प्रज्ञामा ‘नेपाली संस्कृति र राष्ट्रियता’सम्बन्धी विमर्श

माघ २३, काठमाडाैँ । आज प्रज्ञा भवन, कमलादी, काठमाडौँमा ‘नेपाली संस्कृति र राष्ट्रियता’ विषयक प्रवचन गोष्ठीको आयोजना गरे । 

 

प्रज्ञा–प्रतिष्ठान, संस्कृति बिभागद्वारा आयोजित गोष्ठीमा बोल्दै वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ प्रदीप नेपालले ‘नेपाली संस्कृतिका विषयमा बुझ्नुभन्दा पहिले इतिहासलाई बुझ्नु पर्ने’ बताए । उनले भने, “अहिलेसम्म पढिएको नेपालको इतिहास सत्यतथ्यमा होइन दन्त्यकथा र जनश्रुतिमा आधारित छ । त्यसकारण पुरातन सोँच र मान्यतालाई संशोधन गरी नेपालको इतिहासको पुनर्लेखन नै गरिनु आवश्यक देखिन्छ ।” उनले नेपाल पौराणिक कालदेखि नै स्वतन्त्र रहेको पनि उल्लेख गरे।  

null

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले ‘बहुलता नेपाली इतिहास र संस्कृतिको शक्ति’ भएको उल्लेख गर्दै ‘श्रुतिपरम्परा, कथाकहानी र पश्चिमा विद्वानहरूमा निर्भर रहेको नेपाली इतिहास र संस्कृतिलाई’ अब तथ्यपरक किसिमले बदल्नु पर्ने विचार व्यक्त गरे । उनले भने, “यसो भयो भनेमात्रै हामीले चाहेको नेपाली संस्कृति र राष्ट्रियता मजबुद हुन्छ ।”  

प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवम् संस्कृति विभागका प्रमुख डा. जगमान गुरुङले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै ‘नेपाली संस्कृतिमाथि विचलन आउन नदिन यस्तो विमर्श चलाउनु आवश्यक देखिएको’ बताए । उनले ‘राष्ट्रले चाहेको प्राज्ञिक आपूर्ति गर्न प्राज्ञहरू कटिबद्ध हुनु पर्नेमा जोड दिदैँ प्रज्ञा–प्रतिष्ठानले संस्कृति विभाग मार्फत् हरेक तीन–तीन महिनामा ‘संस्कृति बिमर्श’ कार्यक्रम सञ्चालन गर्ने’ जानकारी दिए । 

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले अब जनता र समाजको तहबाट नेपालको इतिहास र संस्कृतिसम्बन्धी विमर्शलाई घनीभूत बनाई सार्थक परिणाम निकाल्नु पर्नेमा जोड दिए। कार्यक्रममा वाङ्मय शताब्दी पुरुष तथा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी एवम् प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँला लगायतका विद्वान–विदुषीहरूको उपस्थिति रहेको थियो । वेदाचार्य लक्ष्मी गौतमद्वारा वैदिक मङ्गलाचरण गरी सुरु भएको कार्यक्रम बुद्धि तिमिल्सिनाले सञ्चालन गरेका थिए ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *