‘तपाईँहरू अनायासै घर छोडेर जानुभयो, गएदेखि नै आरोपै आरोप लगाउनुभयाे’

हामीबीच राजनीतिक प्रेम विवाह भएको थियो । तर हामीले अरूले गरिदिएको बखानको भरमा प्रभावित भएर एक–अर्कालाई राम्ररी नचिनिकनै विवाह गरेछौँ । विवाह लामो समय टिक्न सकेन । तर यो बीचमा हामीले एकअर्काबाट धेरै सिक्यौँ । 

खासगरी गत आम निर्वाचनपछिको एक वर्षमा पार्टीको केन्द्रीय समितिमा विद्यमान ‘अत्यन्तै प्रतिकूलता’का बीच पनि हामीले ठूलै उपलब्धि हासिल गर्यौँ । आफूलाई राष्ट्रिय राजनीतिको केन्द्रमा लिएर आयौँ । सञ्चार माध्यमका कयौं बहसहरू हाम्रो प्रतिनिधित्वबिना अपुरो देखिन थाले । राजनीतिक बहसहरूमा अबको विकल्प हामी नै हौँ भन्ने निष्कर्षहरु निकालिन थाले। देशभरि संगठनहरु विस्तार हुन थाले। 

हामीले ‘कल्याणकारी लोकतन्त्र’को दर्शनलाई आम सर्वसाधारणसम्म पुर्‍यायौँ, शिक्षा र स्वास्थ मूल रूपमा राज्यको दायित्व हो भन्ने धारणालाई स्थापित गर्‍याैँ। सुसंस्कृत र मूल्य मान्यतायुक्त पार्टी नबनी देश बन्दैन भन्ने विश्वास जगायौँ । आम सर्वसाधरणले हामीलाई पत्याए र साथ पनि दिए । 

null

तर लक्ष्यमा समानता भएरमात्र नपुग्ने रहेछ । लक्ष्यमा पुग्ने विचार र व्यवहारमा पनि समानता चाहिने रहेछ । दूर्भाग्यवश, लक्ष्य प्राप्त गर्ने हाम्रा वैचारिक चक्र र व्यवहारमा यति धेरै अन्तर रहेछन् कि हामीले जतिसुकै प्रयास गर्दा पनि ती एकवद्ध हुने सम्भावनै रहेनछ। त्यसैले तपाईँहरू अनायासै घर छोडेर जानुभयो । 

सामाजिक रुपमा असल र भद्र देखिने हामीहरू समेत गलत निर्देशकहरुका कारण राजनीतिक मञ्चमा फरक पात्र बन्न सक्दा रहेछौँ भन्ने अनुभूति भएको छ । हामी छुट्टिएको देखेर यहाँ रमाउनेहरु धेरै छन्। मन दुखाउनेहरु अझ धेरै छन् । हामी सबैलाई थाहा छ, हामीबीच अभियान केन्द्रित समूह मात्र बन्ने की राष्ट्रिय राजनीतिमा सुसंस्कृत नेतृत्वदायी भूमिका निर्वाह गरेर देश रूपान्तरण गर्ने पार्टी बनाउने भन्नेमा मतभेद थियो । त्यो मतभेद छलफलबाट टुङ्गिन नसकिने तहको थिएन । तर तपाईँहरू जानुभयो र गएदेखि नै आरोपै आरोप लगाउनुभयाे । 

मलाई ती पीडादायी आरोपहरूको भन्दा पनि हाम्रो सामूहिक लक्ष्य र त्यसमा पुग्न सक्ने आघातका बारे चिन्ता छ । हाम्रै जीवनकालमा यो देशको रूपान्तरण नहेरी मर्नु पर्ला भन्ने चिन्ता छ । पुस ३० गतेका लागि तय गरिएको हाम्रो भेटमा आत्मै पखालेर मनका पीडा पोखुँला भन्ने र दिनढाडै व्यक्तिगत रूपमा मेरो र संगठनात्मक रूपमा पार्टीको ढाडमा हानिएको छुरीले पारेको घाउमा मल्हम लगाउँला भन्ने सोच थियो। तर अलि ढिलोसम्म पर्खिएछु, तपाईंहरू थाहै नदिइ हिँडिहाल्नुभयो। 

अब एकपल्ट भेटेर प्रेम र भ्रमका कुरा गर्ने मन छ। लक्ष्य बोकेरमात्र नहुने रहेछ, लक्ष्यमा पुग्ने शैली र चरित्रका बारे गफ गर्ने मन छ। जीवन धेरै बाँकी छ, यात्रा लामो छ । तर देश रूपान्तरणको गन्तव्य भने मैले बदलिँदो परिवेशका कारण झन, झन छोटो देख्न थालेको छु। त्यो नजिकै देखिन थालेको गन्तव्यलाई म बिगार्ने पक्षमा छैन। सिंगो देश बनाउन साऽऽऽनो मुटु लिएर हुन्न। देश बनाउन देशभन्दा ठूलो मुट चाहिन्छ। सँगसँगै इमानदारी, क्षमता, समूहमा काम गर्ने ढंग पनि चाहिन्छ। धेरै कुरा चाहिन्छ। 

दु:ख छ तर कुनै आग्रह, पूर्वाग्रह, इर्ष्या, द्वेष छैन। कहिल्यै नआओस् पनि। दु:खहरू चाहिँ कहिलेकाहीँ अभिव्यक्त हुनेछन्। त्यसमा अन्यथा नसम्झिदिनुहोला। तपाईंहरूले हालैका दिनहरुमा व्यक्त गरेका दु:खलाई पनि मैले अन्यथा लिएको छैन। 

छिट्टै बसेर चिया खाउँला । मिलेमा लामो समयदेखि जाने भनेर नगएको ओम आध्या रिसोर्ट जाउँला। के थाहा पुनर्मिलन भई पो हाल्छ कि। घाम भर्खर उदाएको अवस्था हो, बादल लाग्दैमा त्यसलाई अस्ताएको भन्न मिल्दैन। अन्यथा, हामीमा समयले लिएर आउने सुझबुझसँगै बाटो फेरि एकै ठाउँमा मिसिएछ भने सँगै यात्रा गरूँला। तपाईंहरूलाई नयाँ यात्राका लागि धेरैधेरै शुभकामना!  सबैको जय होस्, नेपालको जय होस् । 

रवीन्द्र मिश्र – संयोजक, विवेकशील साझा पार्टी 

-रवीन्द्र मिश्रको फेसबुकबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =