्वास्थ्यमन्त्री भएर आएका दीपक बोहराले डा. रौनियारको लूटतन्त्र देखेर सिनेट बाटै छानविन समिति बनाउँदै पदमुक्त गर्न तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष सिफारिस समेत गरेका थिए । 

देउवाले क्याविनेटबाट उपकुलपति रौनियारलाई वर्खास्त गर्न लाग्दा देउवा पत्नी आरजुका सेट्टिङ्ग माष्टर सांसद उमेश श्रेष्ठले डा. रौनियारलाई जोगाएका थिए । बोहरा पछि दुई तिहाईको सरकारमा स्वास्थ्य राज्यमन्त्री भएकी पद्मा अर्यालले समेत डा. रौनियारलाई कारवाही गर्न प्रधानमन्त्री ओली समक्ष कुरा राखिन् । 

त्यसपछि स्वास्थ्य मन्त्रालयमा फुलमन्त्री भएर आए संघिय समाजवादी फोरमका उपेन्द्र यादव । मधेसी मूलको स्वास्थ्य मन्त्री भएकोले ‘जोडी जम्ने भो’ भन्दै भन्दै डा. रौनियारले प्रतिष्ठानमा झन् लूटतन्त्र मच्चाए । यहाँसम्मकी प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठका सबै अधिकार खोसेर उनलाई ‘पेण्डुलम’ बनाइदिए । 

स्वास्थ्य मन्त्रालयमा आएका दिनबाटै प्रतिष्ठानमा भइरहेका हरेक निर्णय र उपकुलपतिका कृयाकलाप अध्ययन गरेका मन्त्री यादवले डा. रौनियारलाई बोक्नु भनेको सुनसरी जिल्लामा राजनीतिबाट सन्यास लिनु जस्तै हो भन्ने निष्कर्ष निकाले । 

त्यसपछि प्रतिष्ठानको सिनेट मार्फत प्रधानमन्त्री कार्यालयका सचिव केदार बहादुर अधिकारीको संयोजकत्वमा छानविन समिति बनाए । उक्त छानविन समितिले डा. रौनियारले गरेका करोडौंका अनियमितताहरुको उजागर गरेपछि मन्त्री यादवले सो कुरा प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति के पी शर्मा ओली समक्ष पेश गरे । सधैं भ्रष्टाचारको अन्त्य गर्छु भन्दै भाषण गर्ने प्रधानमन्त्रीलाई सुनसरी र मोरङका नेकपाका नेताहरुले पनि प्रतिष्ठान जोगाउन उपकुलपतिलाई कारवाही गर्नै पर्ने दवाव दिए । 

प्रधानमन्त्री ओलीले अन्त्यमा प्रतिष्ठानको ऐनको दफा ११ (घ) वमोजिम उपकुलपति डा. रौनियारलाई पदमुक्त गर्ने हेतुले सहकुलपति तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा छानविन समिति बनाए । उक्त छानविन समितिले समेत करिव ११०० पृष्ठको डा. रौनियारका अनेकौं अनियमितताहरुको प्रमाण सहित प्रतिवेदन प्रधानमन्त्री समक्ष बुझायो । उक्त प्रतिवेदन हेरेपछि प्रधानमन्त्री ओलीले जसरि पनि डा. रौनियारलाई कारवाही गर्ने पक्षमा गएर स्वास्थ्य मन्त्रीलाई सिनेट बोलाउन निर्देशन दिए । 

तर, उपकुलपतिले स्वास्थ्य मन्त्रीको निर्देशन २/२ पटक अटेर गरिदिए । २/२ पटक सिनेट बैठक बोलाउन निर्देशन दिँदा समेत डा. रौनियारले अटेर गरेपछि प्रधानमन्त्री ओली आफैं अग्रसर भएर आगामी फाल्गुन १६ गते प्रधानमन्त्री निवास बालुवाटारमा सिनेट राख्न निर्देशन दिए । 

स्वास्थ्यमन्त्रीले नै सिनेट डाकेपछि अत्तालिएका उपकुलपति सिनेट फेस गर्ने की, राजीनामा दिने वा सिनेटका विरुद्ध सर्वोच्च जाने त्रिकोणात्मक मनस्थितिमा छन् ।  

आउँदो फागुन १६ गते डाकिएको ४२ औं सिनेटको मुख्य एजेण्डा छानविन समितिले बुझाएको प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय गर्नु नै हो । यस अघि २/२ वटा निर्देशन लत्याएका डा. रौनियारलाई सिनेट फेस गर्नु बाध्यात्मक अवस्था छ । स्वास्थ्यमन्त्रीले नै सिनेट डाकेपछि अत्तालिएका उपकुलपति सिनेट फेस गर्ने की, राजीनामा दिने वा सिनेटका विरुद्ध सर्वोच्च जाने त्रिकोणात्मक मनस्थितिमा छन् । 

डा. रौनियारलाई पदमुक्त गर्न सिनेटको सामान्य बहुमत आवश्यक पर्दछ । २१ सदस्यीय सिनेटका अधिकांश सिनेटरहरु भ्रष्टाचारको अन्त्य हुनुपर्ने पक्षमा छन् । त्यसमाथि प्रधानमन्त्री नै भ्रष्टाचारको अन्त्य गर्छु भन्दै अग्रसर भएपछि सिनेटरहरुले प्रधानमन्त्रीको पक्षमा साथ नदिने कुरा भएन । २१ जना सिनेटर मध्ये ११ जनाले उपकुलपतिका विरुद्ध सिनेटमा हस्ताक्षर गरे डा. रौनियार बाहिरिन्छन् । 

प्रधानमन्त्रीले वीपी प्रतिष्ठानको लूटतन्त्रको अन्त्य गर्दै उपकुलपतिको विदाई गर्छन गर्दैनन् र पशुपति शर्माको गीत गाउँदै हिड्ने कांग्रेसीले डा. रौनियार लाई बोक्छन् कि बोक्दैन अहिले सर्वत्र चासोको विषय भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *