जमिनमा महिलाको पहुँच बढ्योः ६५ प्रतिशत महिलाको नाममा घरजग्गा

पुस २६, भरतपुर । कुनै समय महिलाको नाममा जग्गा पास गरिने या कुनै सम्पत्ति उनको नाममा राखिने चलन नै थिएन, तर अहिले ठीक उल्टो भएको छ । पछिल्लो समय चितवनमा पुरूषको तुलनामा महिलाको नाममा जग्गा राख्ने प्रचलन बढेको छ । 

‘बिगतमा एक–दुई महिलाको नाममा मात्र घरजग्गा रहेको पाइन्थ्यो, तर अहिले ६५ प्रतिशत महिलाको नाममा घरजग्गा रहेको तथ्यांकमा देखिन्छ’, मालपोत कार्यालय भरतपुरका प्रमुख लालकृष्ण शर्मा पौडेलले भने, ‘भरतपुर मालपोत कार्यालयमा जमिनको स्वामित्व लिनेमा पुरूषभन्दा महिला बढी रहेका छन् । 

सरकारले महिलाको नाममा रजिस्ट्रेसन शुल्कमा २५ प्रतिशत छुट गरेको हुनाले महिलाको संख्या बढेको उनी बताउँछन् । महिलालाई जग्गाको मालिक बनाउने उद्देश्यले सरकारले विगत ९ वर्षदेखि रजिस्ट्रेसन शुल्कमा २५ प्रतिशत छुट दिँदै आएको छ । 

null

‘पछिल्लो समय सरकारले महिलालाई दिएको छुटको उपयोग गर्न पुरूषहरु पनि तयार भएका छन्, श्रीमान्हरु नै श्रीमतीको नाममा जग्गा पास गराइरहेका छन्’, मालपोत कार्यालयका प्रमुख पौडेलले भने, ‘महिलाहरु आफ्नो हकअधिकार खोज्ने क्रम बढेकाले पनि जमिनको स्वामित्व लिइरहेका छन् । 

उनका अनुसार धेरै पुरूषहरु विदेशमा छन्, आफू आउन नभ्याएपछि उनीहरुले पैसा पठाउँछन्, श्रीमतीको नाममा जग्गा किन्न भन्छन् । प्रमुख पौडेलले भने, ‘यस कारणले पनि महिलामा भू–स्वामित्व लिने क्रम बढ्दै गएको छ ।’भरतपुरको मालपोत कार्यालयबाट मात्र यस चालू आर्थिक वर्षमा झन्डै ६५ प्रतिशत महिलाले भू–स्वामित्व लिएका छन् । 

मालपोत कार्यालयका आन्तरिक प्रशासन फाँटका खरिदार शेषकान्त अर्यालका अनुसार चालू आर्थिक वर्ष साउनयता ५ महिनामा दुई हजार ७७० जना महिलाले जमिनको स्वामित्व लिएका छन् । साउनमा ७०१, भदौमा ५१४, असारमा ६१३, कार्तिकमा ४०४ र मंसिरमा ५३८ जना महिलाले मालपोत कार्यालय भरतपुरबाट जमिनको स्वामित्व लिएका खरिदार अर्यालले बताए । उनी भन्छन्, ‘चालू आर्थिक वर्षमा जमिनमा ३५ प्रतिशतमात्र पुरूषले स्वामित्व लिएका छन् ।’ 

मालपोत कार्यालयका नासु गोपालप्रसाद भट्टराईका अनुसार २०७४ र ७५ मा १२ हजार ९६६ जना महिलाले जमिनको स्वामित्व लिएका थिए भने ७ हजार ९६६ जना पुरूषले आफ्नो नाममा जग्गा पास गरेका थिए । भट्टराईले ग्रामिण भेगका महिलाहरुमा जमिनको स्वामित्व लिने क्रम झन् बढेको जानकारी दिए । सरकारले बिक्री भएको जग्गा तीन वर्षसम्म कित्ताकाट गर्न नपाउने नियम बसालेपछि पछिल्लो समय जग्गा बेचबिखनको क्रम सुस्त छ । तर पनि जग्गा पास गर्न महिला नै बढी आइरहेका मालपोत कार्यालयले जनाएको छ । 

एकल महिला, जनजाति र दलितलाई पनि रजिष्ट्रेसन शुल्कमा छुट दिए पनि यी समूहले जग्गा स्वामित्व लिनेमा लाभ कम लिएका मालपोत कार्यालयले जनाएको छ । ‘जमिनमा महिलाको स्वामित्व बढेर राजस्वमा छुटमात्रै होइन, जमिनमा महिलाहरुको स्वामित्व समेत बढ्दै गएको छ’, मालपोत कार्यालय भरतपुरका प्रमुख पौडेलले भने, ‘सरकारले जग्गामा महिलाहरुको स्वामित्व बढाउन अख्तियार गरेको नीति सफल हँुदै गएको देखिएको छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *