लेटाङमा शान्तिपार्क बनाउने प्रदेश सरकारको योजना

 

विराटनगर, पुस २८ । मोरङको लेटाङमा सबै धर्महरुलाई समेट्ने गरी शान्तिपार्क निर्माण हुने भएको छ । लेटाङ नगरपालिका– १ भोगटेनीमा रहेको राजारानी क्षेत्रलाई बहुधार्मिक गन्तब्य बनाउने उद्देश्यले प्रदेश सरकारको पहलमा सबै धर्मलाई समेट्ने गरी बहुधार्मिक गन्तब्य स्थलका रुपमा शान्तिपार्क बनाउन लागिएको हो ।  

प्रदेश सरकारको स्वामित्वमा बन्न लागेको सो शान्तिपार्कको डिजाइन तयार भईसकेको छ । प्यागोडा, गुम्बज, शिखर र मुगल शैलीमा निर्माण गरिने सो शान्तिपार्कमा धर्म अनुसारका ५ वटा धार्मिकस्थल प्रवेशद्धार निर्माण गरिने छ । जसमा सबै धर्मको अर्थ खुल्ने गरी धार्मिक संग्रहालय निर्माण गरिने छ । 

null

शान्तिपार्क निर्माण सम्बन्धी लेटाङ नगरपालिका १ नं वडा कार्यलयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सबै धर्मका द्धारहरु फरक फरक भएको तर, सबैको गन्तव्य शान्ति र संमृद्धि भएकोले सबै धर्मको साझा थलोको रुपमा शान्तिपार्क निर्माण गर्न लागिएको बताए ।  

राजारानी सिमसार पर्यटकीय तथा धार्मिक स्थलको अवलोकन पश्चात अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्क निर्माणका सबै दायित्व प्रदेश सरकारले लिने बताउँदै प्रदेश सरकारले चाँडै नै कार्यदल बनाएर औपचारिक रुपमा काम थाल्ने बताए । उनले भने–‘यसको नाम शान्ति धाम रहनेछ । त्यसको दायीत्व सम्पूर्ण प्रदेश सरकारले लिन्छ र यथासिघ्र कार्यदल बनाएर काम सुरु हुनेछ ।’  

पार्क डिजाईनर विक्रमश्रीले सो पार्कको डिजाईनको बारेमा जानकारी दिँदै सबै धर्मका धर्मगुरुहरुसँग छलफल गरेर डिजाईन तयार गरिएको र अझै विस्तृत छलफल गरेर त्यसलाई अन्तिम रुप दिईने बताए । उनले सम्पुर्ण धर्मका वास्तुलाई एकै ठाउँमा समावेश गरेर संरचना तयार गरिने बताए । 

 

प्रदेश १ का प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले राजारानी क्षेत्र ऐतिहासिक र विभिन्न विविधताले भरिएकोले यस क्षेत्रमा विभिन्न मुलुकबाट पर्यटक समेत भित्र्याउन सकिने बताए । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्कका परिकल्पनाकार भुपेन्द्र लावतीले आफुहरुले विभिन्न धर्मका धर्मगुरुहरुलाई एकै ठाउँमा उभ्याएर विभिन्न धर्मका अनुयायीहरुलाई एउटै प्रवचन दिने योजना अनुरुप त्यसलाई मुर्तरुप दिन पार्कको परिकल्पना गरेको बताए । 

कार्यक्रममा लेटाङ नगरपालिका वडा नं १ का अध्यक्ष विष्णुकुमार भगतले लेटाङमा पार्क निर्माण हुँदा यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =