‘मलाई गणना गर, समावेश गर’

मंसिर १७, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अपाङ्गताबारे भएका ऐनकानूनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकाय नै सक्रिय हुनुपर्नेमा जोड दिएकी छिन् । 

अपाङ्गता भएका व्यक्तिको २७ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालद्वारा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री थापाले राज्यका रहेक संरचनामा अपाङ्गताको समान सहभागिताका लागि नीतिगत व्यवस्था गर्न आफूले सक्दो पहल गरिरहेको बताइन् । 

महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गतामैत्री भौतिक संरचनाका लागि सरकारले नै कडा नीति बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरे । पछिल्लो समयमा प्रधानमन्त्रीको कार्यालय, अर्थ र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, काठमाडौँ जिल्ला अदालतलगायत सरकारी भौतिक संरचना केही हदसम्म अपाङ्गतामैत्री बनाइएको छ । 

null

त्यसैगरी चन्द्रागिरि हिल्स प्रालि, सिटिसी मल सुन्धारा, ग्राण्डी अस्पताल टोखा, लाबिम मल पुल्चोक र आदर्श सउला युवक मावि, नाङ्लो बेकरी क्याफे नयाँ बानेश्वर, नाङ्लो बेकरी धरहरालगायत केही होटल तथा क्याफेले पनि अपाङ्गतामैत्री संरचना निर्माण गरेका छन् । 

यस वर्षको दिवसको नारा ‘अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण तथा समावेशी र समानताको सुनिश्चितता’ भन्ने छ । कार्यक्रम शुरु हुनुअघि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणबाट पदयात्रा शुरु भएको थियो । पदयात्रा घण्टाघर, जमल हुँदै लैनचौरस्थित समाजकल्याण परिषद्को प्राङ्गणमा पुगी कोणसभामा परिणत भएको थियो । 

पदयात्रामा सहभागी अपाङ्गता भएका व्यक्तिले ‘साङ्केतिक भाषा, दोभाषेको उत्पादन र परिचालनमा लगानी गर’, ‘मलाई गणना गर, समावेश गर’, ‘अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण र समावेशिता तथा समानताको सुनिश्चितता’, ‘मनोसामाजिक अपाङ्गता व्यक्तिको दोष नभई गलत सामाजिक अवधारणा र भेद्भावको उपज हो’ र ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनको कार्यान्वयन गर’ लगायत प्ला–कार्ड बोकेका थिए । 

नेपालको पछिल्लो जनगणनानुसार अपाङ्गता भएका व्यक्तिको हिस्सा कूल जनसङ्ख्याको एक दशमलव ९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार ३२१ छ । यसमा शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, दृष्टिविहीन १६ दशमलव ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव ४ प्रतिशत छन् । बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति ११ दशमलव ५, श्रवण दृष्टिविहीनसम्बन्धी १ दशमलव ८, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता २ दशमलव ९ र बहुअपाङ्गता भएका ७ दशमलव ५ प्रतिशत छन् । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *