सीडीओ निवासमा तस्कर र प्रहरीबीच सेटिङको मिटिङ

सुुनसरी । मोरङ र झापा प्रहरीले सीमा नाकाबाट अवैध मालसामान ओसार पसारमा पूर्ण रुपमा रोक लगाएपछि पछिल्लो समय सुनसरीको सीमा नाका तस्करीको मुख्य गन्तव्य बन्न थालेको छ । 

तस्करीमा संलग्न समुहहरुले सदरमुकाम इनरुवाबाट योजनावद्ध रुपमा सुरक्षानिकायलाई सेटिङ मिलाएर भन्सार छली एकै पटक ५० लाखभन्दा माथिका कपडालगायतका सामानहरु ल्याउने गरेको श्रोतले जनाएको छ । 

भारतको सिलुगुडीबाट खरिद गरी नेपालको पूर्वि बजार क्षेत्रमा व्यापारीहरुले माग गरे अनुसारको मालसामानहरु ओसारपसार गर्दै आएको संजिव घोष समुहको तस्करीका सामानहरु सुनसरीको विभिन्न नाकाबाट नेपाल भित्रीने क्रम बढेको हो । 

null

झापाको भद्रपुर घर भएका तस्कर नाईके संजिव घोषका प्रतिनिधिका रुपमा इनरुवालाई हेडक्वाटर बनाएर बसेका रामबावु भन्ने धर्मेन्द्र पुरीले विगत एक सातादेखि सुनसरीको सीमा नाकाबाट ठुलो परिणाममा अवैध रुपमा सामान भित्र्याउने गरेका छन् ।  

गत सोमबार जिल्ला प्रहरी कार्यालय नजिकै रहेको प्रमुख जिल्ला अधिकारीको निवास परिषरमा तस्कर र प्रहरीको छलफलनै चलेको थियो । छलफलमा नाइके संजिव घोषका प्रतिनिधि रामबावु भन्ने धर्मेन्द्र पुरी, भरत मण्डल र भुुपु प्रहरी दुर्गा यादवले अवैध रुपमा भन्सार छली गरेर ल्याउने मालसामानको सीमा नाकाबाट इटहरीसम्म सुरक्षित रुपमा लैजानका लागि रकम लेनदेन गरेको श्रोतको दाबी छ । 

हाल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोसाकमा परिचालित भएका यादव थरका प्रहरी हवलदारले तस्कर र ति प्रहरी अधिकृतबीचको लेनदेनको चाजोपाजो मिलाएको स्रोतले जनाएको छ । 

सोमबार दिउँसो करिब साढे तीन बजे तिर तस्कर समूहका एजेन्ट प्रजिअ निवासको मुलगेटबाट भित्रप्रवेश गरेर ति प्रहरी अधिकृतको क्वार्टरमा गएका थिए । 

प्रहरी अधिकृत र तस्कर समुहबीच भएको लेनदेनका बारेमा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती रसुनसरीका प्रहरी उपरिक्षक राजन अधिकारीलाई भने कुनै जानकारी नभएको र यस्मा उनीहरुको संलग्नतासमेत नरहेको एक सुरक्षा अधिकारीले जनाए । 

कपडाको मुख्य कारोवार गर्ने गरेको घोष समुहको मालसामानहरु लौकही, भाण्टावारी, श्रीपुरजब्दी र नरसिंहतर्फबाट सुनसरीमा भित्रिने गरेको छ । सुनसरीको रामनगरभुटाहा, देवानगञ्ज–कप्तानगञ्ज, साहेवगञ्ज र अमाहिवेला–अमडुवा, सीमा नाकाबाट मरिच भारतको बथनाहा सोनापुर, धुर्ना, फुल्काहा, बस्मतिया बजारतर्फ तस्करी गर्ने समुह सक्रिय रहेको छ । 

सोही समुहले सुनसरीबाट भारततर्फ हरियो मटरको चोरी तस्करी गर्ने गरेकाले कपडालगायतका सामानहरु सीमानाकाबाट ओसारपसार नभएको समयमा मटरको कारोवार गर्ने गरेको छ । 

पूर्व क्षेत्रका सबै ठुला व्यापारीहरुले संजिव घोषमार्फत भारतबाट भन्सार छली गरेर सामान भित्र्याउने गरेकाले पछिल्लो समय झापा र मोरङमा सीमा नाकाहरुमा कडाई गरे लगतै सुनसरीमा सुरक्षाकर्मीहरुसँग सेटिङ मिलाउन सफल भएपछि उनीहरुले सुनसरीको नेपाल भारत सीमा क्षेत्रको भारतीय इलाकामा भण्डारण गरी राखेका मालसामानहरु सेटिङमार्फत इटहरीसम्म लैजान सफल भएको जनाइएको छ । 

एक थान कुर्ता सुरुवाल आयात गर्दा २० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट तिर्नुपर्छ । भारतमा खरिद गर्दा १ जोर कुर्ता सुरुवालमा झन्डै ४ सय रुपैयाँ पर्छ त्यही कुर्ता पूर्वका बजारमा दोब्बरमा बिक्री हुने गरेको छ ।  

घोष समुहको कारोवार सुनसरीबाट गन्तव्य स्थल बनेसँगै अन्य तस्कर समुहले समेत सुनसरीबाटै सुरक्षित रुपमा मनिहाराका सामानहरु, भाडाकुडा, खाद्यान्न, औषधीको कारोवार गर्न थालेको स्रोतले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =