लोकतान्त्रिक प्रक्रियामा कम्युनिस्टको सहभागीताः छलछाम र धोखाधडी

 

मंसिर २५, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको लोकतन्त्रप्रतिको विश्वास निष्ठामा शंका गर्नुपर्ने अवस्था सिर्जना भएको बताएको छ । 

मंगलबार सार्वजनिक प्रतिवेदनमा कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संसदमा दुई तिहाई सरहको शक्ति आर्जन गर्नासाथ लोकतन्त्रको आवरणमा एकपछि अर्को गर्दै संविधानको भावना र मर्ममाथि प्रहार गरी शक्तिको दुरुपयोग गर्न लागेको भन्दै नेकपाको लोकतन्त्रप्रतिको विश्वास र निष्ठामा शंका गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरेको हो । 

null

कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा समितिका संयोजक एवं पार्टीका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेको १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन मंगलबार सार्वजनिक भएको हो। 

‘२००७ सालको जनक्रान्तिमा नेपालका कम्युनिष्टहरुको कुनै भूमिका थिएन । तर २००७ को परिवर्तनपछिको राजनीतिक वातावरणलाई विथोल्न कम्युनिष्टहरूको नकारात्मक भूमिकाले मद्दत पुगेको इतिहास सिद्ध छ’, नेकपाप्रतिको धारणा उल्लेख भएको एक बुँदामा भनिएको छ, ‘२०१५ को संसदीय निर्वाचनमा सहभागी भएका कम्युनिस्टहरु २०१८ पछि विभिन्न चिरामा विभाजित बहुसंख्यक कम्युनिष्ट समूहहरू राष्ट्रियताको तथाकथित नारामा प्रत्यक्ष–अप्रत्यक्ष राजा महेन्द्रको संरक्षणमा हुर्किएका हुन् ।’ 

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीमा शासकीय क्षमता नभएको आरोप लगाएको छ। राजनीतिक प्रस्ताव मस्यौदाका सन्दर्भमा तयार भएको प्रतिवेदनबारे जानकारी दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो आरोप लगाएका हुन्। 

‘प्रधानमन्त्री ओलीलाई अहिले काम गर्न अत्यन्त सहज अवस्था छ। चुनौतिलाई चिरेर शान्ति कायम गर्नुपर्ने अवस्था छैन’, प्रवक्ता शर्माले भने, ‘यस्तो सहज वातावरण हुँदा पनि उहाँले काम गर्न सक्नु भएको छैन। यो प्रधानमन्त्री ओलीको शासकीय क्षमताको कमजोरी हो।’ 

यस्तै नेपाली कांग्रेसले कम्युनिस्ट पार्टीको लोकतान्त्रिक पद्धतिमा सहभागितालाई छलछाम र धोखाधडीको संज्ञा दिएको छ। ‘लोकतन्त्रको पहरेदार नेपाली काँग्रेस कम्युनिष्टहरूको लोकतान्त्रिक प्रक्रियामा सहभागिता एउटा छलछाम र धोखाधडी हो कि भन्ने संशय गर्न बाध्य भएको छ’, प्रतिवेदनमा जाहेर गरेको छ । 

काँग्रेसले जनताका अधिकारको रक्षा गर्ने र समतामूलक समाज निर्माणको स्पष्ट लक्ष्यकासाथ स्थापित वर्तमान राजनीतिक प्रणालीमा सहभागी हुन र हिंसा र द्वन्दहरु सिर्जना नगर्न कम्युनिष्ट समुहलाई आग्रह समेत गरेको छ । 

त्यस्तै विगतको सशस्त्र द्वन्द्वका घाउ अझै निको हुन नसकेको निष्कर्ष पनि नेपाली काँग्रेसले निकालेको छ। 

नेपाली कांग्रेसले संविधान निर्माणको नेतृत्व गरेर पनि संविधानको अपनत्व कायम गराउन नसकेकोमा कमजोरी स्विकार गरेको छ। अब संविधानप्रति सबैको अपनत्व कायम गर्न संविधान संशोधन गर्नुपर्ने कांग्रेसको निष्कर्ष छ। 

कांग्रेसले वर्तमान सरकारको १० महिनाको समीक्षा गर्दै सरकार अधिनायकवादी बन्दै गएको निष्कर्ष निकालेको छ। सरकारले संविधान र संघीयता कार्यान्वयन गर्न ध्यान नदिएको, प्रधानमन्त्री कार्यालयमा अधिकार केन्द्रिकृत गरेको, संचारमाध्यमलाई खुम्च्याउन खोजेको र स्वतन्त्रतापूर्वक विचार राख्नेहरुप्रति पनि सरकार असहिष्णु बनेको कांग्रेसको ठहर छ। 

  

https://drive.google.com/file/d/1RWDdj2t-0HcXNxhwJZzlvLFMyldHZCXD/view 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =