अपराधी सुधार्न कर्णाली प्रदेशमा ‘कारागारलाई किताब अभियान’
पुस ४, सुर्खेत । सामान्यतयः कुनै ब्यक्ति अपराध गरेर जेल सजाय भोगेपनि पुनः अपराध कर्ममा नफर्कियोस भन्ने सबैको चाहना हुन्छ । तर, नेपालमा सजाय भुक्तान गरी बाहिर आएका ७० प्रतिशत बढि मानिस पुनः अपराध कर्ममा फर्किएको देखिएको छ । यसको कारणहरु खुट्याउँदै गर्दा उनीहरुमा नैतिक शिक्षाको अभाव पनि रहेको देखिएको छ ।
विश्वका विकसित देशमा कारागारलाई सुधार गृह बनाउँदै गर्दा नेपालका कारागार सुधार गृह कम यातना गृह ज्यादा देखिएको विभिन्न प्रतिवेदनले देखाएको छ । अपराधीलाई अपराध गर्नबाट रोक्न उसलाई मानसिक रुपमै उपचार गर्नुपर्ने भएपनि नेपालको सन्दर्भमा त्यस्तो भएको पाइन्न । अझ कतिपय केसमा अत्याधिक यातनाबाट अपराधीलाई अझ अपराध गर्न मनोबल बढेको पाउँछौं ।
समाजबाट अपराध कम गर्ने हो भने, जेल सजाय काटिरहेका अपराधीको मनबाटै अपराध निमिट्यान्न गर्नुपर्छ भनेर कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रदेशका सबै कारागारलाई सुधार्न नयाँ अभियान सुरु गरेको छ ।
null
विभिन्न अपराधमा जेल सजाय भुक्तान गरीरहेका अपराधीलाई नैतिक शिक्षा दिलाउनका लागि कर्णाली प्रदेश प्रहरीले मुलुकमै पहिलो पटक कारागारलाई किताब अभियान सुरु गरेको छ ।
हिजो ३ गते कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रदेश प्रहरी प्रमुख डीआइजी महेशविक्रम शाहले कारागारमा रहेका कैदी तथा थुनुवालाई कैद भुक्तान गरिसकेपछि सामान्य नागरिक सरह जिवन यापन गर्न मानसिक रुपमा सहयोग पुगोस भन्ने उद्देश्यले कारागारलाई किताब अभियान सुरु गरिएको बताए । ‘कैदीहरुलाई बाहिर निस्केपछि पुनः अपराध कर्मतर्फ नै लाग्न बाट रोक्न यो अभियानले सहयोग पुग्ने अपेक्षा गरेको छु ।’ डीआइजी शाहले बताए ।
कारागारलाई किताब अभियान सञ्चालन गर्न डीआइजी शाहकै संयोजकत्वमा कमिटि गठन गरिएको छ ।
डीआइजी शाहले प्रदेशका १० ओटै जिल्लाका कारागार भ्रमण गरेपछि त्यहाँ पुस्तकहरुको अभाव महशुष गर्दै कैदीहरुमा अध्ययन गर्नुपर्छ भन्ने सोचको विकास गर्नपनि यो अभियान ल्याएका हुन् ।
‘सकारात्मक विचार र भावनाका पुस्तक अध्ययन गर्दा कैदीहरु मानसिक रुपमा सकारात्मक हुन्छन्, र, पुनः अपराध कर्ममा लाग्न प्रेरित हुँदैनन्, त्यहि भएर यो अभियान ल्याइएको हो ।’ डीआइजी शाहको तर्क छ ।
पुस्तक अध्ययन गर्दा कैदीहरुको फुर्सदको समय समेत सदुपयोग हुने छ । कारागारमा सफलताका कथा, विभिन्न सकारात्मक विचार प्रवाह गर्ने पुस्तकहरु मात्र राखिने बताइएको छ ।
नेपालका अधिकांश कारागार अब्यवस्थित भएको अवस्थामा यो अभियानले कारागार सुधार्न समेत सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।